गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० हुने, मेलामा जानेको खाता खोलेर ३ सय जम्मा गरिदिने
काठमाडौं । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० हुने भएको छ । फ्लोरिकल्चर एशोसियसन (फ्यान) ले २०५१ सालदेखि नै पुष्प व्यवसायको व्यवसायिक विकास, विस्तार तथा प्रवर्द्धनका लागि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
तिहार पर्व नजिकिँदै गर्दा घर आगन बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन मेला आयोजना गरेको फ्यानले बताएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० कात्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदानमा हुनेछ ।
यस प्रदर्शनीमा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ५ गरी जम्मा ६२ वटा प्रदर्शनी कक्षहरु रहने छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराइ पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।
गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
मेला अवधि भर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शून्य मौज्दातमा खाता खोली ३ सय खातावालाको नाममा कृषि विकास बैंकले जम्मा गरि दिने छ । साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसूकै फूल खरिदमा १० प्रतिशत छुट पाउने छन् ।
आर्थिक वर्ष ०७९/८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८.१८ लाख र आयात तर्फ भने, ३३ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ ।