प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न- लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिएको ?
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सुदूरपश्चिममा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सडकमा लाखौं जनता र कार्यकर्ता सडकमा ल्याउने अभिव्यक्ति दिएपछि नेता रावलले आपत्ति जनाएका हुन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नांगो हस्तक्षेप गरेकोबारे चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिएको भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘सुदूरपश्चिम, दार्चुलाका लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र हालै त्यहाँ भारतीय प्रमंले नांगो हस्तक्षेप गरेको बारे धनगढीको कार्यक्रममा चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो ? आफैंलाई वा विदेशी हस्तक्षेपका विरोधीहरूलाई ?’