सन्दीपसँग छलफलमा छौं, यो प्रतियोगितापछि फर्किने आशा छ : पारस खड्का
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले घरेलु मैदानमा हुने त्रिदेशीय सिरिजले टी-२० विश्वकपको छनोट प्रतियोगिताको तयारीमा नेपाललाई फाइदा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले यो प्रतियोगितालाई उदाहरणीय बनाउन प्रयास गर्ने पनि बताए ।
नेपाल, यूएई र हङकङबीच भोलिबाट सुरु हुने त्रिदेशीय टी-२० सिरिजको पूर्वसन्ध्यामा क्रिकेट संघले आयोजना गरेको प्रेस मिटमा पारस पत्रकारसामु प्रस्तुत भएका थिए । हालै मात्र क्यानको केन्द्रीय सचिवमा निर्वाचित उनले पहिलोपटक यो प्रतियोगितामा ‘टुर्नामेन्ट डाइरेक्टर’ को भूमिका निभाउने छन् । यूएई र हङकङले इच्छा देखाएपछि दशैंको मुखमा भए पनि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
पारसका अनुसार मुलपानी क्रिकेट मैदानमा सबै लिग खेलहरु हुनेछन् भने फाइनल खेल त्रिवि मैदानमा हुनेछ । पहिलोपटक मुलपानी मैदानमा टी-२० खेलाउन लागिएको र सबै तयारी भइसकेको उनले जानकारी दिए । उनले प्रतियोगितामा नेपाललाई समर्थन गर्न दर्शकहरुलाई आग्रह गरे ।
प्रतियोगितामा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने अनुपस्थित रहने छन् । यस विषयमा पत्रकारले पारसलाई सोधेका थिए । उनले सन्दीपसँग आफूहरु छलफलमा रहेको बताए ।
पारसले भने, ‘सन्दीपसँग निरन्तर कुराकानी भइरहेको छ । उहाँले योपाली परिवारसँग समय बिताउने इच्छा व्यक्त गर्नुभएपछि हामीले नकार्न सकेनौं । यो प्रतियोगितापछि उहाँ टिममा फर्किनुहुने आशा लिएका छौं । हामीले मात्र नभएर क्रिकेटसँग सरोकार राख्ने सबैले आशा राखेका छन् ।’
नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सन्दीपको अनुपस्थितले टिममा असर गर्ने बताए ।
‘उहाँजस्तो खेलाडी नहुँदा एकदम असर त पर्छ । तर, हामीले राम्रो तयारी गरेका छौं । राम्रो नतिजा आउने आशा छ ।’
पत्रकार सम्मेलनमा युएईमा कप्तान मोहम्मद वसिम पनि उपस्थित थिए । उनले नेपालको मैदानमा खेल्न पाउँदा आफूलाई सँधै रमाइलो लाग्ने बताए ।