मेरा फिल्म असफल भएकैले ‘स्क्रिप्ट डक्टर’ बन्ने स्थिति आएको हो : मनोज पण्डित
‘कथा भनेर पैसा कमाउने या पैसाका लागि कथा बनाउने ? अबको नेपाली सिनेमाले साँच्चिकै प्रश्न गर्नुपर्छ’
काठमाडौं । निर्देशक तथा समीक्षक मनोज पण्डित यतिवेला स्क्रिप्ट डक्टरिङको काममा व्यस्त छन् । लेखक र निर्देशकसँग बसेर पटकथालाई फिल्मको व्याकरण र संरचनामा ढाल्नु नै उनको प्रमुख काम हो । हलिउडमा क्वेन्टिन टोरेन्टिनो जस्ता दिग्गज निर्देशकले पनि अरुका लागि स्क्रिप्ट डक्टरिङको काम गरेका छन् । भलै हलिउड स्टुडियोहरुले स्क्रिप्ट डक्टरिङमा मिलियन डलर खर्च गरे पनि नामै लेख्ने प्रचलन भने छैन ।
नेपालमा पण्डितले स्क्रिप्ट डक्टरको नाम पनि फिल्ममा लेख्न सुरु गरेका छन् । भर्खरै प्रदर्शनमा आएको फिल्म ‘पशुपतिप्रसाद २ भष्मे डन’ मा स्क्रिप्ट डक्टरको भूमिकामा स्क्रिप्टको शल्यक्रिया गर्न पुगेका थिए पण्डित । भलै फिल्मले भने दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । प्रदर्शनमा आउनै लागेको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’मा पनि पण्डित स्क्रिप्ट डक्टरकै भूमिकामा छन् ।
अहिले सुटिङ भइरहेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’देखि आउँदो वर्ष प्रदर्शनमा आउने सन्तोष सेन निर्देशित ‘बलिदान’मा पनि पण्डित स्क्रिप्ट डक्टरको भूमिकामा छन् । आफ्ना दुई फिल्म ‘एक’ र ‘खाग’लाई असफल फिल्म भनेर निर्धक्क बोल्ने पण्डित अचानक कसरी स्क्रिप्ट डक्टरको भूमिकामा बदलिए ? मूलधारका नेपाली फिल्महरुमाथि प्रश्नमात्रै गरिरहने पण्डित एकाएक कसरी मूलधारकै फिल्मको स्क्रिप्ट डक्टर बने ? यिनै विषयमा मनाेज पण्डितसँग नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंशः
– स्क्रिप्ट डक्टरिङ औपचारिक रुपमा तपाईंबाट सुरु भयो । खासमा स्क्रिप्ट डक्टर के हो ?
सिनेमाको आधारभूत तत्वलाई सिनेमाको व्याकरणभित्र बलियो गरी संरचना बनाउने काम हो स्क्रिप्ट डक्टरिङ । सिनेमामा स्क्रिप्टको आफ्नो व्याकरण हुन्छ । त्यो व्याकरणभित्र कुनै पनि कथाको निर्माण हुनुपर्छ । स्क्रिप्ट लेखिँदै गर्दा व्याकरणीय रुपमा लेखिएको छ कि छैन भनेर प्रारम्भिक रुपमा संरचना निर्माण गर्ने काम नै स्क्रिप्ट डक्टरिङ हो ।
– यसले निर्माता र मेकरलाई के फाइदा हुन्छ ?
पहिलो फाइदा लेखकलाई हुन्छ । लेखकलाई निश्चित व्याकरणभित्र बसेर सृजनात्मक अभिव्यक्ति दिने ठाउँ बन्छ । त्यसपछि निर्देशकलाई सिनेम्याटिक अभिव्यक्तिका लागि सहयोग पुग्छ । पात्रहरुको द्वन्द्व निर्माण, कथाको विकास र अन्त्यमा निर्देशक स्पष्ट बनिसकेपछि उसले त्यसभित्र सृजनात्मक प्रस्तुति दिन पाउँछ । अनि सबैभन्दा फाइदा चाहिँ निर्मातालाई दिन्छ । आखिर सिनेमा चल्ने भनेको दर्शकका कारण हो । दर्शक भनेको मनोवैज्ञानिक संरचना हो । स्क्रिप्ट डक्टरिङमा त्यो मनोवैज्ञानिक संचरनामाथि सबैभन्दा बढी काम हुन्छ ।
के कुराले दर्शकलाई प्रभाव पार्नसक्छ भन्ने कुरामा बढी विश्लेषण हुन्छ । कुनै पनि पात्र जन्मिँदा त्यो पात्रको दर्शकसँग के सम्बन्ध हुनसक्छ भनेर विश्लेषण हुन्छ । निर्मातालाई दर्शकको अस्तित्वप्रति सम्मान गर्ने काम स्क्रिप्ट डक्टरले गर्छ । त्यसो गर्नासाथ सिनेमा दर्शकको सामुन्ने उत्पादनको रुपमा प्रस्तुत हुन्छ ।
संसारमा एक खालको सिनेमा दर्शकका लागि र अर्को खालको सिनेमा मेकरका लागि बन्छ । मेकरले आफ्नो लागि बनाएको सिनेमा मेकर नै हावी हुन्छ । तर, दर्शकका लागि बन्ने सिनेमामा स्क्रिप्ट डक्टरको भूमिका दर्शकसँग हुन्छ । सिनेमाले प्रभाव पार्ने दर्शकको मनोविज्ञानलाई सिनेमा लेखनको सोचमै स्क्रिप्ट डक्टरले अंगीकार गरिदिन्छ । त्यसो गर्दा दर्शकसँग सिनेमाको राम्रो सम्पर्क स्थापित हुन्छ । खासमा स्क्रिप्ट डक्टरको दायित्व भनेको लेखक र निर्देशकलाई सहयोग गर्ने हो ।
– सिनेमा उत्पादन हो कि सृजना ?
दुवै हो । सिनेमा उत्पादनसँगै जोडिने मनोविज्ञान हो । पछिल्लो समय संसारमा मानिसको मनोविज्ञानलाई बुझ्ने प्रयास सबैभन्दा बढी भएको छ । संसारमा सबै खालको उत्पादनको उद्देश्य नै मानिसको आवश्यकताको मनोविज्ञानलाई बुझ्ने प्रयाससहित भएको छ । र, सिनेमा पनि मानिसको आवश्यकताको मनोविज्ञानमा आधारित उत्पादन हो ।
तर, यो उत्पादनसँग मेकरको जुन सम्बन्ध हुन्छ, त्यो वस्तुसँगको मात्रै होइन, आत्मासँगको पनि हो । आत्मा भनेको मेकरको सम्पत्ति हो । र, कथामा आत्मा जोडिएपछि उत्पादनको रुपमा बजारमा आउँछ । त्यसैले सब्जेक्टिभ र अब्जेक्टिभ महत्वको समीश्रण नै सिनेमाको सबैभन्दा उत्कृष्ट फर्म हो ।
– ‘पशुपतिप्रसाद २ भष्मे डन’ अहिले हलहरुमा चलिरहेको छ । स्क्रिप्ट डक्टरिङअघिको ‘भष्मे डन’ र अहिले हलमा चलिरहेको ‘भष्मे डन’बीच त्यस्तो के तात्विक फरक महसुस गर्नुभयो ?
‘भष्मे डन’ स्क्रिप्ट डक्टर भएर आधिकारिक रुपमा अभ्यास गरिएको फिल्म हो । यसअघि मैले धेरै फिल्महरुमा अनौपचारिक रुपमा काम गरेको थिएँ । यस फिल्ममा आउँदा यसको निश्चित परिधिहरु थिए । स्क्रिप्ट डक्टरले केही कुराहरुमाथि मेकरको रिजर्भेसनलाई सम्मान गर्छ । त्यो रिजर्भेसनलाई सम्मान गर्दै काम अगाडि बढाइयो ।
म के कुरामा उत्साहित छु भने हाम्रा मेकरहरु अलिकति फिल्मको संरचनामा सचेत हुन थालेका छन् । संरचनाभन्दा बाहिर जे हुन्छ, सो हुन्छ भनेर मेकरहरुले काम गर्ने गरेका थिए । तर, अब संरचना हुनुपर्छ भन्ने कुरामा सचेत भएकोमा खुशी छु ।
– ‘भष्मे डन’ स्क्रिप्ट डक्टरिङमा र हलमा कति फरक महसुस गर्नुभयो ?
म चाहन्थें, स्क्रिप्ट डक्टरिङमा जति गरिएको थियो, त्यसको बीसौं गुणा बढी काम लेखक निर्देशकले गरोस् । स्क्रिप्ट डक्टरिङ जति गरेको छु, त्यतिमात्रै पर्दामा आउनुहुन्न । पर्दामा आउँदा मेरो कामलाई लेखक र निर्देशकको प्रस्तुतिले ढाकिदिनुपर्छ ।
– ‘भष्मे डन’मा ढाकिएको छ त ?
अलिकति ढाकिएको छैन । त्यो ढाकिनुपर्छ । मेरो काम सबैभन्दा सुषुप्त हुनुपर्छ । सिनेमाको स्वास्थ्य भनेकै सबै संरचनाहरु बाहिर नदेखिनु हो । मासु र रगतले हड्डी ढाकियो भने सुन्दर शरीर बन्छ । ‘भष्मे डन’मा त्यो अझै राम्रोसँग ढाकिएको भए गजब हुन्थ्यो । म चाहिँ मैले गरेको काम पर्दामा देखियोस् भन्ने चाहन्नँ ।
– ‘भष्मे डन’को शल्याक्रियाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
लेखक, निर्देशकले गरेको कामप्रति भन्दा पनि म आफ्नो कामप्रति नै सन्तुष्ट छैन । मैले गर्न सक्ने सृजनशील हस्तक्षेप नै गर्न सकिनँ । मैले अझै बढी केही गर्नुपर्थ्यो । केही थिमेटिक एलिमेन्टमा योगदान दिनुपर्थ्यो । म मेरो कामप्रति सन्तुष्ट छैन । मैले फाइनल फिल्म हेर्नुपर्थ्यो भन्ने मलाई लाग्छ । त्यो चिज चाहिँ मेरो कमजोरी हो ।
– तपाईं क्रिटिकल अप्रोच राखेर फिल्मलाई हेर्ने मान्छे, ‘भष्मे डन’ हलमा हेर्दा कस्तो लाग्यो ?
‘भष्मे डन’मा केही अत्यन्त सुन्दर तत्व पनि छ । यसले मानिसका बहुरुपहरुलाई प्रस्तुत गर्न खोजेको छ । त्यो ठूलो कला हो । हरेक पात्रहरुमार्फत् मानिसका कुरुप चरित्रलाई उत्खनन् गर्न खोजेको काम अत्यन्त सुन्दर छ । यसमा लेखक र निर्देशकलाई दर्शकको रुपमा सम्मान गर्छु ।
त्यसमा लेखक र निर्देशकले अझै मन्थन गर्न बसेको भए झनै गज्जब हुन्थ्यो । ‘भष्मे डन’ले आँटेको चुनौतीका कारण अघिल्ला फिल्मको तुलनामा यो फिल्म गम्भीर छ । यति गम्भीर फिल्मका लागि लेखक निर्देशकले आँट गरेकै हुन् । तर, यो लेभलको गम्भीरतामा जुन लेभलको मेहनत गर्नुपर्थ्यो, त्यो गरेको भए झनै सुन्दर हुन्थ्यो ।
– भनेपछि ‘भष्मे डन’मा लेखक र निर्देशकले अझै मेहनत गर्नुपर्ने थियो ?
अझै गर्नुपर्थ्यो । कन्टेन्टकै कुरामा पनि डिटेलमा मेहनत गर्नुपर्थ्यो ।
– ‘भष्मे डन’ धेरै नै पैसा केन्द्रित फिल्म बनेको आरोप छ । तपाईंलाई के लाग्छ ?
ठूलो ब्राण्डको पैसासँग केही अपेक्षा रहन्छ । ‘भष्मे डन’ होस् या कुनै फिल्म् । पैसा चाहिँ शक्तिशाली कथाको परिणतिमात्रै हो । सबैभन्दा ठूलो चासो कथा नै हो । हामी कथाको व्यापारमा छौं । कथाले जति शक्तिशाली रुपमा सामान्य मान्छेलाई जोड्छ, उति नै पैसा जन्माउँछ । अब कथा भनेर पैसा कमाउने या पैसाका लागि कथा बनाउने ? ठूलो प्रश्न छ । अबको नेपाली सिनेमाले साँच्चिकै यसमाथि प्रश्न गर्नुपर्छ ।
– ‘भष्मे डन’ पैसाका लागि कथा बनाइएको हो कि कथाले पैसा बनाएको हो ?
लेखक, निर्देशकमा पैसा आउँछ भन्ने कुराको सायद आत्मविश्वास थियो । साथै उनीहरुमा ‘पशुपतिप्रसाद’को लिगेसीलाई पनि मेन्टेन गर्नुपर्छ भन्ने थियो । लिगेसीलाई लिएर गम्भीर पनि थिए । कुरा के हो भने ‘पशुपतिप्रसाद’ चाहिँ जादु थियो । दोस्रो चाहिँ प्राविधिक थियो ।
जादु जहिल्यै पनि जादु भइरहँदैन । जादुका लागि अझै बढी मेहनत गर्नुपर्छ । अर्को पाटो के हो भने नेपालमा सिक्वेल बनाउने प्रणाली रोकिनुपर्छ । सिक्वेलको चक्करमा पैसा देखेका छन् सबैले । सिक्वेल बनाउने प्रणाली चाहिँ कतै न कतै रोकिनुपर्छ । सिक्वेलको चक्करले फिल्ममेकरलाई अलिकति अल्छी बनाउनतिर धकेलिरह्यो । अब सिक्वेल बनाउन रोकिनुपर्छ ।
– सिक्वेललाई हेर्दा चाहिँ कथाका लागि सिक्वेल बनिरहेको हो कि पैसाका लागि ?
सिक्वेलहरु कथाका लागि बनेका छैनन् । सिक्वेलमा हरेक कथाहरु एकदमै फरक र युनिक हुनुपर्छ । सबै सिक्वेल पैसाको लागि बनेका छन् । जुन दिन कथाको लागि सिक्वेल बन्न थाल्छ नि, त्यसपछि सिक्वेल भनिरहनै परेन ।
– स्क्रिप्ट डक्टरको रुपमा तपाईंको पहिलो काम पनि देखियो । हिजो नेपालमा मूलधारका भनिएका फिल्महरुमा तड्कारो प्रश्न गर्नुहुन्थ्यो । आज त्यही मूलधारे फिल्ममै काम गरिरहनुभएको छ । यसलाई कसरी लिने ?
मैले बनाएका दुइटा सिनेमा असफल रहे । मेरो फिल्म मेकिङको प्रक्रियामा ठूलो ग्याप रह्यो । जब फिल्म निर्माणमा असफल भएँ, म मेरो असफलताहरुमाथि अध्ययन गर्न थालें । किन असफल भएँ ? मेरा कमजोरी के हुन् ? लेखन वा सोचमा कहाँ कमजोरी भयो ?
कमजोरी खोतल्ने प्रयासमा जे जे अध्ययन गर्दै गएँ, अनि मैले गरेका गल्तीहरु अरुले नगरोस् भन्ने भयो । यसबारे म अरुलाई पनि भन्ने गर्छु । मैले जानेका कुराहरु शेयर गर्छु । यही क्रममा निश्चित संरचनागत रुपमा सिनेमा मेकिङको विकास भइदेओस् भन्ने कुरा गर्दै जाँदा स्क्रिप्ट डक्टरिङको विकास भएको हो ।
मैले ‘पशुपतिप्रसाद’बाट आधिकारिक रुपमा काम गरे पनि यो काम ‘जात्रा’बाट सुरु भएको हो । म क्रिटिकल छु, त्यही क्रिटिकल कुराको आवश्यकता सिनेमामा पर्छ । फिल्म हेरेर बाहिरबाट क्रिटिकल कमेन्ट गर्नुभन्दा फिल्म बनाउँदाबनाउँदै प्रश्न गर्नुले फिल्म क्षेत्रलाई फाइदा हुन्छ नि !
अहिले स्क्रिप्टलाई जति गम्भीर भएर विश्लेषण गरियो, त्यसको नतिजा उत्तिकै राम्रो आउँछ भन्ने कुरा मान्छेले सोच्न थालेका छन् । मेरो स्क्रिप्ट डक्टरिङको भित्री नियत चाहिँ मलाई कथा, पात्र र दृश्यको निर्माण र विनिर्माणमा ठूलो रुचि छ । मेरो रुचि जे छ, त्यसले एक खालको प्ल्याटफर्म पाएकोमात्रै हो । म त्यसमा रमाइरहेको छु ।
– सिनेमाको व्याकरण र संरचना थाहा छ । पात्रहरुको संघर्ष र द्वन्द्वको उत्कर्षबारे थाहा छ । तर, यी विशेषज्ञता हुँदाहुँदै तपाईंका फिल्महरु चाहिँ किन असफल भए ?
मेरा फिल्म असफल भएकैले मैले सिक्न थालेको हुँ । म असफल भएकै कारणले स्क्रिप्ट डक्टर बन्ने स्थिति बनेको हो । मेरा असफल सिनेमाहरुमा म क्रिटिकल हुन नसकेको हो । जुन सिनेमामा सफल भएँ, ती सिनेमा ठीकठीकै राम्रै बनेको थियो । खासमा म पछिल्ला मेरै सिनेमाप्रति क्रिटिकल हुन सकिनँ ।
– सबै कुरा थाहा पाउँदापाउँदै तपाईंका सिनेमा कसरी असफल भयो ?
फिल्म मेकिङको ज्ञान भएरमात्रै होइन । फिल्म मेकिङ नियत पनि हो । फिल्म मेकिङ मेहनत पनि हो । अभ्यास पनि हो । कतिपय कुरा मलाई थाहा हुँदाहुँदै पनि मेरो नियतमा आएका केही समस्याले गर्दा मेरो सिनेमा बिग्रियो । मेरो बिग्रेको सिनेमाको पछिाडि मेरो नियतको खराबी हो । प्राविधिक कुरा थाहा नभएर होइन ।
फिल्म मेकर हुनलाई क्यामेरा र कलाकारलाई एक्सन कट भनेरमात्रै पुग्दैन । फिल्म मेकर साँच्चिकै इमानदार र राम्रो नियतको मान्छे बन्नुपर्छ । जसको सबैभन्दा राम्रो सम्बन्ध कथासँग हुन्छ । जसले कथाको मूल आत्मालाई न्याय गर्न मेहनत गर्दैन, इमानदार बन्दैन, त्यो फिल्म मेकर जतिसुकै स्रोतसाधन भए पनि चुक्छ ।
त्यसकारण म चुकेको चाहिँ मेरो नियतको कारणले हो । र, मलाई आफ्नो नियतमा भएको खराबी बुझ्न केही समय लाग्यो । म असफल भएको कुरामा म मेरो भाग्यलाई धन्यवाद दिन्छु । किनभने म असफल हुनु नै थियो । मलाई मेरो कमजोरी थाहा पाउन असफल हुनु थियो । ज्ञानको खोजी गर्न पनि असफल हुनु थियो । म असफल भएकोमा दुःखी छैन । डर चाहिँ के छ भने मैले असफलताबाट सिकेको पाठ अब लागू गर्छु कि गर्दिनँ ? अब गरिनँ भने वास्तविक असफल त्यहाँ हुन्छु ।
हिजो गरेका दुइटा फिल्म असफल भए, चलेन । त्योमात्रै मेरो पूर्ण असफलता होइन । मैले यो कुराबाट जे सिकें, जानें, त्यो कुरा फिल्ममा लागू गर्छु कि गर्दिनँ ? मेरो खास असफलताको घडी चाहिँ अब आउँदैछ ।
– सिनेमामाथि डिक्सोर्स हुनुपर्छ भन्ने तपाईं अहिले मूलधारका मसलेदार फिल्महरुमा स्क्रिप्ट डक्टरको रुपमा जोडिँदै जानुभएको छ । यसलाई वैचारिक विचलन भन्न मिल्छ कि मिल्दैन ?
मसलेदार सिनेमा व्याकरणीय रुपमा बलियो हुनुपर्छ भन्ने सिद्धान्तमा छु । अबको मेरो अवधारणा भनेको मसलेदार सिनेमामा व्याकरण हुनुपर्छ भन्ने हो । प्रशस्त मसलेदार सिनेमा बनोस् । यथार्थवादी चंगुलबाट हाम्रो सिनेमा एकदमै सृजनशील काल्पनिकतामा जाओस् । तर, त्यहाँ जाँदा व्याकरणीय रुपमा सही हुनुपर्छ ।
सिनेमा साहित्य हो । यसको आफ्नै व्याकरण हुन्छ । सिनेमा भनेको दृश्य र शब्दको व्याकरणको संयोजन हो । स्क्रिप्ट डक्टरको रुपमा मेरो संलग्नता म व्याकरणको पक्षधर भएकाले हो । यसो भन्दा म संरचनावादी जस्तो देखिन्छु । तर, म अहिलेको केही समय चाहिँ नेपाली सिनेमा स्पष्ट संरचनामा अगाडि बढ्नुपर्छ, आधारभूत संरचना पक्रनुपर्छ भन्ने पक्षमा छु । म वैचारिक रुपमा एकदमै छताछुल्ल छैन । नेपाली सिनेमा दर्शकलाई सिनेम्याटिक अनुभव दिने सशक्त माध्यम बनोस् भन्ने चाहन्छु । हाम्रो नेपाली सिनेमाको कमजोरी नै व्याकरण हो ।
– स्क्रिप्ट डक्टरिङमा चुनौती चाहिँ कस्तो महसुस गर्नुभयो ?
मेकरले स्क्रिप्ट सकेपछि केही समस्याहरुलाई समाधान गरिदिने अवस्था आइदिए गजब हुन्थ्यो । यहाँ त आइडिया नै सिजरिङ गरिदिनुपर्ने अवस्था छ । भ्रुण नै राखिदिनुपर्ने अवस्था छ । विस्तारै मैले स्क्रिप्ट डक्टरिङ कम गर्नुपर्ने समय पनि आउनेछ । यस्तो स्थिति होस्, जहाँ स्क्रिप्ट डक्टर नै हुन नपरोस् । त्यो बन्न थुप्रो समयको मेहनत लाग्छ ।
मास सिनेमाको आवश्यकता ग्राहकप्रतिको सम्मान हो । ग्राहक नोकर होइन । हाम्रो भने ग्राहकलाई नोकर बनाउन खोज्ने मनोविज्ञान छ । ग्राहक त स्वतन्त्र छनोटकर्ता हो । नेपाली सिनेमामा मास सिनेमा नै बनोस् । तर, ग्राहकको परिधि बढाओस् । ग्राहकलाई सम्मान गरोस् । यसरी जाँदा नेपाली सिनेमा बुम हुन समय लाग्दैन ।
अर्को कुरा भनेको स्क्रिप्ट डक्टर र कथावाचक बीचमा सधैं द्वन्द्व हुन्छ । मेरो दायित्व दर्शकसँग मात्रै हुन्छ । त्यसकारण लेखक र निर्देशकसँग असहमत हुन्छु । अबका नयाँ फिल्महरुमा काम गर्दा लेखक निर्देशकले वाचा गरेको तहको स्क्रिप्ट आएको छ कि छैन भन्ने कुरामा मेरो द्वन्द्व हुनेवाला छ । लेखक र निर्देशकको केही कुराप्रति भावनात्मकता हुन्छ । स्क्रिप्ट डक्टर छिरेर त्यसलाई भत्काइदिन्छ । भावनात्मक क्षति गरिदिन्छ । कहिलेकाहीं त्यही अट्याचमेन्ट र क्रिटिकल कुराको टकराव पूर्ण सफलतामा जानसक्छ । कहिलेकाहीं असफल भएर जान्छ ।
मलाई सबैभन्दा चुनौती चाहिँ आफ्नै सिनेमाको डक्टरिङ गर्नु हो । मैले जे विषयमा सिनेमा बनाउँदैछु, त्यो सिनेमामा डक्टरिङको अभ्यास गर्दैगर्दा म कति कमजोर कथावाचक रहेछु भन्ने थाहा भएको छ ।