मूलपानी मैदानमा प्रशिक्षक मोन्टी र सन्दीपको भावुक आलिङ्गन (भिडिओ)
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराएपछि मैदानमा उत्सवको माहोल थियो । केहीबेर क्यामराको फोकस प्रमुख प्रशिक्षक मोन्टी देसाईतर्फ केन्द्रित भयो ।
नेपालको जीतपछि प्रशिक्षक देसाई मैदानभित्र प्रवेश गरे र खेलाडीहरुलाई बधाई दिन थाले । उनी पालैपालो खेलाडीहरुलाई अंगालो हाल्दै खुशी साटिरहेका थिए । कुशल मल्लसँग अँगालो हाल्दै केही फुस्फुसाए । गुल्सन झा र ललित राजवंशीसँग पनि उनी कस्सिएर अँगालिए । प्रतियोगितामा प्लेइङ ११ भित्र पर्न नसकेका ललितलाई उनले अंगालोमा कसेर हौसला दिएका थिए ।
त्यसपछि लाइनमा आए सन्दीप । प्रशिक्षक देसाई र सन्दीपको आलिंगन भने अलि फरक र भावुक देखियो । मोन्टीले सन्दीपलाई गम्लङ्ग अंगालो हालेपछि सन्दीप भावविह्वल बनेका थिए ।
एक हातमा स्टम्प बोकेका सन्दीपले सुरुमा मोन्टीलाई एक हातले मात्र अँगालो हालेका थिए । पछि स्टम्प छाडेर दुवै हातले मन्टीलाई आफूसँग कसे । निकैबेरसम्म सन्दीप प्रशिक्षकको अंगालोमा घोप्टिए । मोन्टी अगाडि बढ्न खोज्दा पनि सन्दीपले अंगालिरहेका थिए । मोन्टीले सन्दीपलाई केही भनेर सम्झाए । अनि बल्ल उनीहरु छुट्टिए ।
सन्दीप र मोन्टीको यो आलिंगनमा बेग्लै भावनात्मक सम्बन्ध मिसिएको छ । मोन्टी प्रमुख प्रशिक्षक बनेर नेपाल आउँदाखेरि सन्दीप भर्खरै कारागारबाट छुटेका थिए । गम्भीर अपराधको आरोप खेपिरहेको अवस्थामा नेपाल क्रिकेट संघले बोल्ड डिसिजन गर्दै सन्दीपलाई टीममा समावेश गरेको थियो । क्यानलाई यो निर्णय लिन सहयोगी बनेका थिए प्रशिक्षक मोन्टी । उनले ग्रीन सिग्नल नदिएको भए सायद सन्दीपलाई टोलीमा फर्काइहाल्न क्यानलाई सहज नहुन सक्थ्यो ।
त्यसबारे मोन्टीले सार्वजनिक रुपमा केही बोलेनन् । सन्दीपले व्यहोरेको आरोपका विषयमा उनले आजसम्म पनि केही बोलेका छैनन् । तर, सन्दीपको क्षमताको भने उनी विश्वस्त छन् । पत्रकार सम्मेलनमा पटक पटक सन्दीपको प्रशंसा गरेका छन् ।
मोन्टीको आगमन र सन्दीपको पुनरागमनपछि नेपालले विश्वकप लिग-२ का अन्तिम १२ मध्ये ११ वटा खेल जितेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको थियो । त्यसपछि एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा ठाउँ बनायो र भारत, पाकिस्तान जस्ता टोलीसँग पहिलो पटक खेल्न सफल भयो । यसमा प्रशिक्षकका रुपमा मोन्टीले र खेलाडीका रुपमा सन्दीपले निकै ठूलो योगदान दिएका छन् ।
शुक्रबार यूएईमाथि ८ विकेटको शानदार जीत हात पार्दै नेपाली टोली टी-२० विश्वकपमा पुगेको छ र अब इतिहासमा दोस्रो पटक टी-२० विश्वकप खेल्नेछ । यसमा पनि सन्दीपले आफ्नो भूमिका निभाए । उनले आज सेमिफाइनलमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए ।