ल्हासाका नेपालीको कथामा बनेको वृत्तचित्र चिनियाँ अवार्डमा प्रथम
विजेता तुलाधार भन्छन्- धन्यवाद तिब्बत सरकार
बेइजिङ । ल्हासाका नेपाली व्यवसायीको कथामा आधारित एक वृत्तचित्र चीनमा प्रथम भएको छ । माइ चाइना स्टोरी अर्थात् मेरो चीन कथामा आधारित वृत्तचित्र प्रतियोगितामा भाग लिएका हजारौँ सहभागीहरुमा नेपाली व्यवसायीको कथा प्रथम भएको हो ।
ल्हासामा झण्डै चार दशकबाट व्यवसाय गरेर बसेका रत्नकुमार तुलाधरको कथा प्रथम भएको हो । पुरस्कार पाएसँगै उनी हनान प्रान्तको राजधानी चङ्चौँ आएर पुरस्कार पाएका हुन् । पुरस्कार लिन जाँदा उनी ढाकाटोपी लाएर पुगेका थिए ।
दशैँको टीकाको दिन अर्थात् अक्टोबर २४ को दिन पुरस्कार लिन पुगेका उनी पुरस्कारसँगै अरु मेजमान र घुमघाम सकेर हप्ता दिनमा ल्हासा फर्किएका छन् । विश्वभरका पाँच हजार वृत्तचित्रमा उनको ‘अङ्कल कुमार इन ल्हासा’ नामक वृत्तचित्र प्रथम भएको हो । काठमाडौंका रैथाने उनी चार दशकदेखि निरन्तर ल्हासामा बस्दै आएका छन् । उनको त्यही ल्हासा बसाईको कथाकै वृत्तचित्र प्रथम हुन पुगेको हो ।
ल्हासाबाट हनान आएर उनले पुरस्कार पाएपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘मेरो जिन्दगीमा समाचार र भिडियो त धेरै बने । तर, डकुमेन्ट्री बनाएर पहिलो पुरस्कार पाएको चैँ यहि पहिलो हो । ठूलो सपना पूरा भएको छ ।’
सन २०१८ बाट सुरु भएको माइ चाइना स्टोरीको पाँचौँ संस्करणमा आएर तुलाधर प्रथम भएका हुन् । उनको ह्लासाबाट हनान हवाईयात्रादेखि सबै व्यवस्थापन तिब्बर सरकारले गरेको हो । डकुमेन्ट्री पनि तिब्बत सरकारले नै बनाएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘माइ चाइना स्टोरीको प्रतियोगिता भएको थाहा पाएपछि उनीहरुले (तिब्बत सरकारका प्रतिनिधिहरु) ले नै बनाएको हो सबै । पठाराखौँ बनाएर बनाएको प्रथम भयो’, उनी थप्छन्, ‘यो सबै अर्गानाइज तिब्बत सरकारले गरेको । मेरो चाहिँ यहाँ बसेको लाइफको डकुमेन्ट्री बनाएको । बनाएर कम्पिटिसनमा पठाएको । र, त्यहि फस्ट आएको ।’
गत सेप्टेम्बरमा उनका किस्ता-किस्ताका भिडियो खिचिएको थियो । ल्हासाको भाकोर सडकको पसल, ल्हासाको पिकनिक क्षेत्र, सडक र अरु बजारका विभिन्न क्षेत्रहरुमा पुगेर उनको भिडियो खिचिएको थियो । उनी पुरस्कार पाएकोमा भगवानलाई सम्झेर तिब्बत सरकारसँग आभारी भएको बताउँछन् । भन्छन्, ‘धन्यवाद तिब्बत सरकार ।’