गणतन्त्र फ्याक्न आन्दोलन गर्छु, सरकारले ५० लाख रुपैयाँ दिनुपर्छ: दुर्गा प्रसाईं – Nepal Press

गणतन्त्र फ्याक्न आन्दोलन गर्छु, सरकारले ५० लाख रुपैयाँ दिनुपर्छ: दुर्गा प्रसाईं

‘प्रधानमन्त्रीलाई क्यूआर कोड पठाइसकेको छु, मन्त्रिपरिषदबाट निर्णय गराएर दिनुपर्‍यो’

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ ।

आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

प्रसाईंले भने, ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु । उहाँ मनको कमजोर हुनुहुन्छ । पक्कै दिनुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेताहरुसँग पनि पैसा माग्ने उनले बताए ।

‘ओली हजुरबासँग पनि ५० लाख रुपैयाँ माग्छु । शेरबहादुरसँग् पनि माग्छु । रवि लामिछानेले ५ लाखमात्रै दिँदा हुन्छ, उहाँले धेरै कमाउन भ्याउनुभएको छैन । मेरो नेतृत्वमा गणतन्त्र उल्टिन्छ’, प्रसाईंले भने ।

उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको अभियानले अघि सारेको छ ।

व्यवस्था परिवर्तन नभएसम्म लघुवित्त र सहकारीको पैसा अहिले नतिर्न उनले उर्दी जारी गरेका थिए ।

प्रसाईंले भने, ‘लघुवित्त र सहकारीको पैसा अहिले नतिर्नुस् । पहिले आन्दोलन सफल पारौं । व्यवस्था परिवर्तन गरौं । त्यसपछि देशका लागि के के गर्नुपर्छ सल्लाह गरौंला । अहिले चाहिं २० लाखभन्दा मुनिको गरिबको ऋण मिनाहा गर्नुपर्छ ।’

प्रसाईं सरकार र राजनीतिक दलहरुमाथि खनिएका थिए । खासगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनी बढी केन्द्रित भए । देशका समस्याहरु बिर्सेर ओली मोबाइलमा पब्जी खेलेर बस्ने गरेको उनको आरोप थियो ।

हिजो साइबर ब्युरोले बोलाएको प्रसंगमा उनले प्रहरी पनि कांग्रेस-एमाले बनेको टिप्पणी गरे ।

‘प्रहरीले मलाई दुर्गाजी हाम्रो पनि इज्जत राख्दिनुस् भने । हामीलाई एमालेको ठूलो दबाब छ भन्ने कुरा उनीहरुको थियो । मैले तपाईंहरु एमालेको पुलिस हो भनेर सोधें । पक्रिनुहुन्छ म आएको छु, पक्रिनुस् भनेर चुनौती पनि दिएर आएँ’, प्रसाईंले सुनाए ।

सबैलाई गाली गरेका उनले युट्युबरहरुको भने उच्च प्रशंसा गरे ।

‘पुलिस, पत्रकार, कर्मचारी सबै कांग्रेस, एमाले, माओवादी हुँदा रहेछन् । पत्रकार पनि कांग्रेस, माओवादी, एमाले हुन्छ ? यस्तो देशमा तपाईंहरुको उदय हुँदैन त युटुबर साथीहरुको । तपाईंहरु त कांग्रेस एमाले होइन राष्ट्रवादी हो । त्यही भएर तपाईंहरुको संगत गरेको हुँ’, उनले भने ।

आफ्नो आन्दोलनलाई युट्युबरहरुले पनि १०० रुपैयाँ दिन उनले आग्रह गरे ।


प्रतिक्रिया

3 thoughts on “गणतन्त्र फ्याक्न आन्दोलन गर्छु, सरकारले ५० लाख रुपैयाँ दिनुपर्छ: दुर्गा प्रसाईं

  1. सारै राम्रो कुरो म पनि सहमत छु यो आन्दोलन मा जय दुर्गा सर

  2. म पनि सहभगी हुन्छु सर,हजुरलाई साथ र समर्थन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर