रास्वपाले सरकारसँग माग्यो ‘पुनर्निमाणको ठेक्का’, निर्णयको तेस्रो बुँदाले पार्टीभित्र खैलाबैला – Nepal Press

रास्वपाले सरकारसँग माग्यो ‘पुनर्निमाणको ठेक्का’, निर्णयको तेस्रो बुँदाले पार्टीभित्र खैलाबैला

काठमाडौं । कात्तिक २३ गते विहीवार गते प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको वक्तव्यको मुख्य अन्तर्यमा कसैको चासो नगएपछि सो पार्टीका नेताहरुबीचमै मतान्तर प्रकट भएका छन् ।

रास्वपाले जाजरकोट भूकम्पपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेको थियो । बैठकपछि प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले ७ बुँदे वक्तव्यमा भुकम्प प्रभावितको राहत,उद्दार र पुननिर्माणको सन्दर्भमा पार्टीको निर्णय सार्वजनिक गरेका थिए ।

रास्वपाले अघि सारेका सुझावहरुको समाचार आए पनि उसले राखेको माग वा प्रस्तावको मुख्य विषय बहसमा नआएपछि पार्टीभित्र भने मतान्तर प्रकट भएको छ । त्यो विषय हो, भूकम्प प्रभावितको पुनःस्थापना र पुननिर्माणको नेतृत्व रास्वपालाई दिनुपर्ने निर्णय । प्रेस वक्तव्यको तेस्रो बुँदामा उल्लेखि सो निर्णयलाई लिएर रास्वपाकै कतिपय नेताले असन्तुष्टि जनाएका छन् ।

वक्तव्यमा भनिएको छ–प्रभावितहरुको प्रारम्भिक पुनःस्थापना एवं भुकम्पपछिको पुननिर्माणका लागि पार्टीमा रहेका विज्ञहरुको विज्ञता तथा स्वयंसेवकका रुपमा मानवनीय संशाधन निशर्त सरकारलाई सहयोग गर्न रास्वपा तत्पर रहेको छ । साथै,देशको चौथो ठूलो राजनीतिक दल एवं नेपाली जनताको नविन आशाको केन्द्रबिन्दुमा रहेका नाताले भुकम्पपछिको पुनःस्थापना एवं पुननिर्माणको नेतृत्व रास्वपालाई दिन सरकारसमक्ष हार्दिक अपिल गर्दछ ।

राजनीतिक दलले पुननिर्माण जस्तो प्राविधिक र बजेटरी कामको जिम्मा खोज्नु अपरिपक्वता हुने भन्दै नेताहरुले यो वक्तव्यको बुँदामा विमति जनाएका छन् । पुननिर्माण प्राधिकरणले विगतको गरेको काम यसपटक रास्वपाले मागेको हो ? यो प्रश्न उठेको छ ।

ती नेताले भने–धन्न मिडियाले यो विषयमा ध्यान दिएनन् त्यस दिन । नत्र राजनीतिक पार्टीले ठेक्कापट्टाको काम देऊ भन्नु हाम्रो अपरिपक्वता र हास्यास्पद कुरा हो । हाम्रा विज्ञ र प्राविधिकहरु स्वयंसेवीरुपमा दिन्छौं भनेको भए हुन्थ्यो,आयोजना नै निर्माणको काम हामीलाई देऊ भन्नु त हामीलाई नै उडाउने कुरा भयो ।

एउटा पार्टीले पुनःनिर्माण गर्न हामीलाई देऊ भनेर औपचारिक निर्णय गर्नु लाजमर्दो कुरा भएकाले यसलाई सच्याउन आग्रह गरिएको उनले बताए ।

 


प्रतिक्रिया

One thought on “रास्वपाले सरकारसँग माग्यो ‘पुनर्निमाणको ठेक्का’, निर्णयको तेस्रो बुँदाले पार्टीभित्र खैलाबैला

  1. रविजस्ता मान्छे नचिनेका हुन् ? कमाउ धन्दाका नेता छन् रास्वपामा । झन् चाँडो सकिन्छन् यी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर