पूर्वीचौकीका भूकम्पपीडितको टहरामा बास, घर बनाउन सरकारको आश
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–७ का भरत बिकको परिवारले करिब ६ महिनासम्म त्रिपाल मुनि बितायो । गत चैतमा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्चले अस्थायी टहरा निर्माण गरिदिएपछि श्रीमती र ३ छोराछोरी सहित भरत उक्त अस्थायी टहरामा बस्दै आएका छन् ।
गत वर्ष आएको भूकम्पले भरतको घर पूर्णरुपमा क्षति भयो । घरमा बस्न नमिल्ने भएपछि उनको परिवारको बास त्रिपाल मुनि भयो । ‘अस्थायी टहरा वनाएपछि केही सहज भएको छ’, भरत भन्छन् ‘त्रिपाल मुनिको बासभन्दा यो अलि सुरक्षित लागेको छ ।’ गत वर्षको हिउँद त्रिपाल मुनि बिताएको सम्झँदै भरत थप्छन्, ‘यस वर्ष त्यति जाडो हुँदैन कि भन्ने आश छ ।’
भरत आफ्नो स्थायी घर बनाउन चाहान्छन् । तर आर्थिक अभावका कारण उनले घर बनाउन सकिरहेका छैनन् । ‘सरकारले घर बनाउनका लागि सहयोग गर्ने भन्ने सुनेको थिएँ, तर अहिलेसम्म केही भएको छैन’, भरत भन्छन्, ‘कसैले सहयोग गरे घर बनाउन सकिन्छ, नत्र तत्काल घर बनाउने सम्भावना छैन ।’ उनी जति दिन चल्छ त्यही टिनको टहरामा बस्ने बताउँछन् ।
पूर्वीचौकी गाउँपालिका–४ का धर्म दमाईले पनि गत वर्षको भूकम्पमा आफ्नो घर गुमाउनु पर्यो । घर भत्केपछि उनको परिवारले लामो समयसम्म त्रिपाल मुनि बस्नु पर्यो । गत फागुनमा नेपाल रेडक्रस सोसाईटीले अस्थायी टहरा निर्माण गरिदिएपछि धर्मको परिवार टहरामा सरेको छ ।
धर्मलाई पनि पक्की घर निर्माण गरेर बस्ने रहर छ । तर आर्थिक अवस्थाका कारण उनले घर बनाउन सकेका छैनन् । ‘पक्की घरमा बस्न त कस्लाई मन नहोला र !’, मलिन अनुहार बनाउँदै धर्म भन्छन्, ‘तर आफुसँग पैसा छैन, कसरी घर बनाउनु ?’
धर्म सरकारले छिटो घर बनाइ दिनुपर्ने बताउँछन् । ‘आश जति सरकारकै छ, सरकारले दिए घर बन्ने हो, नत्र यही टिनको टहरामा मर्नुपर्ने अवस्था आउन सक्छ’, धर्म भन्छन्, ‘रेडक्रसले यत्तिको टहरा बनाइदिएकोले टाउको लुकाउन पाइएको छ ।’
पूर्वीचौकी गाउँपालिका–४ कि देवुदेवी दमाईको पनि अवस्था उस्तै छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बास बसेको तितो अनूभव सम्झिन्छन् उनी । ‘चिसो हुने, कतै पानी पनि चुहिने अवस्था थियो’, देवुदेवी भन्छिन्, ‘त्यो भन्दा त यो टहराले धेरै सहज वनाएको छ ।’ उनी जीवनभरी टहरामै बस्नु पर्ने हो कि भनेर संका व्यक्त गर्छिन् । ‘सरकारले हाम्रो घर बनाइदेला कि नाई सर ?’ देवुदेवीले प्रश्न गरिन् । उनी आफ्नै लगानीमा घर बनाउन नसकिने बताउँछिन् ।
भरत, धर्म र देवुदेवी मात्रै हैन, भूकम्पमा परी घर क्षति भएको अधिकांश व्यक्तिहरु नयाँ घर निर्माणका लागि सरकारको मुख ताक्दै बसेका छन् । सरकारले वा अन्य कुनै संघसंस्थाहरुले सहयोग गरिदिए मात्रै घर बनाउन सकिने उनीहरुको भनाइ छ ।
‘आर्थिक अवस्था कमजोर छ, साँझ बिहानको छाक टार्न धौ धौ भएका बेला कसरी घर निर्माण गर्नु’, पूवीचौकी गाउँपालिका–२ बगलेककी चद्रा नेपाली भन्छिन्, ‘कसैले सहायता दिए घर वनाउँछौं हैन भने जतिसम्म चल्छ उतिसम्म यही टहरामा बस्छौं ।’
२०७९ साल कात्तिक २२ गते राति २ बजेर १२ मिनेटमा डोटीको खप्तड क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्नेच्यूटको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ का ६ जनाको ज्यान गएको थियो । भूकम्पले पूर्वीचौकीका मात्रै एक हजार ९२७ घर क्षति पुर्याएको थियो । तिमध्ये हालसम्म ११७ घर स्थानीयले आफैं निर्माण गरेका छन् ।
नयाँ निर्माण भएका घरहरु पनि भूकम्पीय दृष्टिले सुरक्षित नभएको नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य लक्षीराम कुँवर बताउँछन् । ‘नयाँ घर त बने तर मापदण्ड अनुसार बनेनन्’, कुँवर भन्छन्, ‘नयाँ घरहरुमा पनि भूकम्पीय जोखिम कायमै रह्यो ।’
स्थानीयले आफैं निर्माण गरेकामध्ये १५ घरमात्रै मापदण्ड अनुसार निर्माण भएको पुननिर्माण कार्यमा प्राविधिक सहयोग गरिरहेको सम विकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसीले जानकारी दिए । डोटी भूकम्प प्रतिकार्य परियोजना अन्तरगत नयाँ निर्माण हुने घरका लागि आफूहरुले प्राविधिक सहयोग गरिरहेको अध्यक्ष बिसीको भनाइ छ ।
रेडक्रसले २३३ र उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्चले ६८ गरी यस क्षेत्रमा ३०१ अस्थायी टहरा निर्माण भएका छन् । अन्य भूकम्प पिडितहरु पानी परेको बेला त्रिपालमूनी बस्ने र अन्य समय चर्केकै घरमा जोखिम मोलेर बस्ने गरेको स्थानीय पदम बोहरा बताउँछन् ।
भूकम्पबाट भत्किएका घरहरुको पुननिर्माणका लागि हालसम्म कुनै निर्देशन नआएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय बताउँछन् । ‘पूर्वीचौकी गाउँपालिकामा पुननिर्माण गर्नु पर्ने घरको टुङ्गो लागिसकेको छ’, उपाध्यायले भने, ‘दिपायल सिलगढीमा पनि अब करिब करिब अन्तिम चरणमा छ तर सायलमा अझै सर्वे हुन सकेको छैन ।’
पुननिर्माणका लागि आर्थिक सहायता सम्वन्धी कार्यविधि तयार नभएका कारण पनि ढिलाई भएको हुन सक्ने उपाध्याय बताउँछन् ।