वीरेन्द्रकाे बयान- १० साथी आँखै अगाडि ढले, हमासले विपीनलाई लतारेर लगे (भिडिओ)
कैलाली । भजनी नगरपालिका-४ का वीरेन्द्र चौधरीको घरमा केही दिनदेखि आफन्त, छरछिमेक र साथीभाइहरूको आउजाउ ह्वात्तै बढेको छ । उनलाई भेट्न आउने अधिकांशले इजरायलमा के भयो ? तपाईँ कसरी जोगिनुभयो ? १० जनाको हत्या कसरी भयो ? यी र यस्तै प्रश्न तेर्स्याइरहन्छन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका १० जनाको वीरेन्द्रकै आँखा अगाडि हत्या भयो । आफूसँगै गएका र सँगै रहेका १० जना साथीहरूको प्यालेस्टाइनको हमास समूहले गरेको आतङ्ककारी हमलामा मृत्यु भएको पलले उनलाई अझै त्रसित बनाइरहन्छ ।
२० असोज बिहान उठ्दै गर्दा हमला भएको वीरेन्द्र सम्झन्छन् । वीरेन्द्रसहित १७ जना एकै ठाउँमा थिए । झ्यालबाट बाहिर युद्ध भएको देखेपछि उनीहरू सबै बंकरभित्र पसे ।
सम्भावित युद्धबारे उनीहरूलाई पहिल्यै जानकारी गराइएको थियो । तर, त्यो युद्ध यति भयङ्कर होला भन्ने उनीहरुले सोचेका पनि थिएनन् । बंकरभित्र पसेपछि उनीहरूले जोगिएको आभास गरे ।
‘हामी बंकरमा छिरेर खुसी थियौ, केही साथीहरू लुँडो पनि खेलिरहेका थिए मानौँ हामी सुरक्षित छौ’, वीरेन्द्रले त्यो पल सम्झँदै भने, ‘तर हाम्रो खुसीको पल धेरै बेर रहन सकेन ।’
बझाङ जयपृथ्वी- ६ बझाङका गणेशकुमार नेपाली ढोका नजिकै थिए । उनले बाहिरको भिडिओ खिचिरहेका थिए । उनीहरू भएको ननिकै गोलाबारी भयो । गणेश भाग्दै साथीहरूसँग पुग्दा गोली लाग्यो र उनी ढले । सँगै रहेका मध्येका एकजनालाई गोली लागेपछि उनीहरू झन् आत्तिए ।
आफूहरू नेपाली भन्ने थाहा पाएपछि हत्या गर्दैनन् कि भन्ने आशाले लेकम- ५ दार्चुलाका दीपेशराज विष्टले ‘वि आर नेपाली’ भन्दै ज्यानको भीख माग्न थाले । तर, हमासले उनको याचना सुनेन ।
दुईजना साथीहरूको गोली प्रहारबाट मृत्यु भइसकेपछि वीरेन्द्रसहितका अन्य साथीहरू थप त्रसित बने । त्यसैमाथि २ ग्रीनेट बम उनीहरू भएतिर फालियो । एउटा बम विपीन जोशीले कोही नभएको तर्फ फालिदिए र अर्को त्यहीँ पड्कियो । विपीनले त्यो साहस नदेखाएको भए वा अर्को बम पनि त्यहीँ पड्किएको भए अझै ठूलो क्षति हुने थियो ।
‘२ जनाको हत्या र २ बम फालेर उनीहरू निस्किए एउटा विपीनले पाखा लगाए अर्को त्यहीँ पड्कियो’, वीरेन्द्र सुनाउँछन्, ‘५ जना साथीहरू घाइते भए । कसैका खुट्टा तलतिरको भागबाट चुँडिए, कसैका हातमा साह्रै चोट लाग्यो ।’
तीनजना इजरायली सेना पुगेपछि केही राहत पलाएको आभास भएपनि केही बेरपछि ती सेना पनि सम्पर्कविहीन भए । त्यति बेलासम्म वीरेन्द्रलगायत केहीलाई किचनमा सारिएको थियो ।
किचनमा पनि उनीहरु सुरक्षित रहन सकेनन् । वीरेन्द्रका अनुसार उनीहरूसँगै रहेका कञ्चनपुर भीमदत्त- ३ का विपीन जोशीलाई किचनबाटै हमास समूहले अपहरण गरे ।
‘आतङ्ककारीहरू हल्ला गर्दै फाइरिङ गर्दै आए हामीहरू कोही टेबलमा कोही चामलका पछाडि लुक्यौ’, वीरेन्द्रले भने, ‘ उनीहरू आउनेबित्तिकै विपीन जोशीलाई तानेर लगे र अरूलाई फाइरिङ गरे । किचनभित्र रहेका पाँचजना नेपालीलाई फेरि गोली लाग्यो ।’
सामान्य घाइते भएकाहरू पीडाले कराउँदा फेरि फर्किएर उनीहरूमाथि गोली हानियो । त्यस क्रममा कैलाली जोशीपुरका आशिष चौधरी, पचनाली- ३ डोटीका राजन फुलारा, लामिखाल- ८ डोटीका पदम थापा, शारदा- ३ सल्यानका प्रवेश भण्डारी र मधुवन- १ सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भयो ।
उता बंकरमा ग्रिनेड लागेर घाइते भएकाहरूको समयमा उद्धार नहुँदा ३ जनाको मृत्यु भयो ।
‘कैलाली घोडाघोडीका नारायण न्यौपाने पीडाले छटपटाइरहेका थिए म त्यहीँ थिएँ उनले फोनमा आफूलाई बचाउन हार गुहार गरिरहेका थिए उताबाट एम्बुलेन्स आउँछ भनिएको थियो ’, वीरेन्द्रले भने ‘ बाहिर एम्बुलेन्सको जस्तो आवाज आयो । उनी अब बचिन्छ भनेर बाहिर निस्कँदा गोली हानेर हत्या गरियो ।’
मालिकार्जुन- ४ दार्चुलाका लोकेन्द्रसिंह धामी, सपही- ६ धनुषाका आनन्द साहको भने समयमा उद्धार नहुँदा अत्यधिक रगत बगेर मृत्यु भयो ।
वीरेन्द्र त्यो दिनको कुरा सम्झिँदा उनका परिवारका अन्य सदस्य तथा आफन्तहरू पनि भावुक बन्छन् । स्वयं वीरेन्द्र पनि त्यो दिन सम्झँदा आफू बाँचेर आउने सपना निकै कम रहेको बताउँछन् ।
‘मसँगै रहेका १० जनाको हत्या भयो, विपीनलाई तानेर लगे म कसरी जोगिए अहिले सम्झिन्छु’, उनले भने, ‘ म कहिले र्याकमा लुकेँ कहिले ढोका पछाडि लुकेँ अहिले सम्झिँदा भगवानले बचाएकै हुन् भन्ने लाग्छ । ’