१० तस्बिरमा हेर्नुस् सानेपामा शीर्ष नेताको जमघट
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा दलका शीर्ष नेताहरू पुगेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतका नेता सहभागी भएका छन् ।
मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरूप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिइनेछ ।’
त्यस्तै प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछानेलगायतका नेता-कार्यकतार् पनि कार्यक्रममा पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताएका छन् ।
‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ‘, उनले भने ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले १८ वर्षसम्म पुग्दा पनि शान्ति प्रक्रिया, द्वन्द्व व्यवस्थापन तथा संक्रमणकालीन न्यायका कार्यहरूलाई टुंग्याउन ढिलो भएको उनले बताए ।
चियापानमा पुगेका रास्वपा सभापति रवि लामिछानेले आफूहरूको प्रतिस्पर्धा कुनै पनि राजनीतिक दलहरूबीच नभएको बताए ।
‘हामीले लड्नुपर्ने विषय भनेको देशको गरिबी हो, भ्रष्टाचार हो’, उनले भने, ‘हाम्रा शत्रु साझा छन् । राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो । अरु बेला भनेको देशका अन्य विषयहरु साझा हुन् ।’
चियापान कार्यक्रमका अन्य तस्बिरहरू :