सांसद भट्टचनले एक वर्षअघि नै बेचेको प्रभु बैंकको शेयरको अहिले किन भयो चर्चा ? – Nepal Press

सांसद भट्टचनले एक वर्षअघि नै बेचेको प्रभु बैंकको शेयरको अहिले किन भयो चर्चा ?

काठमाडौं । अहिले शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । देशको अर्थतन्त्र नै समस्यामा छ । शेयर बजार १ हजार ९ सयभन्दा तल झरेको छ ।

यस्तै बेला सांसद देवीप्रसाद भटट्चनले प्रभु बैंकको संस्थापक शेयर बिक्री गरेको भन्दै चर्चामा आएको छ । तर, प्रभु बैंकका पूर्वअध्यक्ष सांसद भट्टचनले भने एक वर्षअघि बिक्री गरेको शेयरको चर्चा अहिले आएर भएको बताए ।

उनले भने, ‘अहिले शेयर बजार घटेको छ । यस्तो बजार घटेको बेला बैंकको शेयर बिक्री गर्ने कुरा नै हुँदैन । एक वर्षअघि नै बिक्री गरेको शेयर अहिले बिक्री गरेको भनेर हल्ला भएको हो । लगानीकर्ताले आफ्नो लगानी कुनै क्षेत्रबाट अर्को क्षेत्रमा लगाउने कुरा सामान्य नै हो । अहिले प्रभु बैंकको शेयर बिक्री गरेको भन्ने हल्ला गलत हो ।’

भटट्चनले एक वर्ष पहिले करिब १ करोड कित्ता शेयर बिक्री गरेको नेपाल प्रेससँग बताए । उनीसँगै ग्रुपको प्रभु बैंकमा अझै एक करोड कित्ताभन्दा धेरै संस्थापक शेयर रहेको भट्टचनले बताए ।

उनले बिक्री गरेको बैंकको शेयर इन्स्योरेन्स कम्पनीले किनेको थियो । उनले १ करोड कित्ता सेयर प्रतिकिता २०० रुपैयाँसम्ममा बिक्री गरेका थिए ।

भटट्चनको बैंक, ट्राभल, बीमा, डिसहोम, हेलिकप्टर कम्पनी र इन्भेष्टमेन्ट कम्पनीलगायतमा लगानी रहेको छ । उनले प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका उनले अन्य व्यवसायसमेत विस्तार गर्दै आएका छन् ।

पछिल्लो समय बैंकको संस्थापक शेयर बिक्री गर्नेहरुको संख्या बढ्दै गएको छ । शेयर बजार निरन्तर घटिरहेको बेला संस्थापक शेयर बिक्री गर्नेहरु बढेको हो ।

आर्थिक मन्दीको कारणले अहिले बैंकिङ क्षेत्रलाई व्यवसायीहरुले ठूलो मिटरव्याजीको आरोप लगाइरहेका छन् । व्यवसायीहरुले बैंकविरुद्ध आन्दोलनसमेत गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर