कलाकार प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख
पोखरा । घाँस काट्ने क्रममा लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा केही सुधार आएको छ । मणिपाल शिक्षण अस्पतालका मेसु डाक्टर अभिषेक मास्केका अनुसार घिमिरेको स्वास्थ्यमा शुक्रबारभन्दा शनिबार केही सुधार आएको हो ।
घिमिरेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । अहिले घिमिरेको होस् आएको र दोहोरो कुराकानी समेत भएको मेसु डाक्टर मास्केले बताए ।
‘हिजोभन्दा अहिले उहाँ (प्रकाश) को स्वास्थ्यमा सुधार भएको छ । अहिले प्रेसर पनि ठिक छ । आज सिटिक्यान गरिएको हो । त्यसमा पनि थप केही देखिएको छैन । मैले नै उहाँसँग कुरा गरेको थिए । दोहोरो कुरा गर्नुभयो । कुरा स्पष्ट नै छ,’ डाक्टर मास्केले भने, ‘भित्रि चोटपटक लागेकाले आइसियुमा उपचार भइरहेको छ ।’
शुक्रबारभन्दा शनिबार घिमिरेको स्वास्थ्यमा सुधार भएपनि आइसियुमै राखेर उपचार भइरहेको मास्केले बताए । उनले भने, ‘आइसियुबाट ननिकालिएसम्म केहि भन्न सक्ने अवस्था छैन । तर, हिजोभन्दा धेरै सुधार भएको छ ।’
पोखरा महानगरपालिका ३ नदीपुरका प्रकाश शुक्रबार बिहान छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिक घर नजिकको भिरबाट घाँस काट्ने क्रममा लडेर घाइते भएका हुन् । अस्पतालका अनुसार प्रकाशको टाउको र ढाडमा चोट र छातीको करङ भाँचिएर फोक्सोमा छोएको छ ।
पोखरा नदिपुरको कन्या माध्यमिक विद्यालयमा ३७ वर्ष शिक्षण गराएका प्रकाशले त्यहाँबाट अवकाश भएपछि अभिनय क्षेत्रमा सक्रिय छन् । उनी अभिनित चलचित्र भष्मे डन अहिले देशैभर प्रर्दशन भइरहेको छ । उनले पशुपति प्रसाद, फन्को, जात्रा, टलकजंग भर्सेस टुल्के, पञ्चेबाजा, दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन् ।