लुम्बिनीको मोन्लम पूजामा रमाउँदै भिक्षुहरु (भिडियो) – Nepal Press

लुम्बिनीको मोन्लम पूजामा रमाउँदै भिक्षुहरु (भिडियो)

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि तीन दिने प्राणिधान (मोन्लम पूजा)मा भिक्षुहरु ध्यानमग्न छन् । महायान परम्पराअनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा शुरु गरेको हो ।

संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ ।

बिहीबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा रिपोन्छे खेन्छेन पेमा शेर्पा, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र अन्य लामा गुरुहरुले यसैगरी मोन्लम पूजा गरिरहेका छन् । ६ वर्षदेखि विश्व शान्तिका लागि प्राणिधान अर्थात (मोन्लम पूजा)लाई यहाँ निरन्तरता दिइएको छ ।

बौद्ध धर्मको महायान परम्पराअनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघको आयोजना र लुम्बिनी विकास कोषको सहयोगमा शनिबारसम्म पूजा चल्नेछ । मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको रुखुमुनि विश्व शान्ति र मानव कल्याणको प्राथनासहित मोन्लम पूजा गरिएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीमा धार्मिक पूजालाई प्राथमिकता दिने गरी यो वर्षको पूजा शुरु भएको बताउँछन् ।

उनले बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि मोन्लम पूजाको महत्व रहेको बताए ।

भगवान बुद्धका उपदेशका पाठहरु गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व रहन्छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको कोषका सदस्य सचिव सानुराजा शाक्यको भनाइ छ ।

नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनीस्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ । बुद्ध जन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ वर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाको भनाइ छ ।

बौद्ध धर्मका अनुयायीहरुका लागि लुम्बिनीमा धार्मिक गतिविधि बढेको हेर्न चाहन्छन् । खासगरी लामा गुरुहरुको उपस्थितिमा मोन्लम जस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटन भित्र्याउन ठूलो सहयोग गर्छ । यो वर्षका लागि पूजा शुरु भएको बताउँदै नोभेम्बर र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने कोषले जनाएको छ । लुम्बिनीमा यस्ता गतिविधिले धार्मिक पर्यटकहरुलाई आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर