अश्लील भिडिओले कारबाहीमा परेकी शान्ति साइबर ब्युरो धाउँदै, ‘एआई’ को दुरुपयोग गरिएको दाबी – Nepal Press

अश्लील भिडिओले कारबाहीमा परेकी शान्ति साइबर ब्युरो धाउँदै, ‘एआई’ को दुरुपयोग गरिएको दाबी

काठमाडौं । अश्लील भिडिओ काण्डमा माओवादीको नगर कमिटीले कारबाही गरेपछि शान्ति बराल फेरि एकपटक चर्चामा आएकी छन् । उनी सामाजिक सञ्जालमा पहिल्यैबाट भाइरल थिइन्, अहिले भने उनको बदनामी भएको छ ।

एक युवतीले टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेको भिडिओ ट्वीटर–फेसबुकतिर केही दिनदेखि शेयर भइरहेको थियो । यी युवती माओवादीकी रुपन्देही नेतृ शान्ति बराल भएको चर्चाले बजार तताएको थियो । यद्यपि, प्रविधिको जमानामा यो भिडिओको यथार्थताबारे ठोकुवा गर्न सक्ने अवस्था थिएन । तर, माओवादीले नै कारवाही गरेपछि भने भिडिओ उनकै हो भन्ने आधार बलियो भएको छ । यद्यपि, शान्ती आफैंले भने स्वीकारेकी छैनन् ।

भिडिओ भाइरल हुन थालेपछि शान्तिले फेसबुकमा स्टाटस लेख्दै खण्डन गरेकी थिइन् । एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको उनको दाबी थियो । तर, केही समयमा उनले त्यो स्टाटस हटाइन् ।

हिजो माओवादीले कारवाही गरेको विज्ञप्ति आएपछि शान्तिले टिकटकबाट त्यसमा प्रतिक्रिया जनाएकी छन् । उनले अझै पनि भिडिओ आफ्नो भएको स्वीकार गरेकी छैनन् । एआइ (आर्टिफिसियल इन्टलिजेन्स) प्रविधिको दुरुपयोग गरेर भिडिओ बनाइएको उनको दाबी छ ।

बरालले लेखेकी छन्, ‘हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडिओ सामाजिक सञ्जालमा राखिएको आमजनसमुदायमा जानकारी गराउन चाहन्छु ।’

आफू राजनीतिक कार्यकर्ता हुनुका साथै नियमित टिकटक प्रयोगकर्ता भएको शान्तिले उल्लेख गरेकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई कानूनी दायरामा ल्याउन उनको सरकारसँग माग छ ।

‘आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी आफ्नो खाता सञ्चालन गरेको र मेरो सामाजिक सम्पर्क र समर्थकहरु देखेर पहिलेदेखि नै विरोधीहरुले चरित्रहत्या गर्ने धम्की दिँदै आएका थिए । केही उच्छृङ्खल व्यक्तिहरुले भिडिओलाई सम्पादन गरी अश्लिल बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएकाले उक्त भिडिओ अपलोड गर्ने व्यक्तिले मेरो चरित्रहत्या गरेकाले कानूनी दायरामा ल्याउन सरकारसँग अपिल गर्दछु’, उनले लेखेकी छन् ।

‘नक्कली भिडिओ’ आएपछि पर्न गएको असुविधाप्रति उनले सामाजिक सञ्जालका समर्थकहरुसँग क्षमा मागेकी छन् ।

भिडिओ एडिटेड भएको बताइरहे पनि शान्तीले अहिलेसम्म कुनै कानूनी उपचारको खोजी गरेकी छैनन् । जबकि भिडिओ आएको एक महिनाजति भइसकेको छ । नेपाल प्रेससँग कुरा गर्दै उनले आफू साइबर क्राइमको प्रोसेसमा रहेको बताइन् ।

‘म साइबर क्राइमको प्रोसेसका लागि काठमाडौंमा नै छु । साइबर ब्यूरोबाट पत्ता लागिसकेपछि बल्ल मुद्दा हाल्ने हो,’ उनले भनिन् । भिडिओ आफ्नो नभएको उनले दोहोर्याइन् । तर, उनको बोलीमा आत्मविश्वास भने थिएन ।

तपाईंको होइन भने पार्टीले किन कारवाही गर्‍यो त भन्ने प्रश्नमा उनले आफूलाई यस विषयमा जानकारी नरहेको बताइन् ।

बरालले भनिन्, ‘त्यो विज्ञप्ति पार्टीकै आधिकारिक हो कि होइन भन्ने पनि मलाई थाहा छैन । कसैले फेक बनाएर हालेको हो कि जस्तो पनि लाग्छ । पार्टीले अहिलेसम्म मलाई केही पनि सोधपुछ गरेको छैन ।’

कारबाहीको विज्ञप्ति आएपछि यस विषयमा पार्टीलाई सोध्नुभएन ?

मलाई हिजो एक्कासी सामाजिक सञ्जालबाट थाहा भयो । अब कुरा गर्छु ।

भिडिओ आएको यत्रो दिनसम्म तपाईंले किन सार्वजनिकरुपमा खण्डन गर्नुभएन ?

मैले फेसबुकबाट खण्डन गरेको थिएँ । तर, मलाई शुभचिन्तकहरुले यसरी लेख्दा झन् धेरैलाई थाहा हुन्छ र खोजी–खोजी हेर्छन् भन्ने सुझाव दिए । त्यसपछि मैले स्टाटस हटाइदिएँ ।

भिडिओमा देखिएको अनुहार चैं तपाईंकै हो कि होइन ?

खोइ, मेरो रियल फेस त त्यस्तो छैन । तर, होइन भन्न पनि सक्दिनँ । अनुहार मिल्दोजुल्दो छ ।

को हुन् शान्ति बराल ?

रुपन्देही सैनामैना निवासी शान्ती बराल माओवादीकी पुरानो र सक्रिय कार्यकर्ता हुन् । भूमिगतकालदेखि नै उनको माइती परिवार माओवादीमा थियो । पार्टीको विचारप्रति निरन्तर प्रतिवद्ध छिन् । उनी राजनीतिक कार्यक्रमहरुमा जतासुकै देखिने गर्छिन् । जुनसुकै पार्टीका उच्च तहका नेताहरु जिल्ला आउँदा पनि एयरपोर्ट पुगेर फोटो खिचाउँछिन् र सकेसम्म टिकटक पनि बनाउँछिन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि आफ्नो राम्रो सम्वन्ध रहेको उनी बताउने गर्छिन् ।

राजनीतिक गफहरु पनि गर्नसक्ने खुबी भएकी शान्ती टिकटकमा विशेष सक्रिय छिन् । २०७८ सालमा लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछि मुख्यमन्त्रीको कार्यालयभित्रै नाचेर टिकटक भिडिओ बनाएपछि उनी भाइरल बनेकी थिइन् । त्यसपछि उनले टिकटक फलोअर्स ह्वात्तै बढाइन् । अहिले टिकटकमा उनलाई १३ लाखले पछ्याइरहेका छन् ।

उनी दिनहुँ विभिन्न भावभङ्गिमामा अनेकौं टिकटक बनाएर पोस्ट गर्छिन् । कमेन्टमा उनको सौन्दर्य र जीउडालको प्रशंसा हुने गर्छन् । उनलाई भद्दा र अश्लील कमेन्टहरु पनि बग्रेल्ति आउँछन् । उनी नियमित टिकटक लाइभमा पनि बस्ने गर्छिन् ।

शान्तिलाई नजिकबाट चिन्नेहरु र पृष्ठभूमि थाहा हुनेहरु भाइरल भिडिओ उनकै हो भनेर सहजै विश्वास गर्छन् । मदिरा पिएर यस्तो हर्कत गरेको हुनसक्ने उनीहरुको अनुमान छ ।

शान्तिको दुई वर्षअघि श्रीमानसँग सम्वन्धविच्छेद भएको थियो । परपुरुषसँग भेटेपछि श्रीमानले डिभोर्स दिएको चर्चा छ । उनीहरुका दुई छोराछोरी हुर्किसकेका छन् । डिभोर्सपछि दुवै छोराछोरी बुवाको साथमा छन् । शान्ती सैनामैनामा भाडाको कोठामा एक्लै बस्छिन् । बेलाबखत छोराछोरी ल्याउँछिन् । श्रीमानले पनि अर्को बिहे गरेका छैनन् ।

आयस्रोत त्यति पारदर्शी नभए पनि शान्तिको जीवनशैली भड्किलो नै देखिन्छ । उनले विभिन्न ठेक्कापट्टाहरुको काम गरिरहेको र होटल रिसोर्टतिर पनि लगानी रहेको बताइन्छ । उनको माइती परिवार भने खातापिता हुन् ।

एक अन्तरवार्तामा उनले भनेकी छन्, ‘अहिले मलाई पूर्वदेखि पश्चिमसम्म पार्टीका साथीहरु नचिन्ने कोही पनि हुनुहुन्न । अध्यक्ष कमरेड प्रचण्डले चिन्नुहुन्नथ्यो होला, अहिले टिकटक भाइरल हुँदा एयरपोर्टमा आउँदा चिन्नुहुन्छ । धेरै राजनीतिक क्षेत्रका मान्छेहरुले चिन्नुहुन्छ ।’

माओवादीले कारवाही गरेपछि शान्तिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको हल्ला पनि चलाइएको छ । तर, त्यो हल्ला सत्य नभएको रास्वपाका स्थानीय नेताहरु बताउँछन् ।

एक नेताले भने, ‘पहिले नै एकचोटि कुरा भएको थियो । तर, उहाँको छविका कारणले गर्दाखेरि हामी त्यति उत्साहित भएनौं । अब त झन् सम्भावना छैन ।’

त्यसो त शान्तीलाई कारवाही गर्ने विषयमा माओवादीभत्र पनि मतभेद रहेको बताइन्छ । नगर कमिटीले गरेको कारवाहीको स्वामित्व जिल्ला प्रदेश कमिटीले लिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *