शेरबहादुरको माओवादीकरण र शेखरको एमालेकरणबाट कांग्रेस जोगाउने कठिन संघर्षमा महामन्त्रीद्वय – Nepal Press

शेरबहादुरको माओवादीकरण र शेखरको एमालेकरणबाट कांग्रेस जोगाउने कठिन संघर्षमा महामन्त्रीद्वय

बीपी कोइरालाकालीन समयमै देशमा प्रजातन्त्रको आवश्यकता बुझेरै होला नेपाली कांग्रेसको स्थापना भएको । कांग्रेसले प्रजातान्त्रिक व्यवस्था प्राप्तिको आन्दोलनको नेतृत्वमात्र गरेन, उसले हमेसा अन्तर्राष्ट्रिय विश्वाससमेत आर्जन गरेर लोकतन्त्र र मानव अधिकारको पक्षमा सम्झौतारहित पैरवी गरी नै रह्यो । तर, इतिहासबाट निःशुल्क प्राप्त विरासत चटक्कै भुलेर आज पार्टीका दुई समूहमध्ये एउटालाई एमालेकरण गर्न र अर्काेलाई माओवादीकरण गर्न भ्याइनभ्याइ छ । पार्टीमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा कांग्रेसको ‘कांग्रेसकरण’ गर्ने अभियानमा त छन् । तर, उनीहरुको शक्ति पार्टीभित्र मजबुत बनिसकेको छैन । यही अन्योलका बीच लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने शक्ति ‘संगठित’ रुपमा सतहमा देखापर्दैछन् । धमिलो पानीमा माछा मार्न उद्यत शक्ति मजबुत बन्दै जाँदा नेपाली कांग्रेसमात्र नभई एमाले र माओवादी पार्टीसमेत ‘कोमिन्ताङ’ बन्ने बाटोमा जानेछन् ।

बलिया देउवा, कमजोर कांग्रेस

लाभको पद बाँड्ने ठाउँमा आज कांग्रेस सभापति शेरबहादुर देउवा छन् । सँगै देउवाले छुट्याइदिएको मन्त्रीलगायत बाँकी बाँड्ने ठाउँमा डा. शेखर कोइराला । लाभको पद बाँडेकै कारण उनीहरुको ‘गुट’को दायरा पार्टीभित्र बहुमतमा छ । सोही बहुमतको दण्डा देखाएर पार्टीभित्रको रुपान्तरणका पक्षधरलाई उनीहरुको भूमिकाको दायरा खुम्च्याइएको छ । अर्कातिर, नेपालमा देखिएका पछिल्ला ठूला भ्रष्टाचार प्रकरणमा कांग्रेसकै नेतृत्व कुनै न कुनै रुपमा जोडिन पुग्दा उक्त नेतृत्वले जनभावनाअनुरुप सरकारका प्रधानमन्त्रीको आलोचना गर्ने नैतिक हैसियतसमेत गुमाएको छ । कांग्रेस जस्तो क्रान्तिकारी इतिहासको विरासत बोकेको पार्टी आज नेतृत्वकै कारण इतिहासमै निराशाजनक अवस्थामा छ । अंकगणितका हिसाबले कमजोर प्रचण्ड कांग्रेसमाथि भने बलशाली भएर प्रस्तुत भएका छन् । त्यसको मूल कारण भनेकै देउवाको सत्ताप्रतिको मोह हो । यतिमात्र नभई कांग्रेसबाट यो सरकारमा नौ जना महत्वपूर्ण ‘पोर्टफोलियो’सहित मन्त्री छन् । तर, सरकारमा उनीहरुको प्रभावकारिता भने सडकमा साइरनसहित झण्डा हल्लाएर दौडने सिवाय केही देखिन्न ।

जीवनको उत्तरार्द्धमा एक पटक पुनः सत्तामा पुग्ने चाहना देउवामा हुनु त स्वाभाविक मानिएला ! तर, पार्टीलाई रुपान्तरणका पक्षमा लैजाँदै आफ्नो समूहसमेत मजबुत बनाएर देउवालाई नै संसदीय दलको नेताबाट विस्थापन गरी मुलुकको प्रधानमन्त्री बन्ने उच्च मनोबल डा. शेखरले देखाउँछन् भन्ने विश्वास धेरैमा थियो । तर, ‘कोशी प्रकरण’ले ‘देउवा-प्रचण्ड’बीच यति घनीभूत सम्बन्ध निर्माण गर्‍यो कि कोइरालाको प्रधानमन्त्री बन्ने सपना स्वयं उनैका कारण खण्डित बन्न पुग्यो । देश दुनियाँलाई चक्मा दिए भन्ने भान कोइरालामा त पर्‍यो नै होला । तर, आफ्नै समूहसमेतको विश्वास आर्जन डा. शेखरले गर्न नसक्दा भोलिको भर तिनै देउवाकै पर्नुपर्ने परिस्थिति विकास हुन पुग्यो । डा. कोइरालाको कोशी निर्णयले उहाँकै भरपर्ने ठूलो समूहलाई समेत झस्काउन पुग्यो । किनकि कोशीमा आफ्नो विश्वास पात्रलाई मुख्यमन्त्री बनाउन त कोइराला सफल भए । तर, केन्द्रीय राजनीतिमा भने आफ्नो टीमलाई विश्वासमा लिन पूर्णतः असफल ।

कांग्रेस जस्तो क्रान्तिकारी इतिहासको विरासत बोकेको पार्टी आज नेतृत्वकै कारण इतिहासमै निराशाजनक अवस्थामा छ । अंकगणितका हिसाबले कमजोर प्रचण्ड कांग्रेसमाथि भने बलशाली भएर प्रस्तुत भएका छन् । त्यसको मूल कारण भनेकै देउवाको सत्ताप्रतिको मोह हो ।

गगन-विश्वको खुम्च्याइएको भूमिका

पिता पुर्खादेखि नै राजनीतिमा रहेर विरासतकै नामबाट राजनीतिमा स्थापित पात्र होइनन् गगन-विश्व । लोकतन्त्र प्राप्तिको आन्दोलनको आँधीबेहरीमा आफूलाई होमेर पटक पटक राजनीतिक रुपमा राजनीतिक मैदानबाटै स्थापित भएका पात्र हुन् दुवै जना । पार्टीमा अंकगणितका हिसाबले स्थापित देउवा र आफ्नै टीमका नेता डा. शेखरबाट भोलिको कांग्रेस हाँकिने कुरा सहज नभएको उनीहरुले बुझेका छन् । तर, ‘देउवा-कोइराला’बाट लाभको पद बाँडेरै बहुमत जुटाइएको कांग्रेसमा ‘गगन-विश्व’ अंकगणितका हिसाबले कमजोर अवस्थामा छन् । तर, कांग्रेस नचलेको उनीहरुलाई राम्रै थाहा छ । कसरी चल्छ र चलाउनुपर्छ भन्ने पनि बुझेका छन् । तर, चलाउन न उनीहरुसँग बहुमत छ न त बहुमतले उनीहरुको कुरा नै कार्यान्वयनमा लैजान दिन्छ । दुवै अवस्था विद्यमान छैन । उनीहरु केवल आजका मितिमा मिडियामा आफ्ना विचार राख्नेबाहेक शून्यतामा छन् ।

केन्द्रीय समिति बैठकका समय जबरजस्त केही निर्णयहरु गराउन उनीहरु सफल भए । महामन्त्रीद्वयकै भूमिका र दबाबका बीच केही निर्णय केन्द्रीय समिति बैठकमा भएका थिए । जुन निर्णयका आधारमा योबीचमा बीपी साहित्य महोत्सव, पार्टीको गाउँ, नगर, क्षेत्र, जिल्ला आदि सम्मेलन, जनप्रतिनिधिलाई ‘ट्रेनिङ’ सम्पन्न भएका छन् । यसको अलावा ‘पोलेसी लेभल’मै युवाको रुचि भएकाले ‘पोलेसी ह्याकाथुन’ लगायत काम सम्पन्न भए । जनतासँग कांग्रेस र आर्थिक मुद्दामा बहसका लागि ‘सुवर्ण सम्शेर इकोनोमी कन्क्लेभ’ जस्ता कार्यक्रम हुने चरणमा छन् भने महासमिति बैठकको तयारीले तीव्रता पाएको छ । मूलतः यसको जस महामन्त्रीद्वयलाई नै जान्छ । तर, कांग्रेस पार्टीको आफ्नो आन्तरिक जीवनमा महत्वपूर्ण मानिएका माथि उल्लेखित काम भए पनि जनताको तहमा उक्त पार्टी पनि सरकारमा भएकाले जनतालाई के दियो भन्ने नै हो । गठबन्धनको सरकार निर्वाचनमा जाँदा राजनीतिक स्थिरता, सुशासन र समृद्धिको नारा दिएर जनताका बीच गएको थियो । सरकार आज गठबन्धनकै छ । तर, आफ्नै नारामा सरकार चैं कहाँनेर छ भन्ने प्रश्न महामन्त्री स्वयंले उठाउँदै आएका छन् ।

पार्टीलाई रुपान्तरणका पक्षमा लैजाँदै आफ्नो समूहसमेत मजबुत बनाएर देउवालाई नै संसदीय दलको नेताबाट विस्थापन गरी मुलुकको प्रधानमन्त्री बन्ने उच्च मनोबल डा. शेखरले देखाउँछन् भन्ने विश्वास धेरैमा थियो । तर, ‘कोशी प्रकरण’ले ‘देउवा-प्रचण्ड’बीच यति घनीभूत सम्बन्ध निर्माण गर्‍यो कि कोइरालाको प्रधानमन्त्री बन्ने सपना स्वयं उनैका कारण खण्डित बन्न पुग्यो ।

महासमिति बैठक

निर्धारित मितिमै आयोजना गरिए आगामी मंसिरमा कांग्रेसको महासमिति बैठक हुनेछ । महासमिति बैठकमा सरकार र कांग्रेसका मन्त्रीको समीक्षासँगै सभापति देउवाले कांग्रेसलाई गर्दै आएको माओवादीकरण र कोइरालाले गर्न लागेको एमालेकरण आदिका विषयमा गम्भीर समीक्षा हुने नै देखिन्छ । यसको अलावा कांग्रेस नेताहरु नै भ्रष्टाचारका गम्भीर प्रकरणमा मुछिएको सवाल महासमिति सदस्यहरुले जोडदार रुपमा उठाउने लगभग निश्चित छ । हिन्दू धर्मको मुद्दादेखि संघीयता खारेजको विषय पनि पार्टीभित्रको एउटा ‘ब्लक’ले अघिल्लै महासमिति बैठकदेखि उठाउँदै आएको छ । तर, नीतिगत रुपमा कांग्रेस महासमिति बैठकले जे जस्ता दूरगामी निर्णय लिए पनि केन्द्रीय समितिमा लगेर देउवा पक्ष बहुमतले उल्ट्याएको नजिर कांग्रेसमा छ । तसर्थ, महासमिति सदस्यले आफूले प्रस्तुत गरे तथा महासमिति बैठकले निर्णय गरेका विषय नउल्टाउने प्रतिबद्धतासहित हातहाती रिजल्ट खोज्ने पक्षमा यस पटक महासमिति सदस्य देखिन्छन् ।

केन्द्रीय महाधिवेशनलगत्तैको ठूलो ‘बडी’ हो महासमिति बैठक । उक्त बैठकले पार्टीले लिने नीतिका बारे विहंगम बहस गरेर दूरगामी नीतिगत निर्णय लिनसक्छ । आशन्न महासमितिमा ‘देउवा-शेखर’ समूहबाट एकल वा अलग अलग लिइएको ‘कोशी प्रकरण’ तथा मन्त्रीमण्डल छनोटसम्मका विषयमा समेत घनीभूत छलफल र संस्थागत निर्णयका बारे नेतृत्वप्रति ‘कटाक्ष’ सहित पार्टी नेतृत्वलाई सच्याउने बाटोमा महासमिति जाँदा नै कांग्रेस प्रजापरिषद् बन्नबाट जोगिन सक्छ । अन्यथा, कांग्रेस बन्ने भनेकै एउटा नेताले सक्दा ‘एमालेकरण’ र अर्काेले सक्दा ‘माओवादीकरण’ नै हो । सन्दर्भ यतिमात्र रहेन, गणतन्त्रका बारे तरह-तरहका विषय उठेका छन् । कांग्रेस कमजोर हुँदा प्राप्त लोकतान्त्रिक उपलब्धि गुम्ने खतरा कायमै छ ।

अर्थमन्त्रीले अर्थतन्त्र लयमा आउनै लाग्यो भनेर ‘गीत’ गाएको धेरै भयो । तर, अर्थतन्त्रकै कारण मुलुक असफल राज्यउन्मुख हुँदैछ । युवा पलायन हेर्दा दैनिक एउटा वडाको जनसंख्याका दरले देश रित्तिँदैछ । सुशासन र जनतालाई दिने ‘डेलिभरी’को विषय एकादेशको कथा बन्दैछ । हत्यारा तथा बलात्कारीहरु सरकारको सिफारिसमा राष्ट्रपतिको लालमोहरमा तामझामका साथ फूलमालासहित जेलबाट छुट्दैछन् । यही अवस्था कायम रहे जनआक्रोशबाट उठ्ने आन्दोलनले सरकारमात्र नभई व्यवस्था नै विस्थापित हुनसक्छ । तसर्थ, कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीभित्र रहेका परिवर्तनकारी शक्तिलाई जनस्तरबाटै बल प्रदान गरेर स्थापित गर्ने प्रयत्न नगरिने हो भने ‘स्टेट फेल’बाट मुलुक जोगाउन कठिन छ ।


प्रतिक्रिया

One thought on “शेरबहादुरको माओवादीकरण र शेखरको एमालेकरणबाट कांग्रेस जोगाउने कठिन संघर्षमा महामन्त्रीद्वय

  1. गगन विश्वको भूमिका अन्तत देउवाको पुच्छर बन्ने नै छ । यी दुई पिंध नभएका लोटा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *