नेपालको जलविद्युतमा लगानी भित्र्याउन बेलायतमा लगानी सम्मेलन हुँदै – Nepal Press

नेपालको जलविद्युतमा लगानी भित्र्याउन बेलायतमा लगानी सम्मेलन हुँदै

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने उद्देश्यले बेलायतमा लगानी सम्मेलन गरिने भएको छ ।

मंगलबार नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धिको १०० वर्ष पूरा भएको अवसर पारेर लगानी सम्मेलन आयोजना गरिएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

विशेषगरी बेलायतबाट नेपालमा जलविद्युत, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसमेतको सहयोगमा लगानी सम्मेलन गर्न लागिएको हो ।

सिटी अफ लण्डनको मेनसिन हाउसमा मंगलबार हुने लगानी सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी हुँदैछन् ।

नेपाली दूतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधिमण्डलले नेपालको जलविद्युतलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीको सम्भावना र व्यवसायिक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ ।

उक्त सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरु, सम्बन्धित सरकारी निकायहरु एवं संस्थागत वित्तीय स्रोतहरु उपलब्ध गराउने संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर