कविता : परिवर्तन
हरियो वन नेपालको धनका खातिर, वन व्यवस्थापन नगरी काठ किन्ने भएछौ
कृषि प्रधान देशका लह लह फाँटहरु, टुक्र्याएर घडेरी बेच्ने भएछौ
प्राकृतिक कृषि छटामा सिकाउन नसकेर, मरुभूमिमा खेती सिक्न इजरायल पठाउछौं
त्यसैले त शहरमा मात्र बेसाएर खाने हामी, गाउँमा पनि बेसाएर खाने भएछौ ।।
जनसांख्यिक लाभांशको बेवास्ता गर्दै, उपयोग नीतिको अभावमा युवाहरू निर्यात गर्ने भएछौ
त्यसैले, सडकको फोहोरदेखि पशुपतिको मोहोर उठाउन, मान्छे आयात गर्ने भएछौ
कृषि भूमि उजाड र जंगल बनाई, जंगली जनावर चाहिँ वृद्धि गराएका छौ
त्यसैले, दिगो अर्थतन्त्रको साटो, विप्रेषणमुखी असन्तुलित अर्थतन्त्रको बाटो हिँडेका छौ ।।
गाउँ गाउँमा सिंहदरबार र अधिकार भनेको त, कर्तव्यपथ भुल्दै सिंहदरबार भैसेपाटी सरेछ
केन्द्रमा थुप्रिएका मान्छे गाउँ जालान भनेको त, गाउँ बाट बसाई सर्ने बढेछ
गाउँमा आकर्षण बढाउनुको साटो, पालिकाको खर्चमा सहरमा घरभाडा लिने होडबाजी चलेछ
सुशासनको नाममा बनेका सात सय त्रिपन्न दरबार, गरिबलाई अनाबस्यक कर लिने ट्रेड सेण्टर बनेछ ।।
सुशासन र समावेशीता भनेको त, साठी हजारले विनायोग्यता र प्रतिस्पर्धा जागिर खाने भर्याङ बनेछ
राजनीतिज्ञ र कर्मचारीको तलब खुवाउन ऋण लिन पर्नाले, विकासले पछाडिको गेअर हालेछ
राष्ट्रिय हितविपरीतको निजीकरणले गर्दा, उद्योग किन्नेहरू घडेरी बेच्दैछन
उत्पादनमुखी अर्थतन्त्र थलापरी, अयातमुखी व्यवसाय सर्वत्र बढेछ ।।
नीति र ऐन राम्रो नबन्दा र कार्यान्वयन फितलो हुदा, शैक्षिक संस्था रितिदै छन्
विद्यालयहरू विदेशी विश्वविद्यालयहरुको शैक्षिक मेला गर्ने थलो बन्दा, एनओसी लिनेको लर्को बढेछ
उध्यमशीलातामुखी शिक्षा, कामको सम्मान र न्यूनतम पारिश्रमिक नहुँदा, युवा पलायन निरन्तर छ
परिणामस्वरुप, अंग्रेजी र टाईमुखी शिक्षाले, मान्छे निर्यात गर्ने र बाँकी सबै आयात गर्ने भएछौ ।।
सरकारी कार्यालय, उद्योग, शिक्षण संस्था सबैमा, राजनीतिक संगठन विराजमान छ
विकासको मूल फुटाउने बेला, राजनीतिकबाहेक सबै कारखाना चीर निन्द्रामा छ
त्यसैले, कर्मशील नेपाली हामी, परजीवी र कुरामात्र गर्ने बनेछौ
आपसमा सद्भाव बाँड्ने हामी नेपाली, जातीयतामुखी र सनातन धर्मविरोधी भएछौं ।।
अत: जनमुखी र सफा राजनीति, गुणात्मक र प्रतिस्पर्धी वातावरण, सन्तुलित र दिगो विकास
युवामैत्री नीति, दक्षतामा आधारित उद्यमशीलतामुखी शिक्षा, चुस्त संरचना हुनेछ सवको निकास ।।