धनगढीमा प्लास्टिकका मालामा प्रतिबन्ध, २ स्थानमा फूल बिक्री केन्द्र स्थापना
कैलाली । धनगढी उपमहानगर पालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला आयात र बिक्री वितरणमा रोक लगाएको छ । भारतबाट करोडौँमा आयात हुने प्लास्टिकका कृत्रिम फूल मालामा प्रतिबन्ध गरेर पालिकाले स्थानीय किसानले उत्पादन गरेको सयपत्री, मखमली लगायत फूलको प्रवर्द्धन तथा सहज रुपमा खरिद बिक्री गर्न फूल बिक्री केन्द्र स्थापना गरेको छ ।
उपमहानगरपालिकाले अहिले २ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जनाएको हो ।
धनगढी उप-महानगरपालिका परिसर अगाडि र बोराडाँडीस्ति भाटभटेनी सुपर मार्केटमा फूल बिक्री केन्द्र आइतबारदेखि सुरु भएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । योसँगै नगरबासीले तिहारलगायत प्रायोजनको लागि फूल खरिद गर्न पाउने भएका हुन् ।
यस वर्ष धनगढीका झन्डै एक दर्जन किसानले व्यवसायीक रुपमा फूल खेती गरेका छन् । उत्पादित फूल तिहारको समयमा सहज र भरपर्दो रुपमा बिक्री गर्न केन्द्र नै स्थापना गरिदिएर किसानले उत्पादन गरेका फूल बिक्री वितरणमा उपमहानगरले सहयोग गरेको हो ।
उपमहानगरपालिकाले नै फूल बिक्री केन्द्र स्थापना गरिदिएपछि फूल उत्पादक किसान उत्साहित भएका छन् ।