पिङले थपेको बर्दिबासको दसैँ रौनक
बर्दिबास । बडा दसैँ भन्नेबित्तिकै हामी के सम्झन्छौं ? टीका जमरा र पिङ ! या अरू नै कुराले तपाईंलाई प्रभावित पार्छ ?
तपाईंले पछिल्लो पटक कहिले लिङ्गे पिङ झट्कार्नुभयो ? पछिल्ला वर्षहरूमा हाम्रो रितिथितिका केही यादहरू कटौती हुँदै गइरहेको या विस्मृतिको गर्तमा पुगिरहेको कत्तिको महसुस गर्नुहुन्छ ?
हामी सबैले बाबियोको डोरी बाटेर बासको लिङ्गो गाडेर सरर पिङ खेलेरै बालापन बिताएका थियौं । तर, आजका नानीबाबु अनि हामी आफैंले पनि पिङ खेल्न विरलै पाउँछौं । संस्कृति जोगाउन एकाध ठाउँमा हालिने पिङबाहेक लिङ्गे पिङ देख्नै मुस्किल छ । रोटे (कतैकतै चर्खे पिङ पनि भनिन्छ), जाँते आदि पिङ त इतिहास बनिसकेका छन् ।
महोत्तरीको बर्दिबास भने अपवाद बन्ने बाटोमा छ । पछिल्लो समय द्रुत गतिमा फैलिइरहको बर्दिबासमा लिङ्गे पिङले राम्रै शोभा बढाएको छ ।
परम्परा र मौलिककताको जगेर्ना गर्न नै लिङ्गे पिङ हालिएको सबैका लागि हामी संस्थाका अध्यक्ष रवि निलौराले बताए । पितापुर्खादेखि हस्तान्तरण हुँदै आएको कला, संस्कृति र परम्परालाई वर्तमान पिँढीले संरक्षण गर्नुपर्ने मात्र नभई त्यसलाई समृद्ध तुल्याउनुपर्ने अध्यक्ष निरौलाको जोड छ ।
फूलपातीको दिनदेखि सरकारी कार्यालय बन्द रहने हुँदा मान्यजनका हातबाट टीका थाप्न अधिकांश गाउँ फर्कन्छन् । खेतमा झुलेका धानका बाला, सहरबाट फर्कनेहरूले थप्ने शोभाका कारण दसैं गाउँमा रमाइलो हुन्छ भन्ने मान्यता रहीआएको छ ।
पिङले दसैँको महत्त्वलाई झन् बढावा दिन्छ । वर्षमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङ संस्कृतिलाई जिउँदो राखेको छ ।
‘तर वरपरमात्र होइन, दूरदूरसम्म पनि लिङ्गे पिङ राख्न छाडिएको पाइयो । त्यसैले पनि हाम्रो संस्थाका साथीहरू सङ्ग छलफल गरी र बर्दिबास नगरपालिकासँग समन्वय गरी पिङ हालेका हौं । बर्दिबासमा साँच्चै दसैँ आएको आभास भएको छ,’ निरौलाले भने ।
कार्य समिति सदस्यहरू आफैँ मिलेर साबेको डोरी बाटेर पिङ हालिएको सबैका लागि हामी संस्थाका कोषाध्यक्ष गणेश विक्रम थापाले बताए । कार्य समिति सदस्य प्रमेश थापा र संस्थाको लगानीमा पिङ राखिएको थापाको भनाइ छ ।
दसैँ मनाउन बर्दिबास आएका अविश पोखरेल लिङ्गे पिङ खेल्न पाएकोमा मख्ख छन् । अरूबेला मोबाइल गेममा व्यस्त हुने छोराछोरी अहिले पिङ खेलेर रमाउँदा अभिभावक पनि पुलकित देखिन्छन् ।
यस वर्ष बर्दिबास नगरको पाटु, गौरीडाँडा, बरगाछी टोल, स्कुल टोलमा गरी ५ स्थानमा पिङ हालिएको छ । यसरी पिङको संस्कृतिलाई पुनः साबेको डोरीमै लगेर युवाहरूले जगेर्ना गर्नु सकारात्मक पहल भएको स्थानीय सुदीप कार्कीको बुझाइ छ । अहिले नाइलन र जुटको डोरीले बजार पिटिरहेका बेला साबेको डोरी लोप हुँदै गएको छ । त्यसमाथि डोरी बाट्न पनि झन्झटिलो छ ।
‘तर यो हाम्रो पहिलेदेखि नै चली आएको चलनलाई अघि बढाउँदा यो पुस्ताले सीप सिक्नेमात्र होइन, भावी पिँढीलाई पुस्तान्तरण गर्न पनि सजिलो हुन्छ,’ कार्कीले भने ।