सीप, श्रम र सङ्घर्षबाट फेरिँदै छविलालको ‘छवि’
कैलाली । शारीरिक रुपमा अशक्त भएर पनि पौरखीहरूका लागि कैलाली घोडाघोडी –१ छविलाल चौधरी प्रेरणाका पात्र बनिरहेका छन् ।
हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका छविलाल बेतबासको सामाग्री बनाउँदै र माटोको भाडा बेच्दै आफू र आफ्नो परिवार मात्रै पालिरहेका छैनन् अशक्त भएर केही गर्न सकिँदैन भन्नेहरूका लागि ऊर्जा बनिरहेका छन् ।
सुरुमा २५ हजार रुपैयाँ साना किसानबाट निकालेर कारोबार गरेका उनी अहिले आफ्नो सीप, श्रम र सङ्घर्षबाट उत्साहित छन् ।
शारीरिक अशक्तता भए पनि उनलाई त्यो भान भने कहिल्यै भएन। सुरुमा ८ सय रुपैयाँ भाडा तिरेर उनले व्यापार सुरु गरेका हुन्। त्यसपछि अहिले आफ्नै घरमै पसल राखेका छन्।
नेपाल अपाङ्ग सङ्घबाट सिलाइ कटाइको तालिम लिएका छविले वेद बाँसको पनि तालिम लिएका छन्। ७ वर्ष पहिले ऋण निकाले र आफ्नै घरमै वेतबाँसका सामान बनाउन थालेका हुन् ।
उनले वेतबाँसका मुढा, फुल्दानी, चुरा स्टेण्ड, र्याग, कुर्सी, टेबल, ह्याङ्गर लगायतका सामान बनाउँछन्। २ सय ५० देखि रु ३ हजारसम्ममा ती समाग्रीहरु उनले बेच्ने गरेका छन्। छविलाललाई सँगसँगै ताराले पनि सघाउने गर्छिन्।
वेद किन्न केही टाढा जानु पर्दा उनलाई समस्या हुने गरेको छ। तर पनि जसो तसो गुजारा चलाइ रहेका छन्। उनले अहिले अन्य केहीलाई पनि रोजगारी दिएका छन्।
उनले बनाएका मुढाहरू कैलालीसँगै कञ्चनपुरमा पनि खपत भइरहेको छ। उनी मासिक ३० हजार भन्दा बढी आम्दानी हुने गरेको बताउँछन्। ३० हजारले चल्छ त दैनिकी ? उनी भन्छन्, ‘हिजो सुक्को नहुँदा अपहेलना र तिरस्कारमा हुर्किनु परेको थियो, अहिले त सर्वस्व पुगेको आभास हुन्छ।’
ताराले फुर्सदको समयमा माटाका खुत्रुके, घैँटो लगायतका सामान बेच्ने गर्छिन्। सिलाइ कटाइको तालिम लिएका छविले तारालाई पनि सिलाइकटाई सिकाएका छन्। लेखपढ गर्न नपाएको र आर्थिक अभावकाबिच हुर्किएको सम्झिँदै उहाँले छोरालाई निजी विद्यालयमा बढाइरहेका छन्।
‘…त्यसपछि टेक्नै नसक्ने भए’
वि.सं २०४३ मा कैलालीको पथरैयामा जन्मिएका छविलालले आफू सपाङ्ग भएको थाहासम्म पाउन पाएनन्। उनले थाहा पाउँदा उनी दुई खुट्टा र दुई हातको सहारामा चल्ने भएका थिए।
घण्टौसम्म कसेर बोक्दा रक्तसञ्चार हुन नपाउँदा उनी अपाङ्ग भएको उनका आफन्तहरू बताउँछन्। उनी पनि यही भन्छन्। ‘करिब २ वर्षको हुँदा मेरो जेठो दाइ बिरामी हुनुभएको थियो अरे, आमाले मलाई पिठ्युँमै बोकेर पथरैयाबाट मुनुवा, मुनुवाबाट फेरि पथरैया लिएर घरमा राखेदेखि मेरा दुवै खुट्टा चल्न छाड्यो अरे’ उनले आफूले सुनाएको कुरा हामीलाई सुनाउँदै भने, ‘आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न पाउनु भएन अरे, अनि म यस्तो भए अरे।’
सानैमा दुबै खुट्टा गुमाएर सहाराविहीन भएका छविलाल त्यो बेला पूर्ण बेसहारा भए, जब उनकै बुवाको निधन भयो। कमैया काम गरिरहेका बेला गोरु गाडाले किचेर उनको बुवाको ज्यान गएको थियो।
पथरैया मुक्त कमैया शिविरमा जन्मे हुर्केका छविलाल अहिले घोडाघोडी नगरपालिका–१ स्थित मुक्त कमैया शिविरमा एक छोरा र श्रीमतीसँगै बस्दै आएका छन्।
आफू अपाङ्गता भएका कारण समाजमा धेरै अपहेलना सहनु परेको उनको भनाइ छ।
पुस्तौसम्म कमैया बसेका छविलालको परिवार मुक्त पछि पनि त्यो भन्दा सहज जीवन भने बाँच्न पाएनन्। सानैमा सहारा गुमाएपछि आहाराको लागि हरेक काम गर्न बाध्य छविलाललाई केही वर्ष यता भने सन्तोष मिलेको छ।
‘सबैबाट एक्लिएपछि मेरो संसारमा केही छैन भन्ने लागेको थियो, मलिन अनुहारमा उनले भने, ‘उनी आएपछि मेरा जीवन फेरिँदै गएको छ। ’