सुदूरपश्चिममा १६ दिनमा २० पटक भूकम्प – Nepal Press

सुदूरपश्चिममा १६ दिनमा २० पटक भूकम्प

डोटी । सुदूरपश्चिम प्रदेशमा असोज १६ गतेयता ४ म्याग्निच्यूडभन्दा माथिका २० वटा भूकम्प गएका छन् । २० भूकम्पमध्ये १९ बझाङ केन्द्रविन्दु बनाएर गएका छन् । एउटा दार्चुला केन्द्रविन्दु बनाएर गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु बनाएर गएराति १० बजेर ३ मिनेटमा फेरि ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

असोज १६ गते एकैदिन ६ पटक भूकम्प गएको भूकम्प मापन केन्द्रको तथ्याङ्क रहेको छ । सो दिन पहिलो पटक दिउँसो २ः४० बजे बझाङ केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

सोही दिन दिउँसो ३.०६ बजे यस अवधिको सबैभन्दा ठूलो ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पबाट बझाङमा एक जनाको ज्यान गएको थियो । सो भूकम्पबाट २७ जना घाइते भए । ७६ निजी घर पूर्ण रुपमा क्षति भएको बताइएको छ ।

यस्तै ३०६ निजी र ३३ सरकारी भवनमा आंशिक क्षति पुर्‍याएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

सोही दिन ३ः१३ बजे ५.१, ३ः४५ बजे ४.१, ४ः२८ बजे ४.१, ४ः३१ बजे ४.३, ५ः१७ बजे ५ र ५ः३८ बजे फेरि ५ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ । यी सबै भूकम्पको केन्द्रविन्दु बझाङ रहेको थियो ।

असोज १७ गते ४ पटक भूकम्प गएको थियो । बिहान १२ः१६ बजे ४.१, १२ः५० बजे ४.३, ४ः२७ बजे ४.३ र ५ः४३ बजे ४.३ म्याग्निच्यूडको भूकम्प बझाङ केन्द्रविन्दु बनाएर गएको थियो ।

असोज १८ गते राति २२ः५१ बजे बझाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गयो । २० गते २ पटक भूकम्प गएको केन्द्रले मापन गरेको छ । बिहान ११ः४५ बजे ५.३ र दिउँसो १२ः३२ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

असोज २५ गते बिहान १२ः२२ बजे ५.२ म्याग्निच्यूडको भूकम्प गयो । २६ गते पनि २ पटक भूकम्प गएको छ । बिहान १२ः३१ बजे ४.४ र बिहान १ः५१ बजे ५ म्याग्निच्यूडको भूकम्प गएको हो । २९ गते बिहान ९ः२६ बजे ४.८ म्याग्निच्यूडको भूकम्प गएको मापन केन्द्रले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर