फेरियो उदयपुरगढीको मुहार, साढे ३ करोड खर्चेर पुन:निर्माण सम्पन्न (भिडिओ)
गाईघाट । उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पुन:निर्माण तथा स्तरउन्नति भएसँगै उद्घाटन गरिएको छ ।
जिल्ला सदरमुकाम गाईघाटबाट करिब ३८ किलोमिटर पश्चिम समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाइमा १५ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुन:निर्माण भएपछि गढीले पुरानो आकार लिएको छ ।
तत्कालीन पञ्चावती गाविसमा पर्ने उदयपुरगढी दरबार हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ । करिब तीन करोड ५० लाख रूपैयाँ खर्चेर पुन:निर्माण गरिएको सो पुरानो गढी दरबारको आइतबार नेपाली सेना पूर्वी पृतना मुख्यालय इटहरीका प्रमुख उपरथी आसबहादुर तामाङ र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले संयुक्तरूपमा उद्घाटन गरे ।
कार्यक्रममा पञ्चकन्याबाट कलश यात्रा, नेपाली सेनाको ब्याण्डबाजासहितको उच्च अधिकृतहरूको टोली, जनप्रतिनिधिहरू, राजनैतिक दलका कार्यकर्ता तथा स्थानीयबासीको सहभागिता थियो ।
पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बंकर, बंकरको बीचमा पाँचसय मिटर व्याससहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको छ ।
गढीको वरिपरि बाहिरपटि छ फीट र भित्रपटि १४ फीट उचाइको गारो लगाएर बंकर पुन:निर्माण गरिएको छ । प्राचीन गढी झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरिएको छ ।