दीपेन्द्र ‘द जिनियस’: ‘सरेन्डर’ गरिसकेका कुशललाई यसरी जोगाए – Nepal Press

दीपेन्द्र ‘द जिनियस’: ‘सरेन्डर’ गरिसकेका कुशललाई यसरी जोगाए

काठमाडौं । क्रिकेटिङ सेन्स असाध्यै तगडा भएका खेलाडीका रुपमा चिनिन्छन् दीपेन्द्रसिंह ऐरी । उनी वास्तविक अर्थमा अलराउन्डर क्रिकेटर हुन्, जो ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अब्बल छन् । अनि रनिङ विटविन द विकेटमा पनि त्यत्तिकै चतुर र छरिता छन् ।

आजको म्याचको एउटा क्षणको कुरा गरौं, जहाँ दीपेन्द्रको चतुरताले अर्का ब्याट्सम्यान कुशल मल्ललाई आउट हुनबाट जोगायो । कुशल हङकङका बलरहरुमाथि पूर्णरुपमा हावी भएर खेलिरहेका थिए भने दीपेन्द्र उनको सपोर्टिङ रोलमा थिए । दुवै ब्याट्सम्यानको आक्रमणमा परेको हङकङ निरिह अवस्थामा थियो ।

खेलको १९ औं ओभरमा नेपालले सर्वाधिक ३० रन बटुल्यो, जसले नेपाललाई २०० को स्कोर पार गराएको थियो । यो ओभरको एउटा बलमा कुशल सहजै आउट हुन सक्थे, यदि दीपेन्द्रले चतुरता नदेखाएको भए ।

यो ओभरका अघिल्ला ५ बलमा नेपालले २८ रन बटुलिसकेको थियो, जसमा कुशलले ३ छक्का र एक चौका प्रहार गरेका थिए । कुशलसँग आतंकित बलरले बाउन्ड्रीबाट बच्न अन्तिम बललाई अफ स्टम्पभन्दा पर फ्याके । शतकका लागि आतुर कुशलले ठूलो सटका लागि अनसाइडतर्फ पोजिसन लिइसकेका थिए ।

बल आएलगत्तै कुशल क्रिजभन्दा निकै अगाडि बढेर हिर्काउन खोजे, तर उनको ब्याट बलसम्म पुगेन । कुशल लड्खडाए र बल विकेटकिपरको हातमा पुग्यो । कुशलले आफू स्टम्पिङ भएको ठानेर पछाडि फर्किँदा पनि नफर्किकन पेभिलियनतर्फ दौडिन थाले । तर, अम्पायरले बललाई वाइड दिएका थिए ।

अर्को इन्डमा रहेका दीपेन्द्रले भने बललाई नियालिरहेका थिए । वाइड बल भन्ने बुझेर उनी खरायोको गतिमा अर्को इन्डतर्फ दौडिए । त्यो देखेपछि कुशलले पनि बाटो मोडेर एक रन पूरा गरे । फिल्डरले स्टम्पमा बल फ्याक्न नपाउँदै दीपेन्द्र पनि क्रिजमा पुगिसकेका थिए । उनी आफू पनि जोगिए र कुशललाई पनि जोगाए ।

यतिबेला नेपालको स्कोरबोर्डमा १९८ रन चढेको थियो भने कुशल ८१ रनमा खेलिरहेका थिए । आउट हुनबाट जोगिएका कुशलले आफ्नो खातामा थप ११ रन जोडे ।

तर, दीपेन्द्र भने लगत्तैको बलमा आउट भए । ठूलो सट हान्ने प्रयासमा उनी ओभरको अन्तिम बलमा उनले विकेट गुमाए । यद्यपि, त्यतिबेलासम्म नेपालले विशाल स्कोर खडा गरिसकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *