सकियो नेपाल लाइफको एक दिवसीय ‘बिजनेश रिभ्यु मीट’
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘बिजनेश रिभ्यु मीट’ सकिएको छ ।
बुधबार कम्पनीले काठमाडौंमा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गर्न ‘बिजनेश रिभ्यु मीट’ गरेको हो ।
कार्यक्रममा कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्त बनाउन सम्पूर्ण प्रगतिका सहयात्रीहरुलाई हृदयदेखि धन्यवाद ज्ञापन गरे ।
कम्पनीको सेल्स टीम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्व भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
सशक्त सेल्स टीमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहुँचलाई आमनागरिकसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा अग्रवालले जोड दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालू आर्थिक वर्षको पहिलो त्रैमासको कार्य सम्पादनको लागि धन्यवाद दिए । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउन डिजिटलाइजेसनको कार्य थालनी गरिसकेको उनले बताए ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउन आग्रह गरे ।
नेपाल लाइफ मार्केट लिडर भएको कारण कम्पनीको जिम्मेवारी पनि अधिक रहेको र सोलाई मनन गर्दै कार्य सम्पादन गर्न उनले अनुरोधसमेत गरे ।