परिवर्तन नचाहने शक्तिहरू सलबलाए: गोकर्ण विष्ट
सिन्धुपाल्चोक । नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालमा परिवर्तन नचाहने शक्तिहरू सलबलाएको आरोप लगाएका छन् ।
एमाले मेलम्ची नगर कमिटीले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले देश निर्माणको जिम्मेवारी एमालेको काँधमा आएकोसमेत बताए ।
सचिव विष्टले आगामी दिनहरूमा गणतन्त्रविरोधी नारा र साम्प्रदायिक सद्भाव बिथोलेर देशलाई अस्थिरताको खाडलतिर धकेल्न प्रयत्न गर्न सक्ने भएकाले यस्ता कुरामा जोगिने र देशलाई जोगाउने प्रमुख जिम्मेवारी एमालेको भएको बताए ।
सचिव विष्टले नेपालको इतिहासमा गएका दुई वर्षमा सबैभन्दा धेरै युवाहरू विदेशिएको भन्दै एमालेको सरकारको पालामा देशमै केही गर्छु भन्ने युवाहरू आज विदेशमा पलायन हुन परेको बताए ।
एमालेले युवाहरूमा भरोसा र आमजनतामा आशा जगाउनुपर्ने उनको भनाइ छ ।
सचिव विष्टले देशको अर्थतन्त्र सङ्कटको अवस्थामा रहेको बताए । उनले कोरोना, भूकम्प जस्ता अवस्था सामना गर्दा समेत यस्तो अर्थतन्त्र नभएको उल्लेख गर्दै अहिले व्यापारी तथा व्यवसायीहरू चौतर्फी घेराबन्दीमा परेका कारण उत्साहित नभएको बताए ।
‘एमालेले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै देशलाई आर्थिक हिसाबले तुलनात्मक रुपमा आत्मनिर्भर बनाउने, प्राकृतिक स्रोत र साधनहरूलाई अधिकतम उपयोग गर्दै देश विकासमा अगाडि बढाउने सन्दर्भ नै अहिलेको सवाल हो’, उनले भने, ‘जबसम्म नेकपा एमाले बलियो हुन सक्दैन, एमालेको सरकार बन्दैन तबसम्म यी सवाल अगाडि बढ्न सक्दैनन् ।’