पाकिस्तान २७० रनमा अलआउट, बाबर र सकिलको अर्धशतक
नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय विश्वकपअन्तर्गत शुक्रबार भइरहेको खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गरेको पाकिस्तान २७० रनमा अलआउट भएको छ ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर २७० रन जोड्यो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र साउद सकिलले ५२ रन बनाए । सदाब खानले ४३, विकेटकिपर मोहम्मद रिजवानले ३१, मोहम्मद नवाजले २४ र इफ्दिखर अहमदले २१ रन बनाए ।
दक्षिण अफ्रिकाका तब्राइज साम्सीले ४ र मार्को जान्सेनले ३ विकेट लिए । जेरार्ल्ड कोएट्जीले पनि २ विकेट हात पारे ।
पाकिस्तानले अन्तिम ५ विकेट ४५ रनका लागि गुमाएको थियो । सदाब खान छैटौं विकेटका रुपमा आउट भएपछि पाकिस्तान सम्हालिन सकेन । त्यसअघि सदाब र सकिलबीच छैटौं विकेटका लागि ८४ रनको साझेदारी भएको थियो ।
अंक तालिकामा पाकिस्तान ५ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा छ । समान खेलबाट ८ अंक भएको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।
शीर्ष चारको सम्भावना कायम राख्न पाकिस्तान दबाबमा देखिएको छ । पाकिस्तानसहित तीन टोलीको ५ खेलबाट ४ अंक रहेको छ । प्रतियोगितामा भारतले एक खेल पनि नहारी १० अंक जोडेको छ ।