श्रीमतीलाई बन्चरोले हानेर हत्या गरे, त्यसपछि आफू झुन्डिए
पोखरा । स्याङ्जा प्रहरीलाई मङ्गलवार बिहानै एउटा सूचना आयो- एक पुरुष मृत फेला परे । सूचना अनुसार प्रहरी बिहान साढे ६ बजे सो ठाउँमा पुग्यो । त्यहाँ पुग्दा घरअगाडि डोरीले पासो लगाएको अवस्था एक पुरुष मृत थिए भने अर्की एक महिला घरभित्र रक्ताम्मे अवस्थामा भेटिइन् ।
यो घटना स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ खासाको हो । खासाका ४९ वर्षीय देवबहादुर विक झुन्डिएको अवस्थामा र उनको श्रीमती पार्वती घरको कोठाभित्र भुईँमा उत्तानो अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार देवबहादुर राङसिङको रुखमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा र पार्वती घाँटीमा बन्चरोले हार्नको चोट रहेको मृत फेला परेका हुन् ।
एक जना डोरीले पासो लगाएको र एक जना बन्चरोको चोटपटक लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पहलसिंह लामाले बताए । ‘एक जना मृत फेला परेको सूचना अनुसार हामी घटना स्थलमा पुगेका थियौँ । तर, त्यहाँ २ जना ९श्रीमान्, श्रीमती० मृत फेला पर्नुभयो । एक जना डोरीले पासो लगाएको अवस्थामा र एक जना बन्चरोको चोटपटक लागेको अवस्थामा मृत फेला पर्नुभएको थियो,’ उनले भने ।
घटनाको प्रकृति हेर्दा र छोरी र गाउँलेसँग बुझ्दा हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पहलसिंह लामाले बताए ।
‘घरमा उहाँहरूबाहेक एक जना छोरी मात्रै हुनुहुँदो रहेछ । उहाँ(छोरी) सुतिसकेपछि यो घटना घटेको देखिन्छ,’ उनले भने, ‘छोरी र गाउँलेसँग हामीले बयान लिएका थियौँ । प्रारम्भिक अनुसन्धानबाट श्रीमानले पहिले श्रीमती हत्या गरेर आत्महत्या गरेको देखिन्छ ।’
प्रहरीका अनुसार ती श्रीमान् श्रीमतीबिच पहिलेदेखि नै झगडा हुँदै आएको थियो । श्रीमानले मापसे गर्ने र श्रीमतीसँग झगडा भइरहने गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक लामाले भने, ‘श्रीमानले पहिले नै मापसे गर्दै आएका रहेछन् । पहिलेदेखि उनीहरूबिच झगडा पर्दै आएको थियो ।’
पहिला पनि झगडा परिरहने र आमाले बन्चरो लुकाउने गरेको छोरीले बयान दिएको प्रहरी निरीक्षक लामाले बताए ।
पार्वतीको शरीरमा बन्चरोको डामहरूसमेत देखिएको प्रहरी निरीक्षक लामाको भनाइ छ । ‘घटना हेर्दा पार्वतीको हत्या नै भएको देखिन्छ । शरीरका बन्चरोका डामहरू देखिएकाले बन्चरो घटना स्थलमा देखिएकाले हत्या नै भएको पुष्टि हुन्छ,’ उनले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौँ ।’
देवबहादुर र पार्वतीका ६ सन्तान छन् । तर, घटना हुँदा ५ जना सन्तान घरबाहिर थिए ।
उनीहरूसँग १४ वर्षीया छोरी घरमा थिइन् । छोरी सुतिसकेपछि यो घटना घटेको प्रहरी अनुसन्धानबाट देखिएको छ । ‘६ छोराछोरीमध्ये १ जना मात्रै घरमा रहिछन् । ती पनि सुतेपछि यो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ प्रहरी निरीक्षक लामाले भने ।
साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमाबुवा नउठेको देखेपछि झस्किएकी थिइन् । त्यसपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुन्डिरहेको देखेपछि उनी छाँगाबाट खसेजस्तो भएको थियो ।
देवबहादुर र पार्वतीका बिचमा यसअघि पनि बेला बखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र हिजो (सोमबार) साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको प्रहरी निरीक्षक लामाले सुनाए ।