‘दिमाग खराब’ को प्रतिरोधले फिल्म उद्योगमा तरंग, प्रदर्शकको दिमाग सुल्टेला ? – Nepal Press

‘दिमाग खराब’ को प्रतिरोधले फिल्म उद्योगमा तरंग, प्रदर्शकको दिमाग सुल्टेला ?

आन्तरिक बैठकमा छन् हल सञ्चालक र निर्माता संघ

काठमाडौं । हालै रिलिज भएको चलचित्र ‘दिमाग खराब’ का निर्देशक निश्चल बस्नेत हिजो भाइ टीकाको दिन फेसबुक लाइभमा आएर एउटा कठोर निर्णय सुनाए । आफ्नो निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’ लाई हलहरुले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले दुई वटा शर्त पूरा नभए चलचित्र प्रदर्शन नै रोक्ने घोषणा गरेका छन् ।

निश्चलले अघि सारेका दुई वटा शर्त हुन्, ‘दिमाग खराब’लाई विदेशी चलचित्र बराबर शो दिइनुपर्ने र प्रदर्शन हुञ्जेलसम्म निर्माताले आम्दानीको ५० प्रतिशत हिस्सा पाउनुपर्ने । निर्माता र निर्देशकले विज्ञप्ति जारी गरेर पनि आफ्नो अडान सार्वजनिक गरिसकेका छन्, जसले अहिले सिंगो फिल्म वृत्तलाई तरंगित तुल्याएको छ । फिल्मकर्मीदेखि पत्रकार र सर्वसाधारणको समेत सहानूभुति ‘दिमाग खराब’ ले पाएको छ ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का स्टारर गत शुक्रबार यो चलचित्र प्रदर्शनमा आएको हो । सुरुका दुई दिन आक्रामक व्यापार नगरे पनि राम्रो समीक्षा र बलियो वर्ड अफ माउथका कारण चलचित्रले पिकअप लिइरहेको थियो । हलमा दर्शक बढिरहेका थिए । तर, सुरुबाटै चलचित्रले हलहरुमा उल्लेख्य शो पाउन सकेको छैन ।

व्यापार राम्रो नहुँदा आफूहरुले गुनासो गर्ने आधार नभए पनि चलचित्रले पिकअप लिइरहँदा पर्याप्त शो नदिइएको निश्चलले बताएका छन् ।

उनले फेसबुक लाइभमा भनेका थिए, ‘दर्शकहरु दिनदिनै बढिरहेका छन् । तर, हलहरुको प्राथमिकतामा नेपाली चलचित्र छैन । उनीहरु विदेशी चलचित्रबाट उब्रेको शोमात्र दिमाग खराबलाई उपलब्ध गराउन चाहन्छन् ।’

विदेशी चलचित्र भनेर निश्चलले भारतीय चलचित्र ‘टाइगर ३’ लाई ईंगित गर्न खोजेका हुन् । सलमान खान अभिनित यो चलचित्र गत आइतबार रिलिज भएको थियो । भारतीय राष्ट्रवादमा आधारित फिल्मलाई नेपालका हलहरुले उच्च शो दिएका छन् । टाइगर–३ को आगमनसँगै दिमाग खराबको शो खुम्चिन पुग्यो । दर्शकको फ्लो बढिरहँदा हलहरुले पर्याप्त शो नदिएपछि दिमाग खराबको निर्माण पक्ष उद्वेलित बनेको हो ।

नेपालमा चलचित्र प्रदर्शक र निर्माताबीचको यस्तो द्वन्द्व भने यो पहिलो होइन । पर्याप्त शो नपाएर हलबाट चलचित्र हटाउने निर्णय लिइएको पनि पहिलो पटक होइन । यसअघि चलचित्र ‘प्रकाश’ लाई हलहरुले तिरस्कार गरेपछि सो चलचित्रका नायक प्रदीप खड्काले सार्वजनिक रुपमा प्रतिवाद गरेका थिए । त्यसै बेला रिलिज भएको ‘राधा’ लाई प्रदर्शनमा पक्षपात गरिएको भन्दै निर्माण पक्षले हलबाटै उतारेका थिए ।

दिमाग खराबको प्रतिरोधले भने राम्रै तरंग उब्जिएको छ । निश्चल बस्नेत जस्ता हाइप्रोफाइल निर्देशकसमेत अन्यायमा पर्दा नेपालका चलचित्र प्रदर्शकहरुको नियतमाथि प्रश्न उठेको छ । यो चलचित्र ४ करोडको बजेटमा बनेको हो । यति ठूलो लगानी उठाउन निर्मातालाई त्यति सहज हुँदैन । सिनेमाले यति कमायो, त्यति कमायो भन्ने गरिए पनि निर्माताको हातमा त्यसको न्यून हिस्सा मात्रै पर्छ । पहिलो र दोस्रो हप्ता हुने आम्दानीको ५० प्रतिशत निर्माताले पाउँछन् । तर, तेस्रो हप्तापछि निर्माताको हिस्सा ३५ प्रतिशतमा झर्छ । यस हिसाबले दिमाग खराबले हलबाट लगानी उठाउन १० करोडभन्दा बढीको व्यापार गर्नुपर्ने हुन्छ ।

तेस्रो हप्ताबाट निर्माताको शेयर किन कम भन्ने खासै तार्किक जवाफ छैन । तर, यो विगतमा निर्माता र प्रदर्शकहरुबीच भएको सम्झौता हो । अब यसलाई सच्याउनुपर्ने फिल्मकर्मीले महसुस गरिरहेका छन् । तर, योभन्दा संवेदनशील विषय चाहिँ विदेशी चलचित्रलाई काखी च्याप्ने र स्वदेशी चलचित्रलाई हेंलाहोचो गर्ने प्रदर्शकहरुको प्रवृत्ति हो । यसै पनि भारतीय चलचित्रको दबदबाका कारण मारमा परेको नेपाली चलचित्र उद्योगलाई प्रदर्शकहरुले थप आघात पुर्‍याइरहेका छन् ।

दिमाग खराबले कहिलेबाट प्रदर्शन रोक्छ भन्ने विज्ञप्तिमा खुलाइएको छैन । आजसम्म चलचित्र प्रदर्शनमै छ । निर्देशक बस्नेतले आफ्नो दुई वटा शर्त पूरा नभए दुई दिनपछि चलचित्र हलबाट उतारेर वैकल्पिक माध्यमबाट दर्शकसम्म पुर्‍याउने बताएका थिए । आज कुरा नमिलेको खण्डमा सम्भवतः भोलिबाट यो चलचित्र हलमा हेर्न पाइने छैन । अहिले चलचित्र निर्माता र प्रदर्शकहरु यो विषयलाई लिएर छुट्टाछुट्टै बैठकमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर