‘कम्युनिष्टहरू इगो र आत्मकेन्द्रित स्वार्थले फुट्छन्, एकता पनि छिट्टै गरिहाल्छन्’ – Nepal Press
नेपाल टक

‘कम्युनिष्टहरू इगो र आत्मकेन्द्रित स्वार्थले फुट्छन्, एकता पनि छिट्टै गरिहाल्छन्’

एमाले सचिव लेखराज भट्ट भन्छन्- प्रचण्डसँगका ४० वर्ष सामान्य थिएन

कैलाली । मंसिर १४ गतेबाट करिब तीन साता एमालेले ‘मध्य पहाडी लोकमार्ग यात्रा’ थाल्दैछ । झुलाघाट (बैतडी) बाट  चिवाभञ्ज्याङ (पाँचथर) सम्म एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पूरै पदाधिकारी, सचिवालय, परिभाषित जिम्मेवारी तोकिएका कमिटी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित डेढ सय बढीले १५ दिनको पदयात्रा गर्नेछन् ।

उक्त टोलीले १ हजार ८७९ किलोमिटर पदयात्रामा जनतासँग साक्षात्कार गर्ने, समस्या र गुनासो सुन्ने तथा समाधानको लागि पहल गर्ने बताइएको छ ।

मिसन ग्रासरुट सकिएको ६ महिनामै एमालेले किन सुरु गर्न लाग्यो ‘मध्य पहाडी लोकमार्ग यात्रा’ ? प्रस्तुत छ, लोकमार्ग यात्रा, आगामी नेतृत्व, एमालेमा रहेका पूर्वमाओवादी नेताहरूको क्रियाशीलता, भीम रावलको प्रसंगलगायतका विषयमा एमाले केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टसँग गरिएको कुराकानी नेपाल टकमाः

– मंसिर १४ गते पदयात्रा सुरु हुँदैछ । अहिले यसको औचित्य र आवश्यकता कसरी पर्‍यो ?

पछिल्लो समय पहाडी क्षेत्रबाट अत्यधिक बसाइसराइ भइरहेको छ । पहाडका खेत-पाखाहरू सबै बाँझो छ । उत्पादनशील ऊर्जा भएको जल्दोबल्दो जनशक्ति बाहिर गइरहेको छ । त्यसलाई रोक्न र पहाडको महत्वलाई बुझाउन आवश्यक छ ।

मध्य पहाडी लोकमार्गको महत्त्व बुझाउन र पहाडकै महत्त्व बुझाउन एउटा जागरण ल्याउन खोजिएको हो । समृद्धिका लागि अभियान सुरु गर्न थालिएको हो । त्यहाँको जनशक्तिलाई समृद्धिसँग जोडेर त्यही रोक्नुपर्छ । परम्परागत उत्पादनसँग अहिलेको आवश्यकताको उत्पादन जोड्न खोजिएको हो । विज्ञहरूसँग, किसानहरूसँग, कृषि विज्ञहरूसँग, लगानीकर्ताहरूसँग भेटघाट गरेर बहस गरेर अगाडि बढ्ने योजना छ ।

– एमाले आधार इलाकामा कमजोर बन्न थालेपछि पहाडी क्षेत्रमा गतिविधि बढाएर मत बटुल्ने काम गर्न खोजेको भन्ने पनि सुनिन्छ नि ?

आधार कमजोर भएर एमालेले अभियान सुरु गर्न लागेको भन्ने आरोप निराधार हो । एमालेको आधार कम कहीं पनि भएको छैन । पहाडमा समानुपातिक मतमा त एमाले नै अगाडि छ नि ! संख्यामा मात्रै कम भएको हो ।

पार्टीको आन्तरिक समस्याको कारणले पनि हामी संख्यामा कम हुन पुग्यौं । मुख्य कुरा पार्टीको आन्तरिक समस्या र गठबन्धन हाम्रोविरुद्ध पूरै शक्ति लागेको हो भन्ने हाम्रो पार्टीको निष्कर्ष हो ।

अर्को कुरा, जति बलियो भए पनि आफ्नो पङ्क्तिलाई गतिशील बनाउन राजनैतिक गतिविधि त गर्नैपर्छ । त्यो त हरेक पार्टीले गरिरहेको हुन्छ । विरोधीहरूले यो बुझ्दैनन् ।

यो त हाम्रो पार्टीको अभियान हो । हाम्रो नीतिभित्र आएको चिज हो । त्यो सबै उनीहरुले बुझ्छन् भन्ने कुरो होइन । अहिले हाम्रै धेरै कार्यकर्ताहरूले पनि यो अभियानको महत्वलाई बुझेका छैनन् । जब अभियान सुरु हुन्छ र त्यसका परिणाम र लक्षण आउँछन्, तब मान्छेहरूले यसलाई बुझ्ने हुन् ।

– मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारले लिएको नीति एमालेले अहिले पनि चुनावी एजेण्डा बनाइरहेको छ । अब पुष्पलाल मार्गलाई पनि २०८४ मा एजेन्डा बनाउने गरी यो अभियान गर्न लागिएको हो ?

त्यस्तो होइन । भोलिको समृद्धिको भिजन खोज्न यो अभियान सुरु गर्न लागिएको हो । ९ महिने सरकारको पालामा पार्टीको तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना परिणाममुखी भएको थियो ।

हामीले गरेको विकासका काम जनतासम्म राम्रोसँग सम्प्रेषण गर्न सकेनौं । त्यसकारणले एमाले पनि उस्तै हो कि भन्ने क्षणिक भ्रम पैदा हुन गयो । त्यो भ्रमलाई पनि यो अभियानले चिर्छ । मध्य पहाडी अभियान सम्पन्न भएपछि समीक्षा गरेर आगामी कसरी जाने भन्ने राष्ट्रिय नीति बनाउन पनि यो अभियान महत्त्वपूर्ण छ ।

– भर्खरै सम्पन्न प्रदेश अधिवेशनमा अध्यक्ष ओलीको बोली कमजोर भएको देखियो । सहमतिमा नेतृत्व चयन गर्न भन्दाभन्दै कतिपय प्रदेशमा निर्वाचन भयो । अहिले पार्टीभित्र अध्यक्षविरुद्ध अर्को बलियो शक्ति बन्दै गएको हो र ?

त्यस्तो होइन । हामीले त्यसरी बुझ्न हुँदैन नेतृत्वलाई । नेतृत्व भनेको विचार हो । कुनै व्यक्ति विशेष भन्ने कुरा हुँदैन । त्यो संस्था हो । एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्म त्यो संस्था हो । किनभने नेतृत्व त्यो बेला चयन हुन्छ, जब उसको विचार पारित हुन्छ । केपी ओली १०औं राष्ट्रिय महाधिवेशनले चयन गरेको नेतृत्व हो । संस्था हो ।

पार्टीभित्र हामीले अपेक्षा गरेको लोकतन्त्रलाई प्रयोग गर्ने दुई वटा विधि हुन्छ । एउटा छलफलबाट सर्वसम्मत गर्ने, त्यो पनि लोकतान्त्रिक विधि हो । सकेसम्म त्यो विधिबाट जाँदा राम्रो हुन्छ भन्ने हो । भएन भने निर्वाचन विधिबाट पनि जान सकिन्छ । त्यो त पार्टीको नीतिभित्रै छ ।

नेतृत्वले अपेक्षा राखेको भनेको अहिलेको आवश्यकतामा मिसन २०८४ लाई परिपूर्ति गर्न आन्तरिक छलफलबाट सर्वसम्मतको लोकतान्त्रिक विधि अपनाउँदा राम्रो हुन्छ भन्ने हो । केही ठाउँमा भएन । अर्को विधिलाई पनि पार्टीले अपनाएको हो । त्यसलाई नेतृत्वको अवज्ञा गरेको भन्न मिल्दैन । त्यस्तो म बुझ्दिनँ ।

अहिले सबैले मान्ने भनेको विचारमा जबज र नेतृत्वमा केपी ओली हो । त्यहाँ केन्द्रित छौं सबै । तल कार्यान्वयन गर्ने पक्षमा र इस्युमा कहिलेकाहीं दायाँबायाँ हुनसक्छ ।

– ११औं महाधिवेशनको नेतृत्वका विषयमा चर्चा भइसकेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन सक्ने वा पार्टी अध्यक्ष बन्ने सम्भावना कति छ ?

यो विषयमा चर्चा परिचर्चा भइरहेको छ । मैले बुझ्दा त्यस्तो केही देख्दिनँ । बाहिर त्यस्तो आइरहेको छ । पार्टीभित्र त्यो प्रकारको छलफल भएको म पाउँदिनँ ।

बाहिर चर्चा भएपछि पार्टीको अध्यक्षको हैसियतले हुनसक्छ, त्यो असम्भव राजनीतिमा केही हुन्न भनेर भन्नुभएको कुरा हो । तर, अहिले पार्टीमा कुनै छलफल नभएपछि यही हुन्छ भन्ने कुरा भएन । भोलि हुने भन्ने कुरा त छलफलबाटै हुने हो । अहिले मैले देखेको त केपी ओली नै हो । अर्को त म देख्दिनँ । भोलि ११औं महाधिवेशनको नजिक आउँदा कुन खालको छलफल हुन्छ त्यसले निर्धारण गर्ने कुरा हो ।

– भीम रावलको प्रसङ्गमा पार्टी समन्वय र छलफलको लागि कार्यदल गठन गरेको थियो । त्यसमा तपाईं पनि हुनुहुन्थ्यो । पछि अध्यक्ष ओलीसँगै पनि भेटघाट भयो । फेरि त्यो विषय ओझेलमा छ । उहाँको विषयमा पार्टीभित्र केही छलफल भइरहेको छ ?

अहिले रावलजी कता हुनुहुन्छ ? पार्टीले ठ्याक्कै यही भनेर भीम रावलको बारेमा केही निर्णय गरेको छैन । रावलजीले पनि यही हो भनेर आउनुभएको छैन ।

हाम्रो छलफल भइसकेपछि उपाध्यक्ष कमरेडसँग दुई जनाको पनि छलफल भयो । दुई जनाको छलफलपछि हामी पनि बस्यौं । हाम्रो राम्रो छलफल भएको थियो । एक पटक अध्यक्षलाई भेट्छु भन्नुभयो । अध्यक्षलाई भेटिसकेपछि उहाँको बारेमा पार्टीमा कुनै छलफल भएको छैन । यही हो भन्ने पनि आएको छैन ।

– पार्टीभित्र माओवादी पृष्ठभूमि जोडिएका नेताहरु किन निष्क्रिय छन् ?

मलाई त्यस्तो लाग्दैन । मेरो जिम्मेवारीको हिसाबले म क्रियाशील हुने कुरा स्वाभाविक नै हो । अरू कमरेडहरू पार्टीले दिएको जिम्मेवारीअनुसार उहाँहरू पनि क्रियाशील नै हुनुहुन्छ । टोपबहादुरजी अहिले निलम्बनमा हुनुहुन्छ । उहाँलाई मुद्दा लागेको छ । त्यो मुद्दाको छिनोफानो नहुँदासम्म उहाँ भित्रै हुनुहुन्छ ।

मणिजी, उहाँको स्वभाव सांस्कृतिक फाँटमा रमाइरहने मान्छे हो । त्यो भएर जिम्मेवारी त्यही दिएको भए हुन्थ्यो । अहिले उहाँ ‘म त चुप लागेर बस्छु’ भन्नुभएको छ । अरू हामी जति छौं, सक्रिय नै छौं । त्यस्तो केही पनि छैन भन्ने लाग्छ । केन्द्रीय उपाध्यक्ष बादलजी पार्टीले खटाएको ठाउँमा गइरहनु भएको छ ।

– तपाईंको घरमै प्रचण्ड पुगेपछि लेखराज भट्ट पनि माओवादी फिर्ता हुन लागेको चर्चा गरे नि !

हामीले हिजो ४० वर्ष सँगै काम गरेका थियौं एउटै पार्टीमा । जनयुद्धमा पनि सँगसँगै हिँड्यौं र उहाँले हाम्रो नेतृत्व गर्नुभयो । हिजो उहाँले नै एकता गर्नुभएको हो । हामी त्यही एकताको निरन्तरतामा रह्यौं । उहाँ आफैं अलग हुनुभयो । त्यसको अर्थ भेटघाट नै हुनुहुँदैन, छलफल नै हुनुहुँदैन भन्ने होइन । माओवादीमै जाँदैछन् भन्नेहरूले फेरि एकतातिर आउनलाई त्यो छलफल हो कि भन्नेबाट किन लिँदैनन् ?

अर्को, हाम्रो महत्त्वपूर्ण टीआरसीको कुरो छ । टीआरसी टुङ्गो लगाउन हाम्रो अध्यक्षसहित राष्ट्रिय सहमति नभई हुँदैन । ती सबै कुरामा केन्द्रित भएर छलफल हुनु, भेटघाट हुनु अन्यथा हो जस्तो लाग्दैन ।

फेरि अर्को कुरा, हाम्रो सम्बन्ध भनेको हिजो लिडर र सहयोद्धाको होइन, पारिवारिक पनि हो । ४० वर्ष सामान्य थिएन । त्यसरी पनि बुझ्नुपर्छ । सामान्य मान्छेले त्यो सम्बन्धलाई बुझ्न सक्दैनन् । एउटाले माओवादीमा आइहाल्छ भन्ने, अर्कोले गइहाल्छ भन्ने त्यस्तो हुन्छ ?

लेखराज भट्ट भनेको कसैले जा भन्दैमा जाने वा कसैले आ भन्दैमा आउने हो र ? म आफ्नो विचारमा जे लाग्छ, त्यहाँ रहने मान्छे हो । अहिले लेफ्टको केन्द्र भनेको एमाले हो । एमालेमा सबै लेफ्ट केन्द्रित हुनुपर्छ भन्ने उद्देश्यसहित म यहाँ छु । अहिले म यता आइहाल्ने र उता गइहाल्ने भन्ने हुँदैन ।

– एमालेमा अहिले विचार मिल्नेहरू गोलबद्ध हुने कुरा आइरहेको छ । फेरि नेकपा व्युँतिने सम्भावना कत्तिको छ ?

विचारमा कुनै अन्तर देखिन्न कम्युनिष्टहरुको । समाजवादी एमालेबाटै गएको हो । माओवादीको पनि वैचारिक भिन्नता देखिँदैन । २००६ सालदेखि नै लेफ्टहरूमा फुटहरू इगोका कारणले आत्मकेन्द्रित स्वार्थका कारणले भएको छ । एकता पनि छिट्टै गरिहाल्ने र फुट पनि छिट्टै भइहाल्ने नेपाली संस्कृति भइसकेको छ । त्यो भएर मैले देखेको र बुझेको कुरा भनेको लेफ्टहरू एक ठाउँमा आउनुको विकल्प छैन । आउनु नै पर्छ । तर, अलि लामो छलफल अध्ययन अनुसन्धान गरेर अलि समय लिएर गर्नुपर्छ ।

वैचारिक र सैद्धान्तिक रुपमा माओवादी, समाजवादी र एमालेमा केही फरक देखेको छैन मैले । जबज भनेकै शान्तिपूर्ण सहअस्तित्वबाट समाजवादमा जाने भन्ने हो । सबै यही प्रक्रियामा आइसकेपछि छुट्टै लाइन अब के रह्यो र ?


प्रतिक्रिया

One thought on “‘कम्युनिष्टहरू इगो र आत्मकेन्द्रित स्वार्थले फुट्छन्, एकता पनि छिट्टै गरिहाल्छन्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर