त्रिकोणात्मक टी-२० आई शृंखला: कप्तान रोहित भन्छन्- नतिजा राम्रो आउनेगरीको तयारी छ – Nepal Press

त्रिकोणात्मक टी-२० आई शृंखला: कप्तान रोहित भन्छन्- नतिजा राम्रो आउनेगरीको तयारी छ

काठमाडौं । नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिज भोलिबाट सुरू हुँदैछ । टी-२० आई शृंखलाको ट्रफी मंगलबार सार्वजनिक गरिएको छ । नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका छन् । हङकङ टोली भने काठमाडौं आइसकेको छैन ।

मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । प्रतियोगिताअघि नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली टीमले राम्रो तयारी गरिरहेकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित प्रि म्याच कन्फ्रेन्समा पौडेलले सन्दीप लामिछानेको अनुपस्थितले टीममा असर पर्नु स्वाभाविक रहेको उनको भनाइ थियो ।

क्यानका सचिव पारस खड्काले मुलपानी क्रिकेट मैदान त्रिकोणात्मक क्रिकेट सिरिज हुनु नेपाली क्रिकेटमा राम्रो सुरुवात भएको बताए । सन्दीपसँग निरन्तर छलफलमा रहेको र नेपाली परिवारसँग समय बिताउने सन्दीपको इच्छा नकार्न नसकिएको उनको भनाइ छ ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ । खेलका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टीमको घोषणा समेत गरिसकेको छ । नेपाली टीमको सूचीमा सन्दीप लामिछानेको इच्छाअनुसार त्रिकोणात्मक सिरिजमा समावेश गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *