लघुवित्तको ऋण असुलीमा कठोर विधि अपनाउन नपाइने, कमजाेर ऋणीलाई ६ महिनाको समय दिनुपर्ने (प्रतिवेदनसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदन जारी गर्दै ऋण असुलीसम्बन्धी मार्गदशन दिएको छ ।
ऋण असुलीसम्बन्धी मार्गदशनमा ऋण लिएपछि ऋणीहरूले नियमअनुसार ऋण भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै काबु बाहिरको परिस्थितिले गर्दा ऋण भुक्तानी गर्न अप्ठेरोमा परेका ऋणीहरू पहिचान गर्नुपर्नेछ । थप समन्वय वा संलग्नता र आवश्यक मार्गदर्शनका लागि प्रत्येक संस्थाले विधि वा प्रणालीको व्यवस्था गर्नुपर्ने सुझाव राष्ट्र बैंकले दिएको छ ।
मार्गदर्शनमा लघुवित्त वित्तीय संस्थाहरूले ऋण असुलीका लागि कुनै पनि किसिमको कठोर विधि अपनाउन नहुने उल्लेख छ । धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग गर्न नहुने, लगातार ऋणीलाई फोन नगर्ने, नातागोता, साथी वा सहकर्मीलाई अपमान गर्न नहुनेसमेत भनिएको छ ।
ऋणी वा परिवारलाई सम्पत्ति वा मान प्रतिष्ठामा आघात पुग्ने गरी हिंसाको धम्की दिन नहुने र ऋणीलाई ऋण नतिर्दा आउनसक्ने परिणामका बारेमा गलत सूचना दिन नहुने प्रतिवेदनले उल्लेख गरेको छ ।
त्यसैगरी ऋण असुली गर्दा ऋणी र संस्थाद्वारा पारस्परिक समझदारीमा भएको स्थानमा मात्र ऋण असुल गर्नुपर्नेछ । तीन पटकभन्दा बढी सम्बन्धित ठाउँमा लगातार अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जान पाइने जनाइएको छ ।
प्रतिवेदनले हाल प्रचलनमा रहेको सामूहिक जमानीमा आधारित ग्रामीण मोडललाई समय अनुकूल परिमार्जन गरी सानो आकारको कर्जा (अधिकतम ५० हजार रुपैयाँसम्म)लाई सामूहिक जमानी आवश्यक नपर्ने बताएको छ । ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म सामूहिक वा पारिवारिक जमानी आवश्यक पर्ने व्यवस्था गर्न भनेको छ । एकै पटकभन्दा चरणबद्ध रुपमा कर्जाको सदुपयोगिता र आम्दानीको आधारमा अधिकतम सीमासम्म ऋण प्रवाह ५ लाखभन्दा माथि धितो लिएरमात्र कर्जा प्रवाह गनुैपर्नेछ ।
५० हजारभन्दा बढीको कर्जाको असुली मासिक रुपमा मात्र गर्नुपर्नेछ । व्यवसायको प्रकृति र नगद प्रवाहलाई मध्यनजर राखेर कर्जा असुली त्रैमासिक रुपमा समेत गर्न सकिनेछ । कर्जा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो शाखा सञ्जालबाट कर्जा लिएका लघुवित्त वित्तीय संस्थाहरूले काम कारबाही अनुगमन गर्न सक्ने व्यवस्था गर्न प्रतिवेदनले सुझाएको छ ।
तत्काल गर्नुपर्ने कार्यहरूमा प्रतिवेदनले आर्थिक शिथिलता वा आफ्नो वशभन्दा बाहिरको कारण किस्ता रकम बुझाउन नसकेका ऋणीको हकमा साँवा भुक्तानी बुझाउने समय ६ महिनाको लागि थप गरी सहजीकरण गर्न सकिने भनिएको छ ।
ब्याजमा केही छुट दिई ऋण असुल गर्ने सकिने छ । दुई वा सोभन्दा धेरै संस्थाबाट ऋण लिएका ऋणीहरूलाई लघुवित्त वित्तीय संस्थाहरूले आपसी समझदारीमा ऋणीबाट कुनै प्रकारको शुल्क नलिइ बचत तथा कर्जा साटासाट वा स्वीकार गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ ।
निष्क्रिय कर्जा उच्च भएका, एकल कर्जा सीमाको अत्यधिक चापमा रहेका संस्था पहिचान गरी समस्या समाधानको लागि संस्थाले गर्न सक्ने÷गरेका प्रयासको सम्बन्धमा सञ्चालक समितिबाट कार्ययोजना माग गर्नेछ ।
विभिन्न समूह वा अभियानमा सहभागी भई केही समययता कर्जा भुक्तानी नगरेका ऋणीहरूलाई कर्जा भुक्तानीको लागि सार्वजनिक रुपमा राष्ट्र बैंक र सरकारले आह्वान गर्नेछ । कर्जा तिर्नसक्ने क्षमता भए तापनि जानाजानी कर्जा नतिर्नेलाई कालो सूचीमा राखी सरकारी सेवा सुविधाबाट वञ्चित गर्ने व्यवस्था गर्ने गर्न उल्लेख गरेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भुक्तानी नगर्न उक्साउने, समूह गठन गरी विभिन्न गतिविधि गर्ने प्राकृतिक व्यक्ति तथा संस्था/संघलाई बैंकिङ प्रणालीप्रतिको विश्वासमा खलल पुर्याउने गतिविधिलाई बैंकिङ कसुर ठानिने गरी बैंकिङ कसूर ऐन, २०६४ (पहिलो संशोधनसहित) संशोधन गरी हदैसम्मको जरिवाना तथा कैद सजायको व्यवस्था गर्न मार्गदर्शन गरिएको छ ।