गौतम बुद्ध विमानस्थलमा नियमित उडानको माग गर्दै व्यवसायीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण – Nepal Press

गौतम बुद्ध विमानस्थलमा नियमित उडानको माग गर्दै व्यवसायीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

अनसनदेखि नाका बन्दसम्मका आन्दोलन घोषणा

रुपन्देही । उद्घाटनको डेढ वर्षसम्म रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन नसकेपछि यहाँका व्यवसायी पुनः आन्दोलित भएका छन् । राज्य र निजी क्षेत्रको अर्बौं लगानी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा डुब्न लागेको भन्दै व्यवसायी आन्तरिक उडान तथा सीमा नाकामा अवरोध गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् ।

यहाँ विमानस्थल निर्माण मुआब्जासहित ४० अर्बभन्दा माथि सरकारी रकम खर्च भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको व्यवसायीको भनाइ छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै यहाँका विभिन्न ३२ वटा संस्थाले संयुक्तरूपमा आन्दोलनको घोषणा गरेका हुन् । रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको उनीहरूको भनाइ छ ।

३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । सञ्जालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेको उनले बताए । व्यवसायीले पर्यटनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष पाण्डेको पनि ध्यानाकर्षण गराएका छन् ।

सञ्जालले १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटी आन्दोलनमा ऐक्यबद्धताका लागि आग्रह गर्ने तयारी गरेका छन् ।

यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने र नियमित उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण र्‍याली गर्ने कार्यक्रम पनि तय गरिएको छ । आन्दोलनका कार्यक्रममा दुई दिन विमानस्थलको गेट अगाडि धर्ना दिने र त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २५ पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने तयारी रहेको सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।

यो पनि पढ्नुस् : गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै व्यवसायीको आन्दोलन

सञ्जालका उपाध्यक्ष सीपी श्रेष्ठले संघीय राजधानी काठमाडौंका केही व्यवसायीले निहीत स्वार्थका लागि योजनाबद्धरूपमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नदिएको आरोप आरोप लगाए ।

महासचिव सञ्जय बजिमयले विमानस्थललाई लक्षित गरी ठूला होटेलमा अर्बौं लगानी भए पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा व्यवसाय संकटमा परेको र सरकारले व्यवसायीका मागप्रति बेवास्ता गर्दा व्यवसायीलाई थप पीडा भएको बताए ।

२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । उद्घाटनकै दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरलाइन्सले केही समयपछि नै उडान रोकेको छ । यस्तै, केही समय चार्टर्ड उडान भरेको हिमालय एयरले पनि उडान रोकेको छ । अहिले नेपाल एयरलाइन्सले सातामा एउटामात्र उडान गर्दै आएको छ ।


प्रतिक्रिया

One thought on “गौतम बुद्ध विमानस्थलमा नियमित उडानको माग गर्दै व्यवसायीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

  1. प्रचण्डलाई यस्तो कुरामा कहाँ ध्यान छ र ? उनलाई त आदेश पालना गर्ने, कमाउँने र आदेश बमोजिम एमाले कमजोर बनाउँदैमा फुर्सद छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *