बोनसलाई लिएर मजदुरले अराजक व्यवहार देखाएको भन्दै चौधरी ग्रुपको आपत्ति (भिडिओ) – Nepal Press

बोनसलाई लिएर मजदुरले अराजक व्यवहार देखाएको भन्दै चौधरी ग्रुपको आपत्ति (भिडिओ)

काठमाडौं । चौधरी ग्रुपले सीजी ब्रुअरी प्रालिमा कात्तिक १ गते मजदुरले बोनसको बिषयलाई लिएर गरेको अराजक व्यवहारप्रति व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चौधरी ग्रुप कर्पोरेट कम्युनिकेसन्स विभागले आज एक विज्ञप्ति जारी गर्दै देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरी कार्यरत मजदुरहरूले अनधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय भएको जनाएको हो ।

मजदूर आक्रमणबाट घाइते सीजीका कर्मचारी

गैरकानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी गराएको छ ।

‘सीजी ब्रुअरीले आफ्ना मजदुर/कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको सबैलाई विदितै छ । सोही कारण विगतमा समग्र औद्योगिक सम्वन्ध विग्रिएको अवस्थामा समेत सीजी इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरबीचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सीजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर/कर्मचारीलाई विगत वर्षहरूमा छ महिनासम्मको बोनस वितरण गरेको थियो । तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सीजी ब्रुअरीमा परेको छ ।’

अघिल्लो वर्षको तुलनामा सीजी ब्रुअरीका उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको जनाउँदै कम्पनीले आफ्ना मजदुर/कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनिय छ । आफ्ना असहमतिहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू शैह्य नहुने व्यहोरा स्पष्ट रूपमा जानकारी गराइन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *