घाइते म्याक्सवेलकाे असाधारण ब्याटिङ, अष्ट्रेलियाकाे अविश्वसनीय जित
काठमाडौं । विश्वकप क्रिकेटकाे इतिहासकै एउटा अविश्वसनीय म्याचमा अष्ट्रेलियाले अफगानिस्तानमाथि अविश्वसनीय जित हासिल गरेकाे छ ।
ग्लेन म्याक्सवेलले असाधारण ब्याटिङ गर्दै हारकाे मुखबाट अष्ट्रेलियालाई जित दिलाए । अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएकाे अवस्थाबाट २९२काे लक्ष्य भेटेकाे हाे । म्यासवेलले घाइते अवस्थामा दाेहाेराे शतक हान्दै अफगानिस्तानलाई स्तब्ध तुल्याए ।
अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २९१ रनकाे बलियाे स्काेर खडा गरेकाे थियाे । अफगानिस्तानका ईब्राहिन जद्रानले शतकीय पारी खेले । तर म्याक्सवेलकाे इनिङले उनकाे शतक ओझेलमा परेकाे छ ।
जवाफी ब्याटिङमा अष्ट्रेलिया धराशयी बनेकाे थियाे । तर म्याक्सवेललाई आउट गर्न नसक्दा अफगानिस्तानले नमिठाे हार व्यहाेर्नुपर्याे ।
आठाै विकेटका लागि म्याक्सवेलले कप्तान प्याट कुमिन्ससँग अविजित दाेहाेराे साझेदारी गरे । उनीहरूकाे साझेदारीमा म्याक्सवेलले १७९ रन र कुमिन्सकाे याेगदान १२ रन (६८ बल)काे थियाे ।
म्याक्सवेलले शतक हानेपछि घाइते भएका थिए । रनका लागि दाैडिने अवस्थामा नै थिएनन् । तर उनले हार मानेनन् । एउटै खुट्टाकाे भरमा चाैका र छक्काकाे वर्षा गरिरहे । म्याक्सवेलले १२८ बलकाे सामना गर्दा कुल १० छक्का र २१ चाैका प्रहार गरेका छन् । पछिल्ला ओेभरमा उनले अधिकांस रन बाउन्ड्रीबाट लिएका थिए ।
म्याक्सवेललाई अफगानिस्तानले दुईपटक क्याच ड्रप गरेकाे थियाे । ३३ रनकाे अवस्थामा उनकाे सहज क्याच मुजिबुर रहमानले छाेडेका थिए । त्यही नै खेलकाे टर्निङ प्वाइन्ट सावित भयाे ।
आजकाे जितसँगै अष्ट्रेलिया विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ भने अफगानिस्तानकाे सम्भावना कमजाेर भएकाे छ ।