टी-२० क्रिकेट शृङ्खला : तान्जनियासँग नेपाल २७ रनले पराजित
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृङ्खलामा तान्जनियासँग नेपाल पराजित भएको छ ।
एक सय १६ रनको लक्ष्य पछ्याउँदै गरेको सबै विकेट गुमाएर ८८ रन मात्रै बनायो ।
हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जिनियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै तान्जिनियाले ११५ रन बनाउँदा नेपालले पुरै ओभर खेल्न नपाउँदै सबै विकेट गुमाएको थियो ।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४३ रन बनाइन् । ३१ बल सामना गरेकी सीताले ४ छक्काको मद्दतले ४३ रनको योगदान दिइन् । कप्तान इन्द्रु वर्माले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न तान्जनियाकी सोफिया जेरोमले सर्वाधिक ३ विकेट लिइन् ।
आइसिसी बरियतामा तान्जानिया १९औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।
नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्।
कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो।
क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दै आएकी थिइन्।
नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।