पारसले चलाए महिला क्रिकेट टीम: कप्तानबाट रुविना ‘फायर’, प्रशिक्षकमा मनोज कटुवाल ‘हायर’
सुदूरपश्चिमकी विन्दूलाई उपकप्तान दिइएपछि चतुर पनि खुशी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा आउँदो नोभेम्बर १५ देखि सुरु हुने चार देशीय महिला टी-२० सिरिजमा नेपाली टीमको कप्तान परिवर्तन गरेको छ । एक दशकभन्दा बढी समयदेखि कप्तानी गरिरहेकी रुविना क्षेत्रीको स्थानमा ईन्दु वर्मा ल्याइएको हो ।
क्यानले कप्तान परिवर्तनबारे आधिकारिक रुपमा जानकारी गराएको थिएन । चार देशीय प्रतियोगिताका लागि स्क्वाड सार्वजनिक गर्दा ईन्दुलाई नयाँ कप्तान गरिएको खुलासा भएको थियो । समाचारहरुमा आएपछि मात्रै क्यानको आधिकारिक पेजबाट पोस्ट गरियो । त्यसपछि अर्को पोस्ट गर्दै रुविनालाई धन्यवाद ज्ञापन गरिएको छ ।
क्यानले भनेको छ, ‘पूर्वकप्तान रुविना क्षेत्रीलाई ११ वर्षसम्म राष्ट्रिय महिला टीमको सफल नेतृत्व गरेकोमा हामी आभार प्रकट गर्छौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टीमको सिनियर सदस्यका रुपमा उत्तिकै योगदान दिनेमा आशावादी छौं ।’
फेसबुक पोष्टमा सम्मानजनक शब्दहरु खर्चिए पनि कप्तानबाट रुविनाको विस्थापन भने सम्मानजनक हुन सकेन । रुविना स्वयंले यसप्रति असन्तुष्टिको संकेत गरेकी छन् ।
क्यानको निर्णय सार्वजनिक भएपछि रुविनाले इस्टाग्राममा लेखेकी थिइन्, ‘मलाई आशा छ, अब सबैजना खुशी छन् ।’
फेसबुकमा भने रुविनाले कुनै असन्तुष्टि पोखेकी छैनन् । एउटा छोटो विज्ञप्ति निकालेर उनले आफूलाई ११ वर्षसम्म टीमको नेतृत्व दिएकोमा आभार प्रकट गरेकी छन् ।
‘मेरो हौसलामा कमी आउन नदिन लगातार फोन, म्यासेज गर्नुहुने परिवार साथीभाइ र शुभचिन्तकप्रति कृतज्ञ छु । तपाईं सम्पूर्णको साथ सहयोग आगामी दिनमा समेत निरन्तर प्राप्त गर्नेमा विश्वस्त छु’, उनले लेखेकी छन् ।
रुविनाले टीमको सिनियर खेलाडीको रुपमा आफ्नो योगदान निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै नवनियुक्त कप्तान ईन्दु वर्मा र उपकप्तान विन्दु रावललाई बधाई दिएकी छन् ।
रुविना सन २०१२ मा नेरी थापालाई रिप्लेस गर्दै राष्ट्रिय महिला टीमको कप्तान बनेकी थिइन् । त्यसयता उनले निरन्तर टीमको नेतृत्व गर्दै आएकी छन् । नेपाली महिला टीमले पुरुष टीमको जस्तो उचाइ भने लिन सकेको छैन । महिला टीमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर नै कम पाउँछ भने घरेलु प्रतियोगिता नगण्य छन् । प्रतियोगिता खेल्ने बेलामा मात्रै खेलाडीहरुको खोजी हुने गर्छ ।
अहिले सक्रिय महिला क्रिकेटरमा रुविना सबैभन्दा अनुभवी र व्यक्तिगत स्तरमा सफल खेलाडी हुन् । उनी बलिङ र ब्याटिङ दुवैमा अब्बल छिन् । नेपालले जितेका अधिकांश म्याचमा रुविनाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । उनलाई ‘महिला टीमकी पारस खड्का’ भन्दा फरक पर्दैन ।
अहिले अचानक किन रुविनालाई कप्तानीबाट हटाइयो भन्ने खुलेको छैन । यद्यपि, यो क्यानका नवनियुक्त सचिव पारस खड्काको योजनामा भएको बुझिन्छ । उनी महिला टीममा परिवर्तन ल्याउन चाहन्थे ।
‘रुविनाले कप्तानी सम्हालेको लामो समय भइसकेको छ । महिला क्रिकेटमा अलिकति परिवर्तनको आभास गराउन पनि नयाँ कप्तान नियुक्त गर्नु जरुरी देखियो’, उनी निकट स्रोतले भन्यो ।
यद्यपि, रुविनालाई जुन तरिकाले हटाइयो, त्यसले भने क्यानभित्र पनि अलिकति असन्तोषको सञ्चार गरेको छ । क्यानको कार्यसमितिको बैठकले नभइ कार्यसम्पादनको बैठकले यो निर्णय गरेको थियो । कार्यसम्पादनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एक सदस्यमात्रै रहन्छन् । स्रोतका अनुसार अध्यक्ष चतुरबहादुर चन्दलाई विश्वासमा लिएर पारसले क्यानमा आफू अनुकूलका निर्णयहरु गराइरहेका छन् । आफ्नो दोस्रो तथा अन्तिम कार्यकाल भएकाले चतुर पनि पारससँग मिलेरै जाने पक्षमा छन् । उपकप्तानको जिम्मेवारी सुदूरपश्चिमकी विन्दु रावललाई दिइने भएपछि चतुर पनि खुशी छन् ।
क्यानका एक सदस्य भन्छन्, ‘ईन्दुलाई नयाँ कप्तान बनाइएकोमा विरोध होइन । तर, रुविनामाथि अलिकति अपमानजनक व्यवहार भयो कि भन्ने हो । उनलाई आफैं राजीनामा दिन कन्भिन्स्ड गरेको भए हुन्थ्यो । अहिलेको निर्णयले उनलाई बर्खास्त गरिएको सन्देश गएको छ ।’
रुविनाको स्थानमा ल्याइएकी ईन्दु कप्तानीका लागि योग्य नै हुन् । उनी रुविनापछि टोलीको प्रमुख खेलाडीका रुपमा थिइन् । अलराउन्डरको भूमिकामा उनले राम्रो प्रदर्शन गर्दै आएकी छन् ।
प्रशिक्षकमा पारस निकट कटुवाल
कप्तान परिवर्तनको निर्णयसँगै क्यानले महिला टीमको प्रशिक्षकमा मनोज कटुवाल नियुक्त गरेको छ । कटवाल नेपाली राष्ट्रिय पुरुष टीमका पूर्वखेलाडी हुन् ।
प्रशिक्षक नियुक्तिको निर्णय भने किन हो, क्यानले अहिलेसम्म गोप्य राखेको छ । स्क्वाड सार्वजनिक गर्दा त्यसमा प्रशिक्षकको नाम उल्लेख थिएन । मनोज आफैंले पनि फेसबुकमा केही लेखेका छैनन् । तर, क्यान स्रोतले प्रशिक्षकमा उनलाई नियुक्त गरिसकिएको जानकारी दियो ।
यसअघि महिला राष्ट्रिय टीम श्यामसङजंग थापाले सम्हालेका थिए । पुरुष टीममा जस्तो महिला टीममा दीर्घकालीन रुपमा प्रशिक्षक नियुक्ति गरिँदैन । प्रतियोगिता आएपछि प्रशिक्षकको खोजी हुन्छ ।
स्रोतका अनुसार प्रशिक्षकमा मनोजलाई ल्याउने प्रस्ताव पनि पारसकै हुन् । पारस र मनोजले विगतमा एउटै टीमबाट खेल्ने गर्थे । अन्डर १९ टीमदेखि नै उनीहरुसँगै थिए । मनोजले लामै समय नेपाली क्रिकेट टीममा विकेट किपरको भूमिका निभाएका थिए ।
कटवालसँग महिला टीमलाई प्रशिक्षण गरेको अनुभव भने छैन । यसअघि उनी प्रहरीको क्रिकेट टीमका प्रशिक्षक थिए भने विगतमा राष्ट्रिय पुरुष टीमको सहायक प्रशिक्षकको भूमिमा पनि निभाइसकेका छन् ।
नेपाल क्रिकेट संघको हालैको निर्वाचनमा झापाबाट प्रतिनिधि बन्ने विषयमा मनोज र उनका समकालीन क्रिकेटर ल्हाक्पा लामाबीच लफडा भएको थियो । उनीहरु दुवैले प्रतिनिधि दाबी गरेपछि क्यानले झापाको मताधिकार खारेज गरेको थियो भने ल्हाक्पा महाधिवेशनस्थलबाट निकालिएका थिए ।
भ्याकेन्सीविना दुई कर्मचारी नियुक्त
सचिव पारसले नयाँ दरवन्दी सिर्जना गरेर दुई जना कर्मचारी क्यानमा नियुक्त गरेका छन् । स्रोतका अनुसार पारसले आफ्नो र अध्यक्ष चन्दको सचिवालयमा दुई जना ‘सेक्रेटरी’ नियुक्त गराएका हुन् । भ्याकेन्सीविना आफूखुशी नियुक्ति दिइएको भन्दै केही सदस्य असन्तुष्ट रहेको बुझिएको छ ।
अध्यक्षको सचिवालयमा बैतडीका जयसिंह धामी ‘ज्याक’ र सचिवको सचिवालयमा दीपेश पण्डितलाई नियुक्त गरिएको हो । उनीहरुको सेवा–सुविधाबारे पारदर्शी रुपमा निर्णय भएको छैन । कर्मचारी नियुक्ति गर्दा प्रक्रिया पनि मिचिएको स्रोतको दाबी छ ।
– चिरञ्जीवी पौडेल