विश्वकप क्वालिफायरमा नेपाललाई चोट- दीपेन्द्रले सबै खेल गुमाउने – Nepal Press

विश्वकप क्वालिफायरमा नेपाललाई चोट- दीपेन्द्रले सबै खेल गुमाउने

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपालले सिंगापुरविरुद्ध विजयी सुरुवात गर्‍यो । तर, सँगसँगै नेपाली टीमलाई ठूलो धक्का लागेको छ । टीमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी चोटका कारण केही दिन मैदान बाहिर हुने भएका छन् ।

दीपेन्द्र आजको म्याचअघिसम्म सकुशल थिए । उनलाई प्लेइङ ११ मा समेत समावेश गरिएको थियो । टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लाग्यो । त्यसपछि उनले खेल्न सकेनन् । दीपेन्द्रको स्थानमा हतारमा विवेक यादवलाई टीममा समावेश गरिएको थियो । यद्यपि, विवेकले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन् ।

घाइते भएपछि दीपेन्द्रलाई टीयु ग्राउन्डबाट मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षणको रिपोर्ट सुखद नआएको स्रोतले बताएको छ । डाक्टरहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्य परिक्षणपछि उनी वैशाखी टेकेर अस्पतालबाट टीयु ग्राउन्ड आएका थिए । अहिले भीआईपी बक्समा अन्य खेलाडीसँगै ओमान र मलेसियाको म्याच हेरिरहेका छन् ।

विश्वकप क्वालिफायर एक हप्तामात्र चल्ने प्रतियोगिता हो । दीपेन्द्रको खुट्टा ठीक हुन केही समय लाग्ने भएकाले उनले पूरै प्रतियोगिता गुमाउने देखिएको छ । यस विषयमा नेपाल क्रिकेट संघले आजै औपचारिक जानकारी गराउने छ ।

दीपेन्द्र टीममा नहुनु नेपालका लागि निकै ठूलो क्षति हो । उनी बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा अब्बल छन् । टी-२० मा नेपालका सर्वाधिक सफल ब्याट्सम्यान हुन् उनी । पछिल्लो समय उनको ब्याटिङ फर्म उत्कृष्ट थियो । टीममा दीपेन्द्रको सहज रिप्लेसमेन्ट छैन । नेपालको लागि निकै महत्वपूर्ण प्रतियोगितामा दीपेन्द्रको चोटले नेपाललाई नै ठूलो चोट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *