पहिरोको जोखिममा रहेका खप्तड छेदेदहका हजार बढी परिवारमा भूकम्पको त्रास
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका ६ नैनाका ९ घर परिवार पहिरोको उच्च जोखिममा छन् । ती परिवारमा अहिले पहिरो सँगै भूकम्पको त्रास पनि बढेको छ ।
जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पले पुराएको क्षति पछि यहाँका नागरिकहरू थप त्रसित भएका छन् । असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएको गएको भूकम्पको त्रास भुल्न नपाउँदै जाजरकोट र रुकुम पश्चिमको घटनाले नागरिकहरू थप त्रसित भएका छन् ।
मार्तडी सिँगडा सडक खण्ड बिस्तारको क्रममा केही वर्ष देखि यहाँ निरन्तर पहिरो झरिरहेको छ। अहिले सम्म ५० बढी परिवार विस्थापित भइसकेका छन् । पहिरोको जोखिममा रहेका बस्तीमा भूकम्पले थप क्षति गर्न सक्ने भएको हुँदा उनीहरू त्रसित रहेको खप्तड छेदेदह वडा नम्बर ६ का अध्यक्ष हर्क विष्टले बताए ।
‘पहिरोले यहाँका नागरिक जोखिममा छन् । यस्तो बेला भूकम्प आयो भने ठुलो क्षति हुन सक्छ । त्यसैमाथि जाजरकोट र रुकुम पश्चिमको घटनाले उनीहरू थप त्रसित छन्, ’ वडाध्यक्ष विष्टले भने, ‘पहिरोको जोखिम र भूकम्पको त्रासले यहाँ बाट विस्थापित हुनेहरूको संख्या बढिरहेको छ ।’
खप्तड छेडेदह गाउँपालिका ६ स्थित नैना मात्रै होइन सुदडामा पनि त्यस्तै त्रास छ । नैनाका ७४ घर जोखिममा छन् ती मध्ये ३८ घर विस्थापित भइसकेको वडाध्यक्ष विष्टले जानकारी दिए । उनका अनुसार २४ घर सुदडा बाट कचलामा विस्थापित भइसकेका छन् ।
पछिल्लो केही वर्ष देखी निरन्तर पहिरो गइरहेको छ । अहिले झरी नपर्दा रोकिएको पहिरो मुनि सयौँ घर परिवार बसिरहेका छन् । यस्तो अवस्थामा सामान्य भूकम्प जाँदा पनि ठूलो क्षति हुन सक्ने भन्दै उनीहरू चिन्तित छन् ।
नैनाका प्रेम बहादुर विष्टले तीन वर्ष लगाएर बनाएको पक्की घर अघिल्लो वर्षको पहिरोले सामान्य क्षति पुराएको थियो । असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएको गएको भूकम्पले उनको बाकी रहेको घर पूर्ण रूपमा क्षति पुराएको छ । उनी अहिले आफन्तको घरमा आश्रित भएर बसेको बताउँछन् ।
‘पहिरोले त सामान्य क्षति पुराएको थियो । भूकम्पले बस्नै नहुने बनाइदियो ’ उनले भने ‘केही दिन त्रिपालमुनि बसे। अहिले आफन्तको घरमा बसिरहेको छु ।’ बिस्टको जस्तै त्रास यहाँका सबै जस्तो पहिरो प्रभावित क्षेत्रका नागरिकको छ ।
नैनामा ४०० सय बढी विद्यार्थी पढ्ने जाल्पादेबी माध्यमिक विद्यालय र ब्रमदेब आधारभूत विद्यालय पनि पहिरो र भूकम्प दुवैको चपेटामा परेको छ । त्यस वरपरका केही घरहरू पहिरो बाट विस्थापित भइसकेका छन् भने जोखिममा रहेका घरहरूमा पहिरो र भूकम्प दुवैको त्रास छ ।
७ वडा मध्ये ४ वडाका विभिन्न क्षेत्र पहिरो र भूकम्पको जोखिममा छन् । सबै भन्दा धेरै ३ नम्बरको धनालत , टुनिसेन४ को गुइबन लिसाना, ५ को डोहडी पार्तोला र ७ गुम्ला गाउँ पहिरोको उच्च जोखिममा छन् । यहाँका करिब १ हजार बढी घर परिवार जोखिममा रहेको गाउँ पालिका अध्यक्ष दिलबहादुर रावतले बताए । उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा वर्षमा पहिरोको त्रास र हिजो आज भूकम्पको त्रास हुन गरेको बताउँछन् ।
ती क्षेत्रमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही लगाएतका जन जनप्रतिनिधिहरूले निरीक्षक गरेका छन् । निरीक्षक गर्न पुगेका मन्त्री लगाएको टोलीलाई प्रभावित क्षेत्रका नागरिकहरूले आफूहरूको दिगो व्यवस्थापन गर्न माग गरेका थिए । मन्त्री शाहीले समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए ।
‘सुदूरका पहाडी जिल्ला धेरै क्षेत्र पहिरोको जोखिममा छन् । ती क्षेत्रमा भूकम्प आए ठुलो क्षति हुने चिन्ता हामीलाई पनि छ’ मन्त्री शाहीले भने ‘प्रदेश सरकारले पहिरो नियन्त्रणका कामहरू गरिरहेको छ । भूकम्प प्रतिरोधी घर निर्माणको लागि पनि हामी नीति तयार गरिरहेका छौँ। ’