गुल्मीमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने अन्य क्षेत्रका सुरक्षाकर्मीसहित १२ जना पक्राउ – Nepal Press

गुल्मीमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने अन्य क्षेत्रका सुरक्षाकर्मीसहित १२ जना पक्राउ

रूपन्देही । गुल्मीमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गर्ने अन्य क्षेत्रका सुरक्षाकर्मीसहित १२ जना युवाहरू पक्राउ परेका छन् । प्रहरीका अनुसार मालिका गाउंपालिका ४ अर्खबाङमा सराए सकिएपछि मादक पदार्थ सेवन गरेर झगडा गरेका युवाहरुलाई छुट्याउने क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो ।

प्रहरीमाथि आक्रमणमा लाग्ने युवाको समूहमा भारतीय तथा नेपाली सेना र प्रहरीमा रहेका ५ जनासमेत जोडिएपछि यो विषय थप पेचिलो बनेको हो ।

उनीहरूको आक्रमणमा परी प्रहरी चौकी अर्खबाङका प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहा र अर्का एक हवल्दार घाइते भएका छन् । घाइते प्रहरीलाई थप उपचारको लागि भैरहवा लगिएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मालिका गाउंपालिका ३ का ३९ वर्षीय सन्त बहादुर थापा, २४ वर्षीय अनिल थापा, १९ वर्षीय विशाल थापा, २२ वर्षीय विकल्प थापा, ३३ वर्षीय नरेन्द्र थापा रहेका छन् ।

त्यसैगरी, वडा नम्बर ३ कै ३१ वर्षीय भरत थापा, ४२ वर्षीय नारायण पाण्डे, १९ वर्षीय विपिन थापा, ३३ वर्षीय गुञ्ज बहादुर थापा रहेका छन् । त्यस्तै, मालिका गाउंपालिका वडा नम्बर २ निवासी २७ वर्षीय केशव खड्का, वडा नम्बर ८ निवासी २० वर्षीय साहिल जिसी र रुपन्देही तिलोत्तमा र ११ घर भई हाल मालिका गाउंपालिका वडा नम्बर ६ मा डेरा गरी बस्ने २४ बर्षीय अनिल ठकुरी रहेका छन् ।

उनीहरुमाथि सार्वजनिक शान्ति विरूद्दको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनीहरूमध्ये कुन कुन सेना प्रहरीका हुन् भन्ने विषय प्रहरीले खुलाउन चाहेको छैन ।

घटना कात्तिक १० गते राति भएपनि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मात्रै १२ गते सांझ मात्रै सूचना दिएको छ ।

सो घटनाको विवाद मादक पदार्थकै कारणबाट भएको र ती मध्ये एक जवानले आफू प्रहरी निरीक्षक भएको बताएपछि विवाद बढेकाले जिल्ला प्रहरीले आन्तरिक रूपमै मिलाउने प्रयास गरेको थियो तर घाइते प्रहरी थप उपचारका लागि बाहिर पठाउन परेपछि यो विषय बाहिर आएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर