प्रअ साह मृत्यु घटना : शिक्षकहरु पनि आन्दोलित, भोलि सिरहाका विद्यालय बन्द घोषणा
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक संजीव साह मृत फेला परेको विषयलाई लिएर शिक्षकहरुले आन्दोलन गर्ने भएका छन् ।
शिक्षकहरुका पेशागत संगठनहरुको संयुक्त बैठकले प्रधानाध्यापक साहको मृत्यु शंकास्पद रहेको भन्दै भोलि सिरहा जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । घटना गोलबजारमा भएकाले उक्त नगरपालिकाका विद्यालयहरु अनिश्चितकालीन बन्द गर्ने निर्णय पनि गरिएको छ ।
सत्य तथ्य निष्पक्ष छानविन गरी दोषी पत्ता लगाउन दबाब स्वरुप भोली जिल्लाभरका विद्यालय र गोलबजार नगरपालिकाका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको बैठकपछि शिक्षकहरुका आठ पेशागत संगठनका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यालयहरु बन्दगरी भोली विहान ११ बजे घटना भएको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालयमा हुने संघर्षका कार्यक्रममा उपस्थित हुन शिक्षकहरुलाई विज्ञप्तीमार्फत अपिल गरिएको छ ।
आइतवार बिहान करिब साढे ८ बजे प्रधानाध्यापक साह विद्यालयमा निर्माणधीन भवनको तेस्रो तल्लामा पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको दुवै खुट्टा तल भुईमा छोएकाले घटना शंकास्पद देखिएको छ । प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
मृतक प्रधानाध्यापक साह मिर्चैया नगरपालिका ६ का हुन् । उनको परिवारले घटना ढाकछोपको प्रयास भइरहेको भन्दै आज विहान मिर्चैयामा पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेको थियो ।
मृतक प्रधानाध्यापक साहकी पत्नी मिना कुमारीले हत्यालाई आत्महत्यामा परिणत गर्न खोजिएको आरोप लगाइन् । उनले न्याय नपाए आफू पनि आत्मदाह गर्ने चेतावनी दिएकी छन् ।