फेडोको निष्कर्ष- छुवाछुत पुस्तान्तरण हुँदैछ, सामाजिक सञ्जालको नयाँ पुस्तामा विभेदकारी सोच उग्र
जनयुद्धकालमा माओवादी नेता कार्यकर्ताबीच भएका दलित र गैरदलित विवाह भत्किँदै, अन्तरजातीय विवाह गर्दा दलितमाथि मानव वेचविखन,बलात्कार र अपहरणका मुद्दा
काठमाडौं । दलित महिला संघले पछिल्लो समय गरेको अध्ययन र घटनामा आधारित विश्लेषणले जातीय विभेद तथा छुवाछुत पुस्तान्तरण भइरहेको देखाएको छ । दलित महिला संघ (फेडो)की संस्थापक दुर्गा सोबले नयाँ पुस्तामा विभेदको चरित्र अझ निर्मम देखिनु चिन्ताको विषय भएको बताइन् ।
फेडोले मंगलबार काठमाडौंमा मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा संविधान सभा सदस्य समेत रहेकी सोबले जातीय विभेद र छुवाछुत पुस्तान्तरण भइरहेको आफूहरुले पाएको बताइन् ।
उनले भनिन्– यो विभेद अघिल्लो पुस्तामा थियो अबको पुस्ताले यसलाई मान्दैन भन्ने थियो । तर पछिल्लो समय यो पुस्तान्तरण र हस्तान्तरण भइरहेको देखिन्छ । नयाँ पुस्तामा अझ आक्रामक विभेदकारी चरित्र देखियो,सामाजिक संजालमा झनै त्यसको प्रभाव हामीले भेटाइरहेका छौं । यो चाहिँ निकै चिन्ता र डरलाग्दो विषय हो ।
सामाजिक संजालमा दलितमाथि हुने विभेद र हत्यासम्मका घटनाहरुमा समेत युवा पुस्ता विभाजित भएर पक्ष विपक्षमा वहस हुनु छुवाछुत प्रथाको पुस्तान्तरण भएको उनको भनाइ छ । पछिल्लो समय विभेदका घटना नयाँ नयाँ ढंगले बढिरहेको र एक वर्षमा नेपालमा ३० जनाभन्दा बढी दलिको छुवाछुतकै कारण हत्या भएको सोबले बताइन् ।
उनले भनिन्– भारतमा यस्ता हत्याका घटनाहरु धेरै हुन्थे, हाम्रो देशमा विभेदका अन्य रुप भए पनि यसरी दलित भएकै कारण हत्या नै हुने गरेको घटना कम थिए । तर पछिल्लो समय अन्तरजातीय विवाहका कारण यो बढेको छ । दलितमाथि अन्तरजातीय विवाहकै कारण अपहरण,मानव बेचविखन र जबरजस्ती करणीका मुद्दाहरु लगाइएका छन् ।
फेडोले देशैभरी अन्तरजातीय विवाहका कारण भएका हिंसाका घटनाहरुको अध्ययन गरिरहेको छ । जनयुद्धका बेला दलित र गैरदलितबीच भएका विवाह पछिल्लो शान्ति कालमा सम्बन्धविच्छेदमा परिणत भएका घटना पनि धेरै पाइएकाले सबैको समग्र अध्ययन गरेर प्रतिवेदन बाहिर ल्याइने सोबले जानकारी दिइन् ।
उनले सन्चारमाध्यममा दलितका मुद्दा र दलित समुदायका व्यक्तिको प्रतिनिधित्व वृद्धिमा ध्यान दिन उनले सम्पादकहरुलाई आग्रह गरिन् ।