मदन भण्डारी, जबज र गतिशीलता – Nepal Press

मदन भण्डारी, जबज र गतिशीलता

नीति, सिद्धान्त र विचारका आधारमा मात्र राजनीति दिगो हुन्छ । नीति, सिद्धान्त र विचारविना पनि आजको दिनमा लोकप्रियतावादको आडमा राजनीति गर्ने होडबाजी चलिरहेको पाइन्छ । तर, यस्तो राजनीति दिगो हुँदैन । राजनीति नीति, सिद्धान्त र विचारका आडमा हुने भएकाले प्रमुख प्रश्न के उब्जन्छ भने कस्तो नीति, सिद्धान्त र विचारले राजनीतिको यात्रा तय गर्नुपर्छ ? यो या त्यो विचार नै ठीक भन्ने किटानका साथ भन्न नसकिए पनि पक्का कुरा के हो कि नीति, सिद्धान्त र विचार निश्चित देशको मौलिकतामा आधारित हुनुपर्छ । कुनै एक देशमा सानदार रुपले काम गरेको सिद्धान्त हुबहु कार्यान्वयन गर्दा कुनै अर्को देशमा त्यही स्तरको परिणाम नदिन सक्छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गर्दा बाहिरीमात्र नभएर पार्टीभित्रैबाट पनि अनेक आरोप खेप्न पर्‍यो । उग्र वामपन्थी र उग्र दक्षिणपन्थी दुबैखाले अतिवादीहरू जबजको विरोधमा यसरी उत्रिए मानौं, ‘बहुदलीय राजनीतिक प्रतिस्पर्धा’, ‘आवधिक निर्वाचन’, ‘बहुमतको सरकार र अल्पमतको विपक्ष’, ‘नागरिक अधिकारसहितको जनवादी कल्याणकारी राज्य’ जस्ता विषयमा प्रतिबद्धता जनाउनु राजनीतिक गद्दारी थियो ।

बहुदलीय राजनीतिक प्रतिस्पर्धामा कम्युनिष्टहरूको विश्वास हुँदैन । उनीहरू एकदलीय अधिनायकत्वमा विश्वास गर्छन् । जबजको नाममा एमालेले जनतामा भ्रम छरेर सत्ता कब्जा गर्न खोजिरहेको छ भन्ने जस्ता आरोप उग्र दक्षिणपन्थी शक्तिहरूले लगाएका थिए । त्यस्तै तत्कालीन उग्र वामपन्थी शक्तिहरू भने बहुदलीय प्रतिस्पर्धा मार्क्सवाद-लेनिनवाद सम्मत हुनै सक्दैन, यो त संसोधनवाद हो, दक्षिणपन्थी विचार हो भनेर विरोधमा उत्रिएका थिए । त्यसै सेरोफेरोमा अवसरवादी तत्वहरूले पनि भ्रम छर्ने कुनै कसर भने छोडेका थिएनन् ।

यस्तै परिवेशमा जननेता मदन भण्डारीले जबजका सम्बन्धमा के सोच्थे ? उनले जबजको सिद्धान्त अघि सार्न किन आवश्यक थाने त ? उनी कति दूरदर्शी थिए भन्ने कुरा त जबजको विरुद्धमा हिँडेका वामपन्थीहरूको कि त नेपाली राजनीतिमा अस्तित्व नै समाप्त भएर गएको छ कि आर्थिक-सामाजिक नीतिमा कुनै न कुनै रुपमा सम्झौता गर्नुपर्ने बाध्यता आइपरेको छ ।

जीवनका लागि सिद्धान्त कि सिद्धान्तका लागि जीवन ? यो नै जबजको प्रस्थान विन्दु हो भन्नेमा दुई राय छैन । गतिशीलतामा क. मदन भण्डारीको गहिरो लगाव बुझ्न सकिन्छ । उनले त्यतिखेर नै भनेका थिए यदि कुनै पनि विचारले जीवनलाई सहज बनाउँदैन भने त्यस्तो सिद्धान्त परिमार्जन हुन जरुरी छ । माकर््सवादलाई जडसूत्रताका रुपमा ग्रहण गर्ने कि गतिशील रचनात्मक विचार विज्ञानका रुपमा ग्रहण गर्ने दुइटा शैलीमा जबज दोस्रो शैली र दृष्टिकोणभित्र पर्छ ।

बहुदलीय जनवादका सन्दर्भमा जानुअघि जनवादको व्याख्या बुझ्न जरुरी छ । पार्टी, विचार-दर्शन र व्यवस्थाभन्दा माथि जनतालाई राख्नु नै जनवाद हो । जनवाद अर्थ-सामाजिक पद्धति नभएर राजनीतिक पद्धति हो । हुन त आर्थिक-सामाजिक अधिकारविना जनवादको सार्थकता पुष्टि गर्न सकिँदैन । तर, जनवाद आफैंमा भने राजनीतिक पद्धति नै हो । जनताको बहुदलीय जनवाद भने सैद्धान्तिक रुपमा नयाँ जनवाद भए पनि यसले नेपालको मौलिकता र समयको गतिशीलतालाई प्राथमिकता दिएको छ ।

कम्युनिष्टहरूको मार्गदर्शक सिद्धान्त नै द्वन्द्वात्मक भौतिकवाद हो । समाजको विकास नै फरक विचारहरूको बहसबाट निस्कने निष्कर्षले तय गर्छ । यस अर्थमा कम्युनिष्टहरूले फरक विचारलाई निस्तेज गर्न आवश्यक छैन । कम्युनिष्टहरूले त गलत विचारलाई आफ्ना तर्कद्वारा परास्त पारी जनताको मन जितेर शासन गर्नुपर्छ ।

जननेता मदन भण्डारीको प्रचण्ड बुझाइ के रह्यो भने एकता र सहयोग बल प्रयोग गरेर या करकापले होइन स्वेच्छा जगाएर र मन जितेर गरिनुपर्छ । विरोध गर्ने अधिकार दिएरमात्र साँचो समर्थन प्राप्त गर्न सकिन्छ अनि फुट्ने छुट दिएरमात्र साँचो एकता कायम गर्न सकिन्छ । फरक विचारको स्वीकार्यता, स्वतन्त्र निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष जस्ता विषय नयाँ जनवादका सन्दर्भमा पहिलो प्रयोग हो । सायद यही नयाँ प्रयोगलाई स्वीकार्न कतिपयलाई तत्कालीन समयमा असहज भएको हुनसक्छ ।

कमरेड मदन भण्डारीको बहस केमा केन्द्रित रह्यो भने मार्क्सवादले कहींकतै एक दलीय अधिनायकवादको पक्षपोषण नगरेको र उग्र वामपन्थी जडसूत्रवाद मार्क्सवादलाई कमजोर बनाउने एक निम्नस्तरको प्रयोग हो । एक दल हुनेबित्तिकै जनवाद नहुने र दुई या बढी दल हुनेबित्तिकै जनवाद भइहाल्छ भन्ने भाष्यमा उनको खासै लगाव देखिँदैन । जनताले निर्विरोध रुपले राजनीतिमा, राज्यसत्तामा र राजकीय मामिलाहरुमा निर्णायक भूमिका खेल्न पाएका छन् कि छैनन् र देशको वास्तविक मालिक हुन पाएका छन् कि छैनन् भन्ने कुरा नै जनवादको निर्णायक तत्व हो ।

समग्रमा भन्नुपर्दा जनताको बहुदलीय जनवादले निम्न कुराहरुलाई नेपाली कम्युनिष्ट आन्दोलनको सन्दर्भमा स्पष्ट रुपमा उभ्याउने दूरदर्शिता राखेको छः

  • पार्टी, विचार-दर्शन र व्यवस्था सबैभन्दा माथि जनतालाई राख्नु नै जनवाद हो ।
  • राज्य वर्गीय हुनसक्छ । तर, राज्य निश्चित पार्टी या व्यक्तिको हुन सक्दैन ।
  • फरक विचार र सोचलाई स्थान नदिने हो भने त्यस्तो राज्य सत्ता जनवादी हुनसक्दैन । तसर्थ, जनवादी राज्यसत्तामा विपक्षीको स्थान, फरक विचार राख्न पाउने अधिकार र फरक राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चितता अत्यावश्यक छ ।
  • समाजको विकास नै (फरक विचारको संघर्ष, हेगल) सामाजिक असमानताले निम्त्याएको वर्ग संघर्ष भएकाले कम्युनिष्ट विचारधाराले फरक विचारलाई अस्वीकार गर्ने कुनै कारण नै छैन ।
  • चुनाव गरेर व्यक्तिलाई मात्र चुन्नु लोकतान्त्रिक हुन सक्दैन (पञ्चायतमा गरिने चुनाव जनवादी नहुनुको एउटा कारण) । जनताले नीति, सिद्धान्त र विचारका आधारमा राज्य सत्ता सुम्पिने हो भने त्यसले परिवर्तन ल्याउन सक्छ ।
  • नेपालको मौलिकतामा आधारित जनताबाट म्यान्डेट लिएर वर्गीय राज्य सत्ता चलाउनु जबजको लाइन हो । यसमा फरक वर्गको हितको रक्षा भने गरिन्छ ।
  • जनवादी कम्युनिष्ट पार्टीले आफ्नो इच्छाअनुसार होइन, बहुमत जनताको इच्छाअनुसार सरकार चलाउनुपर्छ । जनमत बुझ्ने सबैभन्दा उत्तम विधि नै निर्वाचन हो ।

कम्युनिष्टहरूको मार्गदर्शक सिद्धान्त नै द्वन्द्वात्मक भौतिकवाद हो । समाजको विकास नै फरक विचारहरूको बहसबाट निस्कने निष्कर्षले तय गर्छ । यस अर्थमा कम्युनिष्टहरूले फरक विचारलाई निस्तेज गर्न आवश्यक छैन । कम्युनिष्टहरूले त गलत विचारलाई आफ्ना तर्कद्वारा परास्त पारी जनताको मन जितेर शासन गर्नुपर्छ । कुनै देश विशेषमा, फरक परिस्थितिमा जे लागू भयो, त्यसैलाई शाश्वत सत्य मानेर जनताको इच्छालाई कदर नगर्ने कुरा जनवादी हुुन सक्दैन । जनताको मतको कदर नगरी जनताको नाममा शासन चलाउनु जनवादी हुन सक्दैन ।

जननेता मदन भण्डारीले त्यतिबेला भनेका थिए- कम्युनिष्टहरूले प्रयोग गर्ने अधिनायकत्व शब्दको विरुद्ध पूँजीवादी शक्तिहरूले आफूलाई लोकतन्त्रवादी देखाउने गरेका छन् । उनले जबजका माध्यमबाट के प्रस्ट्याएका छन् भने पूँजीवादी राज्यले पूँजीवादी अधिनायकत्व लागू गरिरहेको हुन्छ, सामन्ती तानाशाह वर्गले उनीहरुको अधिनायकत्व लागू गरिरहेका हुन्छन् । यो किन हो भने राज्यसत्ता वर्गीय हुन्छ र आफैंमा अधिनायक हो । राज्यसँग वैधानिक बल प्रयोग गर्ने संरचना र अधिकार दुबै हुने भएकोले राज्य शक्तिहीन तटस्थ निकाय होइन । त्यसकारण जुन विचारधाराको राज्य हुन्छ, त्यसले सोही विचारको अधिनायकत्व लागू गर्छ । कमरेड मदन भण्डारीले जबज जनताको जनवादी राज्यको पक्षमा भएकाले यसले जनताको जनवादी अधिनायकत्व लागू गर्ने विश्वास दिलाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *