चोटका कारण पहिलो म्याचमा छुटे ‘टाइगर’- विवेक यादवलाई मौका
काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरी अनुपस्थित भएका छन् । उनी चोटका कारण सिंगापुरविरुद्धको म्याचमा मैदानमा उत्रिन नसकेका हुन् ।
क्यान स्रोतका अनुसार वार्मअपका क्रममा दीपेन्द्रको खुट्टा मर्किएको थियो । त्यसैले अन्तिम समयमा उनी मैदानबाहिर हुनुपर्यो । उनलाई चिकित्सकले हेरिरहेका छन् । उनको चोट गम्भीर नरहेको र अर्को म्याचमा फर्किन सक्ने सम्भावना रहेको बताइएको छ ।
दीपेन्द्र नेपालका सर्वाधिक महत्वपूर्ण खेलाडी हुन् । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा नेपाललाई उनको अभाव खट्किन सक्छ । आज दीपेन्द्रको स्थानमा युवा अलराउन्डर विवेक यादवलाई टीममा समावेश गरिएको छ । उनी मध्यक्रममा ब्याटिङ गर्छन् भने मध्यम गतिको बलिङ गर्छन् । यद्यपि, आजको म्याचमा कप्तानले उनलाई अहिलेसम्म बलिङमा प्रयोग गरेका छैनन् ।