त्रिकोणात्मक सिरिज फाइनल- सन्दीप थिएनन्, दीपेन्द्रलाई कप्तानले बलै दिएनन् – Nepal Press
म्याच रिभ्यू

त्रिकोणात्मक सिरिज फाइनल- सन्दीप थिएनन्, दीपेन्द्रलाई कप्तानले बलै दिएनन्

ब्याटिङमा बढी आक्रामकताले डुब्यो नेपाल, पाँचमा तीन वटा म्याच हारेको यूएई बन्यो च्याम्पियन

काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपाल उपाधिबाट वञ्चित भयो । उत्कृष्ट लयमा रहेको नेपालका लागि एउटा खराब दिन महँगो बन्यो ।

नेपालले आसन्न टी-२० विश्वकप क्रिकेटको तयारीका लागि यो त्रिकोणात्मक श्रृंखला राखेको थियो । त्यसैले यो उपाधिभन्दा पनि हारले सिकाएको पाठ नेपालको लागि महत्वपूर्ण छ । घरेलु मैदानमा ‘अजेय’ जस्तै देखिएको नेपाललाई हराएर यूएईले सन्देश दिएको छ कि विश्वकप क्वालिफायर नेपालका लागि ‘केक वाक’ हुनेवाला छैन ।

आजको म्याचमा किन र कसरी हार्‍यो नेपाल ? समीक्षा जरुरी छ । त्रिवि क्रिकेट मैदान नेपाली टीमका लागि अनुकूल मानिन्छ । यहाँ नेपालका ब्याट्सम्यानले भरपुर रन बनाउँदै आएका छन् । नेपालले टी-२० म्याचमा २०० रन कटाउनु सामान्य जस्तै भइसक्यो । तर, आज नेपाल १६२ रनमै खुम्चियो । त्रिवि मैदानमा यो कमजोर स्कोर हो ।

नेपाली ब्याट्सम्यानले आज यूएईविरुद्ध ‘ओभर कन्फिडेन्स’ देखाएकै हुन् । आक्रामक हुनु एउटा कुरा हो । तर, अति आक्रामकता देखाउन खोज्दा ब्याट्सम्यानहरु चुके । नेपालका धेरैजसो विकेट ‘धारिलो बलिङ’ भन्दा पनि ‘ओभर एग्रेसन’ का कारण गुमेका थिए ।

कुशल भुर्तेलले विस्फोटक सुरुवात दिएका हुन् । उनले ३० बलमा अर्धशतक बनाउँदै नेपालले २०० रन कटाउन सक्ने आधारशीला बनाएका थिए । यद्यपि, उनको पनि सट सेलेक्सनमा धेरै प्रश्नहरु उठ्छन् । उनले फास्ट बलरलाई विकेट पछाडि स्कुप गर्नमा बढी नै दिलचस्पी देखाए, जुन अत्यधिक जोखिमपूर्ण मानिन्छ ।

पछिल्ला ओभरहरुमा बाउन्ड्री निकाल्न यस्ता सटहरु ट्राइ गर्नु सामान्य भए पनि कुशलले सुरुबाटै हान्न खोजे । उनले कम्तीमा ५-७ ओभरसम्म क्लासिकल सटमै विश्वास राख्नुपर्ने देखिन्छ । जे भए पनि आज नेपालका लागि सुखद पक्ष भनेको कुशलले आफ्नो फर्म भेट्टाउनु हो, जुन विश्वकप क्वालिफायरमा नेपालका लागि अति महत्वपूर्ण हुनेछ ।

अघिल्लो म्याचमा चलेका ओपनर आसिफ शेख आज चलेनन् । कुशल मल्ल पनि फेल भए । आयान अफजल खानको बललाई छक्का हान्न खोज्दा उनी बोल्ड भएका थिए । मल्ललाई धेरै दोष नदिउँ । आक्रामकता नै उनको खेल्ने स्वाभाविक शैली हो । उनलाई टुकटुक खेल भन्नु उचित हुँदैन । नेपालले आज तेस्रो नम्बरमा कुशललाई पठाएर गल्ती गरेको पनि भन्न मिल्दैन । टी-२० मा उनलाई अगाडि नै खेलाउनु राम्रो हो ।

रोहित पौडेललाई भने दोष दिनैपर्छ । प्रतियोगितामा उनी राम्रो फर्ममा थिए । आज दीपेन्द्रसिंह ऐरीसँग उनको साझेदारी ग्रोथ हुँदै थियो । उनले सिंगल डबल लिएर दीपेन्द्रलाई बढी स्ट्राइक दिने प्रयास गर्नुपर्थ्यो । तर, १२ ओभरमा रोहितले धैर्य गुमाए । लेग स्टम्पपट्टि निकै पछाडि सरेर पौडेलले प्याडल स्कुप गर्न खोजे । त्यसबेला कम्तीमा रोहितले यो सट ट्राइ गर्नुपर्ने आवश्यक थिएन । उनको भूमिका त पार्टनरसीप विल्ड गर्ने हो । यस्ता सट भुर्तेल, मल्ल, ऐरीले खेलेको सुहाउँछ । फेरि स्लग ओभर पनि होइन ।

नेपालको सबैभन्दा महत्वपूर्ण विकेट अलि नासरले लिए । उनले दीपेन्द्रसिंह ऐरीलाई आउट गरे । ऐरी पनि ठूलो सट खेल्ने चक्करमा नै आउट भए । दीपेन्द्रको विकेटपछि नेपालले विशाल स्कोर खडा गर्ने सम्भावनाको अन्त्य भएको थियो ।

अनुभवी ब्याट्सम्यानहरु पेभिलियन फर्किएपछि आज आफूलाई प्रुफ गर्ने सबैभन्दा राम्रो मौका थियो सन्दीप जोरासँग । उनी नेपाली ब्याटिङका भविष्यका रुपमा हेरिएका युवा हुन् । एसियन गेम्समा भारतविरुद्ध विस्फोटक ब्याटिङ गरेका सन्दीपले त्यसभन्दा अघि र पछि खासै मौका पाएका छैनन् । उनी पनि छक्का हान्ने प्रयासमै आउट भएका थिए ।

अर्का प्रतिभाशाली युवा अलराउन्डर गुल्शन झाले पनि सम्हालिएर ब्याटिङ गर्न सकेनन् । उनलाई पनि एकदुई रन लिएर इनिङ बिल्डअप गर्नेभन्दा छक्का नै हान्नु थियो । सस्तैमा आउट भए ।

सबैभन्दा मूर्खतापूर्ण सट चाहिँ सोमपाल कामीले प्रहार गरे । नेपालले सात विकेट गुमाइसकेको थियो भने अर्को इन्डमा करण केसी थिए । अब नेपालसँग ललितसिंह राजवंशी र अविनाश बोहारामात्रै थिए, जो ‘प्योर टेल इन्डर’ हुन् । सोमपालले करणसँग नै २० ओभर पूरा खेल्ने सोच राख्नुपर्थ्यो । तर, उनी पनि आफ्नो प्रतिभा देखाउन हतारिए । घातक बलिङ गरिरहेका आयान अफजललाई रिभर्स स्वीप हान्न खोजे र बोल्ड भए ।

अन्तिमसम्म टिकेको भए सोमपाल र करणले नेपाललाई १८० सम्म पुर्‍याउन सक्ने आशा थियो । सोमपालको विकेटसँगै त्यो आशा पनि चकनाचुर भयो ।

अब कुरा गरौं बलिङको । १६२ रनको मामुली स्कोर रक्षा गर्न उनीहरुले प्रयास गरेकै हुन् । खेललाई अन्तिम ओभरको पाँचौं ओभरसम्म पुर्‍याउनु पनि बलरको सफलता हो । तर, आज नेपाललाई वास्तविक रुपमा सन्दीप लामिछानेको अभाव खट्कियो । ललितसिंह राजवंशीले विकेट लिन नसकेपछि नेपालको स्पिन आक्रमण नै भुत्ते भयो । अघिल्ला म्याचहरुमा पनि नेपालको स्पिन कमजोर नै देखिएको थियो । तर, उत्कृष्ट ब्याटिङले नेपाललाई सहज रुपमा खेल जिताइरहेको थियो । तर, आज लक्ष्य ठूलो नभएकाले नेपालको स्पिन चल्नुपर्थ्यो । ललित र सन्दीप दुवै हुँदा एकले अर्कोलाई कम्प्लिमेन्ट गर्थे । आज त्यो भएन ।

रोहित पौडेलले आज पनि आफ्नो कप्तानीमा प्रश्न उठाउन धेरै ठाउँ छोडे । उनले आज दीपेन्द्रसिंह ऐरीलाई बलिङमै उतारेनन् । दीपेन्द्र नेपालका किफायती बलरमात्र होइन, विकेट टेकर पनि हुन् । यदाकदा नचल्नु छुट्टै कुरा हो । तर, उनी ढुक्कले ४ ओभर बलिङ गर्न सक्ने बलर हुन् ।

तर, खोइ किन हो, कप्तान पौडेलले प्रायः उनको बलिङमा भरोसा गरेको पाइँदैन । अघिल्लो खेलमा पनि उनले दीपेन्द्रलाई एक ओभरमात्रै दिएका थिए । आज त त्यो पनि दिएनन् । सन्दीप नहुनु, ललित नचल्नु र दीपेन्द्रलाई क्याप्टेनले बल नदिनु नै आज नेपालको हारको प्रमुख कारण हो भन्दा फरक नपर्ला ।

-चिरञ्जीवी पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *