एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका बिर्सन नसकिने १० व्यक्तिगत इनिङ्स – Nepal Press

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका बिर्सन नसकिने १० व्यक्तिगत इनिङ्स

नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मंगलबार अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अविश्वसनीय पाली खेले ।

अफगानिस्तानविरुद्ध २९२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया कुनै समय ९१ रन जोड्दा ७ विकेट गुमाएर हार नजिक पुगेको थियो । तर, म्याक्सवेलले कप्तान प्याट कुमिन्ससँग आठौं विकेटका लागि २०२ रनको साझेदारी गरेर अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जीत दिलाए । म्याक्सवेल २०१ रनमा अविजित रहे । उनले थुप्रै कीर्तिमान बनाए ।

म्याक्सवेल एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो अस्ट्रेलियन बने भने लक्ष्य पछ्याउने क्रममा दोहोरो शतक बनाउने विश्वकै पहिलो ब्याट्सम्यान भए । त्यसअघि प्रारम्भिक ब्याट्सम्यानबाहेक कसैले पनि दोहोरो शतक बनाउन सकेको थिएन । म्याक्सवेल छैटौं नम्बरमा ब्याटिङमा आएका थिए ।

कुमिन्ससँग गरेको साझेदारीमध्ये ८८.६१ प्रतिशत रन म्याक्सवेलले मात्र जोडेका थिए । कुमिन्स यो खेलमा १२ रनमा अविजित रहे । उनले क्रिजमा टिकेर म्याक्सवेललाई मात्र खेल्न दिइरहे । कुमिन्सले ६८ बल खेल्दै एक चौका प्रहार गरेका थिए भने म्याक्सवेलले १२८ बलमा १० छक्का र २१ चौका हिर्काएका थिए ।

हालै नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा कुमिन्ससँग म्याक्सवेलले १०३ रनको साझेदारी गर्दा ८८.३५ प्रतिशत रन उनी आफैंले जोडेका थिए । त्यस खेलमा उनले ९१ रन बनाएका थिए ।

भारतसँग भिड्ने क्रममा श्रीलंकाका दासुन सनाकाले कसुन रजिथासँग १०० रनको साझेदारी गरेका थिए । त्यसमा सनाकाले मात्र ८८ प्रतिशत रन जोडेका थिए । सन् २०१४ मा भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध रोबिन उथ्थपासँग १२८ रनको साझेदारी गरेका थिए । त्यस साझेदारीमा रोहितले मात्र ८५.१६ प्रतिशत अर्थात १०९ रन जोडेका थिए ।

क्रिकेटसम्बन्धी चर्चित वेब पोर्टल क्रिकइन्फोले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकल प्रदर्शन भएका शीर्ष १० वटा इनिङ्सको सूची बनाएको छ ।

इङ्ल्यान्डविरुद्ध रिचर्ड्सको अविजित १८९ रन

सन् १९८४ मा वेस्ट इन्डिजका भिभ रिचर्ड्सले इङ्ल्यान्डविरुद्ध एक्लै अविजित १८९ रन बनाएका थिए । वेस्ट इन्डिजले ११ रनमा २ विकेट गुमाएको अवस्थामा रिचर्ड्स क्रिजमा आएका थिए । त्यसपछि वेस्ट इन्डिज १६६-९ को अवस्थामा पुगेको थियो । रिचर्ड्स बाँकी नै थिए । उनले १०औं विकेटका लागि माइकल होल्डिङसँग १०६ रनको साझेदारी गरे । यो खेलमा वेस्ट इन्डिजका अन्य १० जना ब्याट्सम्यानले कुल ७३ रन जोडेका थिए ।

रिचर्ड्सको त्यो रन लामो समय एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत सर्वाधिक रनको इनिङ्सका रुपमा रहेको थियो ।

जिम्बावेविरुद्ध कपिल देवको अविजित १७५ रन

सन् १९८३ मा भारतका कपिल देवले जिम्बावेविरुद्ध अविजित १७५ रन बनाएका थिए । भारतले १७ रनमा ५ र ७८ रनमा ७ विकेट गुमाएको थियो । १४० रन जोड्दा भारत ८ विकेटको स्थितिमा थियो । तर, कपिल देव क्रिजमा बाँकी नै थिए । उनले १२७ को स्ट्राइक रेटमा १७५ रन जोडेका थिए । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय खेलाडीले बनाएको त्यो पहिलो शतक थियो ।

भारतविरुद्ध सइद अनवरको १९४ रन

सन् १९९७ मा भारत भ्रमणमा रहेको पाकिस्तानका लागि सइद अनवरले १९४ रनको इनिङ्स खेलेका थिए । चेन्नईमा भएको यस खेलमा पाकिस्तानले ३२७ रन जोडेको थियो । अनवर त्यतिबेला एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत सर्वाधिक रनको इनिङ्स खेल्ने ब्याट्सम्यान बनेका थिए । उनी ४७औं ओभरमा क्याच आउट भएपछि दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान हुनबाट चुकेका थिए ।

वेस्ट इन्डिजविरुद्ध गुप्टिलको अविजित २३७ रन

सन् २०१५ मा न्युजिल्यान्डका मार्टिन गुप्टिलले वेस्ट इन्डिजविरुद्ध अविजित २३७ रन जोडेका थिए । विश्वकपको क्वाटरफाइनलमा भिड्ने क्रममा गुप्टिलले पहिलो ओभरमै जीवनदान पाएका थिए । त्यस खेलमा न्युजिल्यान्डले ३९४ रनको लक्ष्य दिएको थियो । गुप्टिलले १६३ बलमा ११ छक्का र २४ चौका प्रहार गरेका थिए ।

श्रीलंकाविरुद्ध रोहित शर्माको २६४ रन

सन् २०१४ मा भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध २६४ रन बनाएका थिए । चोटग्रस्त शिखर धवनको स्थानमा उनलाई टोलीमा समावेश गरिएको थियो । पहिलो ओभरमा रन जोड्न नसकेका रोहितले सुरुका १८ बलमा केवल ४ रनमात्र बनाएका थिए । तर, त्यसपछि उनी खह्रो उत्रिए । ७२ बलमा अर्धशतक र सय बलमा शतक पूरा गरेका उनले १५० रन १२५ बल र २०० रन १५१ बलमा पुरा गरेका थिए । त्यस खेलमा भारतले ४०४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाविरुद्ध फाखर जमानको १९३ रन

सन् २०२१ मा पाकिस्तानका फाखर जमानले दक्षिण अफ्रिकाविरुद्ध १९३ रनको सम्झनलायक इनिङ्स खेलेका थिए । ३४२ रनको लक्ष्य पछ्याएको पाकिस्तान १२०-५ को अवस्थामा पुगेर संकटमा देखिएको थियो । १७ रनले पराजित भए पनि फाखरले अन्तिम समयसम्म आशा कायम राखेका थिए । फाखरले १५५ बलमा १० छक्का र १८ चौका हिर्काएका थिए ।

अस्ट्रेलियाविरुद्ध तेन्दुलकरको १७५ रन

सन् २००९ मा अस्ट्रेलियाविरुद्ध भिड्ने क्रममा भारतले ३५१ रनको लक्ष्य पाएको थियो । भारतलाई जीतका लागि १९ रन आवश्यक रहेका बेला तेन्दुलकर आउट भएका थिए । तर, त्यस खेलमा सचिनले अविस्मरणीय पाली खेलेका थिए ।

भारतविरुद्ध जयसूर्याको १८९ रन

सन् २००० मा भारतविरुद्ध श्रीलंकाका सनथ जयसूर्याले १८९ रनको पाली खेलेका थिए । १६१ बलमा उनले ४ छक्का र २१ चौका हिर्काएका थिए । जयसूर्याको शानदार प्रदर्शनपछि श्रीलंकाले ३०० रनको लक्ष्य दिएको थियो । भारतीय टोली यो खेलमा ५४ रनमा अलआउट भएको थियो ।

न्युजिल्यान्डविरुद्ध स्टोइनिसको अविजित १४६ रन

सन् २०१७ मा अस्ट्रेलियाका मार्कस स्टोइनिसले न्युजिल्यान्डविरुद्ध अविजित १४६ रन बनाएका थिए । २८७ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६७ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । सातौं नम्बरमा ब्याटिङमा आएका स्टोइनिसले १०औं विकेटका लागि जोस हेजलउडसँग ५४ रनको साझेदारी गरेका थिए । तर, हेजलउडले एक रन पनि बनाउन सकेका थिएनन् । अस्ट्रेलियालाई जीतका लागि ५ रनमात्र चाहिएका बेला ४७औं ओभरको अन्तिम बलमा हेजलउड रन आउट भएका थिए ।

न्युजिल्यान्डविरुद्ध परेराको १४० रन

सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध ३२० रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि थिसरा परेरा एक्लैले १४० रन बनाएका थिए । राम्रो सुरुवात गरेर पनि श्रीलंका १२८-७ को स्थितिमा पुगेको थियो । तर, परेरा क्रिजमै थिए । ५७ बलमा शतक पूरा गरेका उनले अन्तिम समयसम्म पनि प्रयास गरे । यो खेल श्रीलंकाले २१ रनले गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *