बेलायतमा नेपालीबाटै ठगिएको भन्दै एक महिलाको गुनासो
काठमाडौं । बेलायतमा एक नेपाली महिलाले आफू एक पुरुषबाटै ठगिएको गुनासोसहित सहयोगको याचना गरेकी छन् । धरान घर भई बेलायतको प्लमस्टेडमा बस्दै आएकी एस्थर राईले बेलायतमा बसोबास गर्ने वीरेन्द्र नेपालले आफूलाई बस्ने कोठा मिलाउने क्रममा लिइएको धरौटी रकम फिर्ता नदिएर पीडित बनाएको बताएकी हुन् ।
राईलाई नेपालले प्लमस्टेडस्थित भुवन खत्रीको घरमा बसोबासका लागि कोठा मिलाइदिएका थिए । कोठा भाडा बस्नुअगावै नेपालले राईबाट डिपोजिट बापत ६ सय पाउन्ड रकम लिएका थिए । जुनको १० तारिखदेखि खत्रीको घरमा बस्दै आएकी राईले सम्झौता गर्ने क्रममा उक्त रकम वीरेन्द्रलाई दिएकी थिइन ।
कोठा छोड्नु १ महिनाअगावै घरवालालाई जानकारी दिएर सरेपनि २ महिना बित्दासम्म रकम फिर्ता नपाएको उनको दाबी छ । पूर्व बेलायती गोर्खा सैनिककी सन्तान उनले आफू वीरेन्द्र नेपालबाट ठगिएकी भन्दै नेपाली समुदायसँग हारगुहार गर्दै आएकी छन् । पीडित महिलाले पैसा नपाए कानूनी प्रक्रियामा जानेसमेत बताएकी छन् ।
तर, एक सुन पसलमा पुगेर पैसा दिएको र एस्थरले रकम पाइसकेको साथै उक्त रकम पाएकोसम्बन्धी कुराकानीको स्क्रिनसट आफूसँग सुरक्षित रहेको वीरेन्द्रको भनाइ छ ।