जारी विश्वकपमा क्वीन्टन डि ककको चौथो शतक, तोड्लान् रोहितको कीर्तिमान ?
काठमाडौं । दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डि ककले भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो चौथो शतक पूरा गरेका छन् । एउटै विश्वकपमा चार शतक हान्ने उनी दोस्रो ब्याट्सम्यान हुन् ।
एउटै विश्वकपमा सर्वाधिक शतक हान्ने कीर्तिमान भारतका रोहित शर्माको नाममा छ । सन् २०१९ का विश्वकपमा उनले ५ शतक प्रहार गरेका थिए । उनको रेकर्ड तोड्ने अवसर डि ककसँग छ । दक्षिण अफ्रिकाले समूह चरणमा दुई खेल खेल्न बाँकी छ भने सेमिफाइनलको सम्भावना पनि बलियो छ । तीन खेलमा दुई शतक निकाल्न सकेमा डि ककले रोहितलाई पछि पार्नेछन् ।
जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा डि कक पहिलो नम्बरमा छन् । ५५० भन्दा बढी रन बनाइसकेका उनी कुनै पनि विश्वकपमा सर्वाधिक रन बनाउने दक्षिण अफ्रिकन ब्याट्सम्यान पनि बनेका छन् । यसअघि दक्षिण अफ्रिकी ब्याट्सम्यानले एउटै विश्वकपमा ५०० रन बनाएका थिएनन् ।
श्रीलंका विरुद्धको पहिलो खेलमा नै १०० रन बनाएर डि ककले आफ्नो विश्वकप यात्रा सुरु गरेका थिए । लगत्तै उनले अष्ट्रेलियाविरुद्धको म्याचमा दोस्रो शतक हाने । नेदरल्यान्ड्विरुद्ध उनले २० रन मात्रै जोड्न सके ।
ईंग्ल्यान्डविरुद्ध पनि डि ककको ब्याट चलेन । केवल ४ रन बनाएर आउट भए । त्यसपछिका बंगलादेशविरुद्ध उनले विष्फोटक ब्याटिङ गर्दै १७४ रनको इनिङ खेले जुन जारी विश्वकपमा एउटै म्याचमा कुने पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । पाँचौं म्याचमा पाकिस्तानविरुद्ध उनी २४ रनमा आउट भए । आज फेरि न्यूजिल्यान्ड विरुद्ध उनले चौथो शतक पूरा गरेका छन् ।