भूकम्पको इपिसेन्टर बारेकोटका अध्यक्ष भन्छन्- कुनै घर सद्दे छैनन्, चिसोमा कठ्यांग्रिएका जनतालाई गाँसबासको समस्या – Nepal Press

भूकम्पको इपिसेन्टर बारेकोटका अध्यक्ष भन्छन्- कुनै घर सद्दे छैनन्, चिसोमा कठ्यांग्रिएका जनतालाई गाँसबासको समस्या

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ११ जिल्ला प्रभावित भएका छन् ।

जाजरकोट, रुकुम पश्चिम सबै भन्दा बढी प्रभावित भएको छ भने रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान सम्म भूकम्पले प्रभाव पारेको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । यति ठूलो भूकम्पको केन्द्रबिन्दु जाजरकोट बारेकोट हो । बारेकोटका अधिकांश घरहरूमा क्षति पुगेको छ ।

‘यहाँ सद्दे घर छैनन्, धेरै भत्किएका छन् चर्किएका घरहरू पनि कति बेला भत्किने हुन् पत्तो छैन’ गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी भन्छन्, ‘यहाँ मानवीय क्षति भएन तर, भौतिक क्षति ठुलो भएको छ । ’

यहाँ अहिले पन्ध्र सय बढी परिवार खुल्ला आकाशमुनि बस्न बाध्य छन् । उनीहरूलाई सबै भन्दा ठुलो समस्या छ । भएको खाद्यान्न र लत्ता कपडा भूकम्पले पुरिएपछि चिसोमा कठ्याङ्ग्रिँदै रात काट्नु परेको भूकम्प पीडितहरूको पीडा छ । अध्यक्ष गिरिका अनुसार करिब १०० वटा घर पूर्ण रूपमा भत्केका र ४०० भन्दा बढी घरहरू चर्किएका बताए ।

‘गाउँपालिका अधिकांश परिवार खुल्ला आकाशमुनि रात काटिरहेका छन् । उनीहरूको खाने र बस्नेको निकै समस्या भइरहेको छ’ अध्यक्ष गिरिले भने, ‘सबै भन्दा पहिले यहाँ गाँस र वासको प्रबन्ध गरिनु पर्छ ।’

शुक्रवार राति ११ः४७ मा बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि घर विहीन भएकाहरू अहिले सम्म पनि खुल्ला आकाशमुनि त्रास पूर्ण रूपमा बसिरहेका छन् ।

अहिले पनि पराकम्पनहरु आइरहेको हुँदा सामान्य क्षति भएका घरहरूमा पनि उनीहरू फिर्ता हुन नसकिरहेको अध्यक्ष गिरीले बताए । तत्काल पुनर्निर्माण कार्य अघि बढाउनु पर्नेमा गिरिको जोड छ ।

वडा नम्बर ३ का अध्यक्ष रामबहादुर सिंह तत्कालको लागि पाल, ओढ्ने र ओछ्याउने कपडाको आवश्यकता रहेको बताए । बस्न लायक कुनै घर नभएको सिंहले जानकारी दिए ।

‘धेरै क्षति छ । बाहिरबाट हेर्दा चर्किएको जस्तो देखिए पनि भित्र पुरै खत्तम छ’ उनले भने, ‘मान्छेहरू बाटोमा, बाझो जमिनमा, खेतको कान्लामा बसिरहेका छन् । घरबार विहीन भएकाहरूलाई चिसोले सताइरहेको बताए ।’

भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ५३ वर्षीया सुशीला घर्तीले तत्काल सरकारसँग आवश्यक राहतको अपेक्षा रहेको बताइन् ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् । प्रभावित क्षेत्रमामा सरुवा रोगको संक्रमण समेत बढ्न सक्ने खतरा बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *