आउने चुनावमा कसैकाे बैशाखीबिना एमालेले बहुमत ल्याउँछ: महासचिव पाेखरेल
रूपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ काे चुनावमा स्थानीय तहमा बहुसंख्यक जनप्रतिनिधिसहित प्रतिनिधिसभा र प्रदेशसभामा कसैको वैशाखीविना एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन् ।
उनले मुलुकमा अस्थिर राजनीतिकाे अन्त गरी स्थायित्व कायम गर्न एमाले बलियो शक्तिको रूपमा स्थापित गर्न आवश्यक रहेकोले त्यस दिशामा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
बिहीबार दाङकाे लमहीमा एमाले निर्वाचन क्षेत्र न. १ ले आयाेजना गरेको राष्ट्रिय पर्वहरूकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै पाेखरेलले कुनै पनि पार्टीको बैशाखीविना, सहाराविना, एक्लै एमाले बहुमतको सरकार बनाउन मिसन ०८४ लाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए ।
०८४ काे चुनावपछि एमालेको नेतृत्वको सरकार बन्ने र मुलुकको विकास र आर्थिक समृद्धिका काम द्रुत गतिमा अघि बढ्ने दावी गर्दै वर्तमान सरकारले जनताको अपेक्षा पूरा गर्न नसक्ने पाेखरेलले बताए ।
एमालेको बहुमतको सरकार, सुखी नेपाली–समृद्ध नेपालको राष्ट्रिय अकांक्षा पुरा गर्ने हाम्रो योजनातर्फ हामी नेता कार्यकर्ता संलग्न हुनुपर्ने उनले बताए । कांग्रेससँगकाे सत्ता बार्गेनिङ्ग गर्न समाजवादी मोर्चा बनाइएको उनको टिप्पणी छ।
आफ्ना कार्यकर्ताहरु एमाले हुने भएपछि समाजवादी मोर्चाको नाममा अल्मल्याउने खेल मात्रै भएको उनले दाबी गरे । नेपाललाई कमजोर पार्न मौलिक संस्कृतिमाथि प्रहार भइरहेको पनि उनले बताए ।